छोटकरीमा : आज - २०७७ असोज १६, शुक्रबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



शुक्रबार २,७२२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२,४५० पुगेको छ भने मृत्यु हुनेको संख्या ५२० पुगेको छ। हालसम्म नेपालमा ६०,६९६ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १४,७३९ => Recovered Today: ३,३०७

सम्बन्धित :

  • यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हालसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ।
  •  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना काेराेना संक्रमित देखिएका हुन्।
  • पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ।


कोरोना नियन्त्रणसम्बन्धी माग एवं निर्णयहरू :

  • कोभिड १९ को बढ्दो संक्रमणका कारण नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका र भीड बढ्ने बताउँदै यस्तो निर्णय गरिएको हो।
  • उद्योगी व्यवसायीले फेरि लकडाउन नगराइदिन सरकारसँग अपिल गरेका छन्। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नदोहोर्‍याउन अनुरोध गरेको हो। 
  • कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश ५ सरकारले थप १० करोड रुपैयाँ निकासा गर्ने भएको छ। प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि आवश्यक परेको भन्दै थप रकम निकासा दिने निर्णय गरेको हो।
  • रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ। रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन्।


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । यद्दपी  प्रदेश ५ सरकारले आफ्नो राजधानी देउखुरीलाई बनाउने प्रस्ताव गरेपछि त्यसको विरोधमा रुपन्देहीमा विरोध शुरु भएको छ ।

सम्बन्धित :

  • प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ। शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन्। 
  • यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको हो।
  •  प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो।
  • ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानीसम्बन्धी प्रस्तावमाथि आगामी सोमबारबाट प्रदेश सभामा छलफल हुने बताएका छन् । प्रदेश सरकारले अर्घखाँचीको शीतगंगा नगरपालिका तथा दाङको राप्ती र गरुडा गाउँपालिकाभित्र पर्ने गरी भालुवाङमा प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै पोखरेलले सोमबारबाट प्रदेश सभामा छलफल अघि बढ्ने जानकारी दिएका हुन् ।



 शनिबार बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्योलपूर्ण भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बैठक बसेर सचिवालय बैठक तय गरेको भए पनि महासचिवले विष्णु पौडेलले अहिलेसम्म जानकारी नपठाएको नेताहरूले जानकारी दिएका छन् ।



बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।



सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा परेको मुद्दाको पेसी फेरि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार उक्त मुद्दामाथिको सुनुवाइ नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । 



गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी-पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन छिटै गरिने उनले बताए । 



 करका दर र अन्त:शुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् ।



दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताइए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।

सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ।



कांग्रेसको राजनीतिमा विशिष्ट योगदान गरेको मोरङका प्रमुख तीन नेताले आफूहरुबीच कुनै किसिमको मतभेद नरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरेका छन् ।

राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका केन्द्रीय सदस्य महेश आचार्य, मीनेन्द्र रिजाल र शेखर कोइरालाबीच बोलचालसमेत नहुने गरेको दृष्टान्त, व्यक्तिगत गुट अनि समूहको विवादका कारण नेतात्रयले तीनतिर मुख फर्काएको बुझाइ आमकार्यकर्ताको बुझाइ छ 



कोरोना संक्रमणको जोखिमबीच निजी तथा सामुदायिक विद्यालय धमाधम खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विधिमार्फत विद्यार्थी सिकाइ सहजीकरण गर्न भनेपछि विद्यालय खुल्न थालेका हुन् ।



सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । 



महामारीपछिको पहिलो प्रमुख चाडका लागि चीनमा आठ दिनको देशव्यापी बिदा सुरु भएसँगै यतिबेला लाखौँको सङ्ख्यामा मानिसहरु एकैपटक घुम्न निस्किएका छन् । कोभिड–१९ पूर्ण नियन्त्रणमा आइसकेको दाबी गर्ने चीनका लागि आर्थिक गतिविधि बढाउन यो अति अपेक्षित समय भएको बताइएको छ । 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक