छोटकरीमा यस हप्ता : असोज ०३ गते देखि असोज ११ गतेसम्म (राष्ट्रिय)

यस हप्ता देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। यस हप्ता मुलुकभर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



कोरोना स्थिति विवरण :

गत शनिबारसम्म ६२,७९७ जनामा देखिएको कोरोना भाइरस बढेर यस आइतबारसम्म ७३,३९४ पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण ४०१ मृत्यु भएकोमा यस आइतबारसम्म ४७७

पुगेको छ।

गत शनिबारसम्म ४५,२६७ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ५३,८९८ पुगेको छ।

यस्तै, हालसम्म ९,८८,३२७ जनाको पिसीआर टेस्ट भएको छ भने ६,२८१

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • सोमबार भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेसनबाट ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए। भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरू संक्रमणमुक्त भएका हुन्।
  • सोमबारसम्म नेपाल प्रहरीका ३ हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको थियो । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो ।
  • कोभिड संक्रमण भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिस देखिन थालेको रिपोर्टहरू सार्वजनिक हुन थालेका छन्। विशेषगरी कोभिड संक्रमण निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्या देखिन थालेको हो। 
  • पोखरा पर्यटन परिषदको पोखराका होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ लगायत अन्य पर्यटकीय गतिविधिहरु सुचारु भएको जनाएको थियो।नेपाल सरकारले तोकेका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि जिल्ला प्रशासन कार्यालय कास्कीको असोज १ मा जारी गरेको सूचनाको पूर्ण पालना गर्दै पर्यटकीय गतिविधि सुरु भएको परिषद्ले जनाएको हो।
  • गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक (एसपी) अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए। भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो। तर त्यो दृश्य एकाध महिनामै बदलिएको हो।
  • गत आइतबारदेखि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ। सरकारले लामो दुरीको सवारीसाधन चल्न दिएपछि र उपत्यका छिर्ने सर्वसाधारणको संख्यामा पनि वृद्धि आउँदा यस अस्पतालमा दिनहुँ सयौँको संख्यामा परीक्षण गराउन आउनेको भिडभाड हुन थालेको हो।
  • नेपालमा कोरोना संक्रमण निको भएको लामो समय(तीन हप्ता)सम्म पनि लक्षण देखिएको पाइएको छ। परिषदले सातै प्रदेशमा कोरोना निको भएका १८ वर्षभन्दा माथिको उमेसमूहका ५५२ जनमा अध्ययन गरेको थियो। उनीहरुको शारीरिक, मानसिक र सामाजिक अवस्थाको स्थितिको अध्ययन गरेको थियो। 
  • बुधबारसम्म कोरोनाको कारण बहराइनमा समस्यामा परेका १४२ जना नेपाली बुधवार नेपाल आइपुगेका थिए। यस्तै बहराइनमा मृत्यु भएका २ जना नेपालीको शव पनि बुधबार भएको उडान मार्फत स्वदेश पठाइएको दूतावासले विज्ञीतीमार्फत जनाएको थियो।
  • बुधबार अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चीनले स्वास्थ्य सामग्री नेपाल पठाएको थियो। नाकामा काम गर्ने कामदारमा कोरोना देखिएपछि बन्द गरेको चीनले आफ्नो एउटा गाडीमा स्वास्थ्य सामग्री नेपाल पठाएको हो। 
  • शुक्रबार काठमाडौं र ललितपुरका तीनजना मेयर–उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको थियो। ललितपुर र गोदावरी नगरपालिकाका मेयर तथा काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयरलाई शुक्रबार संक्रमण पुष्टि भएको हो। 
  • यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्छन्। उनी सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरु निराश नै देखिएको बताउछन्। 
  • पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटेल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन्। लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटेलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन्।
  • नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
  • कोरोना कहरले कर्णाली प्रदेश अस्पताललाई अधिक प्रभावित गरेको छ। यहाँका एक चौथाइ चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। केही स्वास्थ्यकर्मी त पुनः संक्रमणको चपेटामा परेका छन्।



कोरोना भाइरस नियन्त्रण सम्बन्धमा माग एवं निर्णयहरू :

