आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
सोमबार १,५५९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७,८१७ पुगेको छ भने मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।
हालसम्म नेपालमा ५६,४२८ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १२,२०० => Recovered Today: १,०५७
सम्बन्धित :
कोरोना नियन्त्रणसम्बन्धी माग एवं निर्णयहरू :
नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलिदेखि लागु हुने गरी उडान कोटा बढाएको छ। जसअनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ र यति एयरलाइन्सलाई दैनिक १९ वटा उडान गर्न पाएको छ। यस्तै, श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २/२, तारा, समिट र सिता एयरले ४-४ उडानको अनुमति पाएका छन्।
सत्तारुढ दल नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न अयोग्य रहेको भन्दै दायर रिटमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज संवैधनिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यवाह अध्यक्ष बुढाथोकीले आज दश बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलआवद्ध महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। उनीहरुले बलात्कारीमाथि नेपालको कानुनमै नभएको सजाय माग गर्नु कारण थियो, पछिल्लो समय भइरहेका श्रृंखलावद्ध बलात्कारका घटना।
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ जारी गरेको छ। धितोपत्र व्यवसायीको जोखिम मुल्यांकनलाई थप व्यवस्थित गर्न उक्त म्यानुअल जारी गरेको बोर्डले जनाएको छ।
काठमाडौं-तराईमधेश द्रुतमार्गमा दुईवटा सुरूङ बनाउन कुल ४३ कम्पनी इच्छुक भएका छन्। छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको खन्डको सुरूङ तथ पुल बनाउन २१ वटा र धेद्रेखोलादेखि लेनडाँडासम्मको सुरूङ तथा पुल बनाउन २२ कम्पनीले बोलपत्र दाखिला गरेका हुन्। आयोजना निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ।
महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किँदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ। नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा खेलकुद गतिविधि पनि शून्य नै देखिएका छन्।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ। नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो।
सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को विशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन्। 'सकभर अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको' थापाले बताएका छन्।
सम्बन्धित :
महिला र बालबालिका विरुद्ध हुने जघन्य अपराध तथा हिंसाका घटनालाई मिलापत्र गरेर ढाकछोप गर्ने जनप्रतिनिधिहरुलाई निलम्बन गर्नुपर्ने महिला सांसदहरुले माग गरेका छन्। उनीहरुले यस्ता घटनामा संलग्न जनप्रतिनिधिहरुको नाम सार्वजनिक गर्नुपर्ने पनि बताएका छन्।
जागिर छाड्ने क्रम बढेपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सुविधा बढाउन थालेको छ। कल्याणकारी कोषमार्फत यस वर्षदेखि प्रहरीका सुविधा थपिएका छन्। त्यसमध्ये पछिल्लो सुविधा हो, सहुलियत घर कर्जा।
घर बनाउन चाहने प्रहरीले कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। कोषबाट पहिलोपटक घर कर्जा दिइन लागेको हो।
कोरोना महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन्। सरकारी अधिकारीहरूले झन्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्।
अमेरिकाको आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनले सार्वजनिक ‘डिबेट’मा पहिलोपटक एक–अर्काको सामना गरेका छन्। उनीहरूको यो डिबेटलाई इतिहासमै अराजक र तिक्ततापूर्ण भनिएको छ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले बुधबार २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ। लखनउमा अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो।
भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो।
उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले स्पेनिस ला लिगामा लामो समयसम्म टिकिरहने विश्वास व्यक्त गरेका छन्। एट्लेटिको म्याड्रिडमा पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुआरेजले म्याड्रिडको दोस्रो इनिङ्स पनि सानदार हुने स्पष्ट पारेका हुन्।