आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
शुक्रबार १,३१३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७०,६१४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
हालसम्म नेपालमा ५१ ८६६ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Test Today : १२,२६२ => Recovered Today : १,४५५
सम्बन्धित :
कोरोना नियन्त्रणको समबन्धमा माग एवं निर्णयहरू :
मन्त्रिपरिषदले एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो।
नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ। नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ।
लोक सेवा आयोगले कोरोना कहरका कारण स्थगित भएका परीक्षा सुचारु गर्ने भएको छ। आयोगले अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्ने मनाशय सहित परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ‘युवा वैज्ञानिक फोरम’ स्थापना गरेको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा युवाहरूलाई सहयोग, सहकार्य र प्रोत्साहन गर्नका लागि राष्ट्रियस्तरको साझा फोरम स्थापना गरिएको हो।
सम्बन्धित :
बाढी-पहिरो अपडेट :
गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र गएका हुन्।
विगत चार दशकभन्दा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्रविक्रम रोका छपालीले लागुऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। उनको सबै नगद र घरजग्गा जफतको मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो।
जिल्ला प्रशासन कार्यालय सल्यानले बिहीबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ। जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो।
दुई दिनको प्रयासपछि जिल्लाको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जना घाइतेको उद्धार गरिएको छ।उनीहरुलाई कैलाश एयरको हेलिकप्टरले शुक्रबार दिउँसो ४ बजे काठमाडौंको टिचिङ अस्पताल पर्याएको हो।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भूलवश सम्बन्धित तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा मागेका छन्। तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा माग्दै अबउप्रान्त यस्तो काम नहुने प्रतिबद्धतासहित स्पष्टीकरण दिएका हुन्।
सम्बन्धित :
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख्न सरकारलाई सचेत गराएको हो।
नरेन्द्र मोदी सरकारले हालै संसदबाट पारित गराएको कृषि क्षेत्र सुधारसम्बन्धी कानुनको विरोधमा शुक्रबार भारत बन्द आह्वान गरिएको थियो । करिब ३ दर्जन किसान संगठनहरुले बन्दको आह्वान गरेका हुन्।
यसमा विपक्षी दलहरुको पनि समर्थन रहेको छ। दिल्ली, उत्तरप्रदेश, हरियाणा पन्जाब, पश्चिम बगाल र कर्नाटकलगायतका दक्षिण भारतीय राज्यहरुमा बन्दको बढी प्रभाव परेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीसँग सार्थक र्वाता गरेर उनको जीव रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले डा. गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नै रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को देशको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गर्दै साउन महिनामा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा २३ प्रतिशतले बढी हो।
सम्बन्धित :
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत शुक्रबार दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। दुबइ इन्टरनेश्नल क्रिकेट स्टेडियममा चेन्नई टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि दिल्लीले ब्याटिङको निम्तो पाएको हो।
दिल्लीले शुक्रबार पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई मौका भने दिएको छैन।
रोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहको चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले यस वर्षको अन्तिम चरणको मानव परीक्षणको विश्लेषण यही वर्षभित्र सम्पन्न गर्ने अपेक्षा गरिएको छ।
यो खोप प्रभावकारी छ भए-नभएको विश्लेषण गरी नियमनकारी निकायबाट यही वर्षभित्र स्वीकृत लिइसक्ने सिनोभ्याकले जनाएको छ।
भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण उनको आज दिउँसो चेन्नईमा निधन भएको हो। उनी अगस्टको पहिलो साता अस्पताल भर्ना भएका थिए।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन्।
नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनलाई पत्र पठाउँदै 'नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको' दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
राष्ट्रिय दिवस तथा मध्य शरद पर्वको अवधिमा लगातार ८ दिन लामो बिदा नजिकिँदै गर्दा चीनले आफ्नो सुरक्षा आफै गर्न सर्वसाधारणसमक्ष अपिल गरेको छ।
बिदाका बेला पर्यटन क्षेत्र चलायमान हुने पूर्वसन्ध्यामा चीनले यस्तो सूचना जारी गरेको हो । चीनमा कोरोना भाइरसको महामारी लगभग शून्यमा झरे पनि उच्च सतर्कताका लागि ध्यानाकर्षण गराइएको छ।