  • हुम्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला आउन अब पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लाबाहिरका कुनै पनि स्थानबाट आउनुपरेमा पिसिआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने निर्णय गरेको हो।
  • सोमबारदेखि आन्तरिक हवाई सेवा शरु भएको छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा शुरु गरेका हुन्। कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि शुरु भएको हो।
  • मंगलबारको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको थियो। 
  • सरकारले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ। सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।
  • वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको थियो। मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनमा सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन्।
  • कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड– १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्। 
  • कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको थियो। उपसमितिले पीसीआर रिपोर्ट छिटो प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको हो।
  • शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मार्फत संक्रमितलाई पिसिआर रिपोर्टबारे जानकारी गराउनुपर्ने सुझाब दिएको थियो। जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बिहीबार मूल समितिलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै १७ वटा सुझाब दिएको हो।
  • प्रदेश-५ को कोरोना संकट व्यवस्थापन केन्द्रले चाडपर्वको समयमा नेपाल–भारत आवतजावत निरुत्साहित निर्णय गरेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै चाडपर्वका बेला नेपाल र भारतबीच हुने छोटो अवधिको आवतजावतलाई नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरेको हो।
  • १४औँ महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैठकका लागि कांग्रेसले कोभिड– १९ को पिसिआर टेस्ट अनिवार्य गरेको छ। बैठक आगामी १९ असोजमा पार्टी कार्यालय सानेपामा बोलाइएको छ।


यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • सोमबार प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रियसभामा मनोनित गर्ने काम गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएको थियो। गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय र मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने निवेदनमा दावी थियो। 
  • नेकपा सचिवालयको जारी बैठक मंगलबार सक्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनसहित सचिवालयमा प्रस्तावित एजेन्डाबारे ओली र प्रचण्डबीच सोमबार छलफल भएको हो। सोमबारको बैठक स्थगित गरेर ओली र प्रचण्डबीच छलफल भएको थियो।
  • नेकपाले लामो समयदेखिको पार्टी र सरकार समन्वयको विवाद यसपटक व्यवस्थापनको कोसिस गरेको छ। ७९ औं दिनमा सकिएको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनको सिलसिलामा बसेको सचिवालय बैठकमार्फत नेकपाले पार्टी र सरकारबीच समन्वयको कोसिस गरेको हो। यद्यपि निर्णय व्यवहारमै कार्यान्वयनको पाटो भने टुंगिन बाँकी छ। 
  • सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको थियो। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको थियो।
  • भारतको माथिल्लो सदन राज्यसभामा नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौताबारे प्रश्न उठेको थियो। मध्यप्रदेशको ग्वालियरबाट हालै राज्यसभामा निर्वाचित भएका सांसद ज्योतिराधित्य सिन्धियाले पारवहन सन्धिबारे भारत सरकार जानकार भए–नभएको तथा यसबाट नेपाल–भारत सम्बन्धमा के प्रभाव पर्छ भन्दै प्रश्न गरेका हुन् ।
  • राप्रपा अध्यक्षत्रयको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।
  • परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी र नतिजामुखी क्षेत्रीय संगठनको रुपमा बनाउनु पर्नेमा जोड दिएका छन्। भर्चुअल माध्यममा भएको संयुक्त राष्ट्र संघको ७५ औं महासभामा सार्क मन्त्री स्तरीय भएको साइडलाइन वार्तामा मन्त्री ज्ञवालीले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्‍न सकिने परिवर्तन ल्याउनु पर्ने बताएका हुन्।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर, पुनर्गठन गर्न गृहकार्य थालेका छन्। पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै दुईघण्टा छलफल चलेको थियो।
  • गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र गएका हुन्।


यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • सोमबार बसेको संसद्को विकास तथा प्रविधि समितिको बैठकले क्लिन फिड तोकिएअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो। आउँदो ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
  • एक वर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ। बोलपत्रमा सहभागी ४ वटा अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो देखिएको र प्रकृयागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्याङ्कन समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय टेन्डर रद्द गरिएको हो।
  • गोरखा नगरपालिकाको एक तला माथिको टपबाट झ्यालको अगाडि उभिएर जोखिमसाथ सेवा लिइरहेको तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्‍जालमा विभिन्‍न टीकाटिप्पणी भएका थिए। मंगलबार एक महिलासहित ३ सेवाग्राही झ्यालमा उभिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाले पनि स्वीकारेको थियो। 
  • सरकारले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०७७ जारी गर्दै तोकिएको १५ वटा अस्पतालबाट सेवाग्राहीले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने बताएको छ।
  • बुधबारदेखि रसुवागढी नाकाबाट पुन: सामान आयात हुन थालेको छ। तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो। कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो।
  • मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। विपद् पुननिर्माण प्राधिकरणले बजेट परिचालन गर्ने उनको भनाइ छ। 
  • सरकारले अध्यादेशमार्फत् फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउने आश्वासन दिएका थिए। र मातहतका निकायलाई निर्देशन पनि दिएका थिए।
  • सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको नयाँ मिति तोकेको छ।बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निजामति कर्मचारीको आधारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको जानकारी दिए।
  • सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। असोज १ गते ६ गते बसेको मन्त्रिपरिषद्‌का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनको व्यापार प्रबर्द्धन लागि बैठक फलदायी हुने बताए। त्यसैगरी सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।
  • नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा र संरक्षण प्राप्त गर्नेछन्। त्यसैगरी हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ। 
  • सुदूरपश्चिम प्रदेश वन निर्देशकसहित ८ जना वन अधिकृतहरूले आफूलाई प्राप्त कानुनी अधिकार दुरुपयोग गरेको भन्दै संसदीय उपसमितिले कारबाहीका लागि सिफारिस गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलाई सुझाव दिएको छ। सार्वजनिक लेखा समितिको उपसमितिले वन व्यवस्थापन कार्यक्रममा अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरी अनियमिततामा सामुदायिक वनका पदाधिकारी पनि संलग्न रहेको प्रतिवेदनमा लेखेको छ।
  • सार्वजनिक गर्न जवाफदेहीता निगरानी समितिले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा बन्दी जीवन बिताइरहेका सिरहाको सिद्धार्थ नगरपालिका ५ निवासी जैसवालको असोज ३ गते कोरोनाबाट मृत्यु भइ वीर अस्पतालमा राखिएको बताइएको थियो। 
  • परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले बिहीबार विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। पासपोर्ट छपाइका निम्ति एक वर्षको अन्तरमै भएको यो तेस्रोपटकको बोलपत्र हो।
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ। यस्तै, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी विभिन्न व्यक्तिहरुले अस्वभाविक रुपमा उच्च जीवनयापन गरेको देखिएकाले आवश्यक अनुसन्धान गरि कारबाही गर्न समेत निर्देशन दिनुपर्ने बताइएको छ।
  • पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सातामा दुई दिन बिदा दिनेगरी कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ। कोरोना सङ्क्रमणले पर्यटन क्षेत्र थिल्थिल्याएका बेला मन्त्रालयले सातामा दुई दिन बिदा दिएर उकास्न गृहकार्य थालेको बताइएको छ।
  • मन्त्रिपरिषदले एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो।नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ। नयाँ
  • कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ।
  • विगत चार दशकभन्दा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्रविक्रम रोका छपालीले लागुऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। उनको सबै नगद र घरजग्गा जफतको मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो।
  • दुई दिनको प्रयासपछि जिल्लाको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जना घाइतेको उद्धार गरिएको छ।उनीहरुलाई कैलाश एयरको हेलिकप्टरले शुक्रबार दिउँसो ४ बजे काठमाडौंको टिचिङ अस्पताल पर्‍याएको हो।
  • बझाङकी सम्झनाका लागि न्याय माग्दै नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले आइतबार काठमाडौंमा सडक बहस गरेको छ। बहस कार्यक्रममार्फत महिला संघले सम्झना विकका बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गरेको छ। 


यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • मोरङको बुद्ध माध्यमिक विद्यालयले पठनपाठन शुरु गरेको छ। केराबारी गाँउपालिका– ९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन शुरु गरेको हो। दिनमा तीनदेखि चारवटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्ड लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले बताए। 
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आठौँ राष्ट्रिय विज्ञान सप्ताह विभिन्न भर्चुअल कार्यक्रम गरी मनाएको छ। सरकारले हरेक वर्ष १ असोजलाई विज्ञान दिवस र १ देखि ७ गतेसम्मलाई विज्ञान सप्ताहका रूपमा मनाउने गरेको छ। कोभिड–१९ का कारण यस वर्ष विज्ञान दिवसमा समेत उल्लेख्य कार्यक्रम भएनन्।
  • यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ। राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ।
  • नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न शैक्षिक मुद्दाहरु सुनुवाइको माग गर्दै त्रिभुवन विश्‍वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ त्रिवि समितिकी अध्यक्ष सम्झना केसीको नेतृत्वमा गएको नेविसंघको टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो।
  • कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन्। जिल्लाको पाँचखाल नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन शुरु गरेको छ।
  • लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरणमा सरकारबाटै अवरोध सिर्जना भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका लागि यो प्रकाशन गरेको छ, तर यो पुस्तक तत्काल वितरण नगर्नू भनेर प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 
  • जिल्ला प्रशासन कार्यालय सल्यानले बिहीबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ। जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ‘युवा वैज्ञानिक फोरम’ स्थापना गरेको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा युवाहरूलाई सहयोग, सहकार्य र प्रोत्साहन गर्नका लागि राष्ट्रियस्तरको साझा फोरम स्थापना गरिएको हो।
  • सरकारले ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय खोलेको छ। ०७४ को निर्वाचनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट सबै स्थानीय तहमा दुई वर्षभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका थिए।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरेको बताएका छन्। ‘संकटको वेला सिकाइलाई अवरुद्ध पार्नुहुन्न, वैकल्पिक पद्धतिबाट भएपनि सिकाइ र सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिनुपर्छ, यसका लागि संघले मात्रै हाेइन, प्रदेश र स्थानीय तहले पनि सहजीकरण गरेका छन्,’ मन्त्री पोखरेलले भने। 
  • लोक सेवा आयोगले कोरोना कहरका कारण स्थगित भएका परीक्षा सुचारु गर्ने भएको छ। आयोगले अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्ने मनाशय सहित परीक्षा तालिका सार्वजनिक गरेको छ। 


 हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्र विवाद :

  • केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको थियो। चिनियाँ दूतावासका प्रवक्ताले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका थिए।
  • नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका थिए। असोज १ गते र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका हुन्। 
  • हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ। प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएका हुन्।
  • हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भूलवश सम्बन्धित तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा मागेका छन्। तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा माग्दै अबउप्रान्त यस्तो काम नहुने प्रतिबद्धतासहित स्पष्टीकरण दिएका हुन्।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख्‍न सरकारलाई सचेत गराएको हो।


डा. गोविन्द केसी र अनसन :

  • चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसी सोमबार दिउँसो काठमाडौं हिँडेका छन्। अनशन बसेको आठौँ दिनसम्म सरकारी पक्षबाट माग सम्बोधनको कुनै पनि पहल सुरु नभएपछि पहिलेजस्तो आतंक र हिंसा हुने त्रासले अनशनमै काठमाडौं जाने निर्णय गरेका हुन्। डा. केसी सोमबार जहाजमार्फत नेपालगन्ज हुँदै काठमाडौं हिँडेका हुन्।  
  • मंगलबार दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका डा. गोविन्द केसी साँझ अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका छन्। उनका सहयोगी प्रितम सुवेदीका अनुसार सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा‍. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन्।
  • जुम्लाबाट म‌ंगलबार काठमाडौं आइपुगेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। केसीको 'फेसमास्क' पहिरिएर सडकमा उत्रिएका युवाहरुले केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने प्लेकार्ड बोकेका थिए। कुनै नाराबाजी नगरी दर्के पानीमा उनीहरुले प्रदर्शन गरेका हुन्।
  • स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागसहित अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको हो।
  • स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। झरीको परवाह नगरी सडकमा उत्रिएका युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको हो। सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनकारीहरु निषेधित क्षेत्रतिर जानलाग्दा रोकिएको प्रहरीले बताएको छ। 


बाढी/पहिरो अपडेट :

  • लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो।
  • रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान शुरु गरेको छ। तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो।
  • पहिराेका कारण बन्द भएकाे नारायणगढ–मुग्लिन सडककाे मुग्लिन नजिक चार किलाेमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन्। पाँच किलाेमा एकतर्फी गाडी चलेका छन्।
  • निरन्तर वर्षा र पुन: पहिरो खसेपछि जिल्लाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा पहिरोमा पुरिएका ५ जनाको खोजी हुन सकेको छैन। बुधबारको पहिरोले घर पुर्दा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीय धनीसरा गाहा, १७ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीय खुमीसरा गाहा बेपत्ता भएका छन्।
  •  स्याङजाको वालिकमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। वालिङ नगरपालिका–१४ तमादिमा गएको पहिरोमा परि सात महिनाको बालकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए ।
  • नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो।
  • लगातारको झरीले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन्। जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ।
  • रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो ३ जनाकाे शव भेटिएको छ। बिहीबार बिहान पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका थिए। 
  •  शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका पहिरोले बगाएका १७ घरका सबै परिवार सकुशल रहेका छन्। पहिरो क्षेत्रमा खोजी गर्दा १७ घरका ९९ जना सम्पर्कमा आएपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए।
  • हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तरको वर्षाले लमजुङतर्फका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। बेंसीसहर नगरपालिका– ६ को खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका– ४ को घोप्टेभिरलगायतको ठाउँमा पहिरो गएको छ।


विविध :

बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक