छोटकरीमा : आज- २०७७ भदौ ३१, बुधबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बुधबार १,५३९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

हालसम्म नेपालमा ४१,७०६ जना कोरोना संक्रमित निको भएका छन्।

=> New PCR Test : १०,४९४ => New Recovered : १,०६८

समबन्धित :

  • हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन्। त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ।
  • ४ घन्टाभित्र कोरोना संक्रमित थप आठजनाको निधन भएको छ।  काठमाडाैंका दुई महिला, काभ्रेपलाञ्चाेकका एक महिला र एक पुरुष, सुनसरीका एक पुरुष, सप्तरीका एक पुरुष, बाराकी एक महिला र कास्कीका एक पुरुषकाे मृत्यु भएकाे हो।
  • काठमाडौं उपत्यकामा बुधबार थप सात सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ५२ जना, ललितपुर जिल्लामा ६० जना र भक्तपुर जिल्लामा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  • हिमाली जिल्ला मनाङमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार एकजना स्थानीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। 
  • भारतले नेपाललाई कोरोनाविरुद्ध लड्न दुई हजार भाइल रेम्डेसिभिर उपहारस्वरूप प्रदान गरेको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार भाइल रेम्डेसिभिर औषधि हस्तान्तरण गरेका हुन्। 
  • नियमित तलब र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विभिन्न मितिमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले २६ भदौदेखि स्वास्थ्य सेवाबाहेक सबै कार्य बन्द गरी आन्दोलनमा उत्रिएका हुन्। 


कोरोना भाइरससम्बन्धी माग एवं निर्णयहरू :

  • सरकारले बिहीबारबाट लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउन अनुमति दिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ६ महिनासम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन्। तर, दशैैँको मुखमा लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउँदा झनै जोखिम बढ्ने सक्ने भन्दै आलोचना पनि हुँदै आएको छ।
  • मुस्लिम धर्मावलम्बीहरूका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको धर्मअनुसार मृत्युपछि शव व्यवस्थापन गरिने ठाउँ) को खोजी गरिने भएको छ। कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भूमा रहेको एक मात्रै कब्रिस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो।
  • नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा अलपत्र परकाहरूलाई दशैँअघि नै उद्धार गर्न माग गरेकी छिन्। उनले त्यसरी अलपत्र परेकाहरूलाई स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन्। 
  • सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन्। विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरुले सरकारको यो व्यवस्था नमान्ने बताइएको हो।
  • सरकारले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली PCR परीक्षण नगर्न र नगराउन निर्देशन दिएको छ। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ। यस्तै, PCR परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिन प्रयोगशालालाई आग्रह गरेको छ।
  • कोभिड-१९ का कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन्। नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन्। सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ।


नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन-५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टीमातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको बताए। यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको हो। 


सम्बन्धित :

  • सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने सूचना आएको सचिवालयका एक सदस्यले बताए। 
  • नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ। प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो। घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन्।


 समाजिक पञ्चायतीका नाममा बलात्कारका घटना दबाउन खोज्दा सप्तरीमा एक बलात्कृत किशोरीले आत्महत्याको बाटो रोज्‍न बाध्य भएकी छिन्।

सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षीया ती किशोरीले बलात्कृत भएपछि न्याय नपाउँदा झुण्डिएर आत्महत्या गरेकी हुन्।



 शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालसँग भएका ९० हजार वैज्ञानिकहरुको परिचालन आवश्यक भएको बताएका छन्। विज्ञान दिवसको अवसर पारेर बुधबार बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको वेबसाइट सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले मुलुकमा भएका ९० हजार वैज्ञानिकहरुको प्रवर्द्धन तथा व्यवस्थित परिचालन आवश्यक रहेको बताए।



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ। कुल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षामार्फत, विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ।



नापी कार्यालय कास्कीको सहयोगमा पोखरा महानगरपालिकाले तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।



मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटै परिवारका तीन जनाको शव भेटिएको प्रकरणमा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई पोष्टमार्टमको रिपोर्टले पनि पुष्टि गरेको छ। 

३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको भदौ २६ (शुक्रबार) साँझ घरभित्रै शव फेला परेको थियो। पत्नी र छोराको सुतेकै अवस्थामा धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका थियो।



नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्य आफैँ लागेर दलित समुदायमाथि अत्याचार गर्न थालेको बताएका छन्। संविधान र कानुनले विभेदको अन्त्य गरे पनि सरकारले त्यसको कार्यान्वयन नगर्दा दलितमाथि अत्याचार विभेदमा मात्रै सीमित नभएर हत्यासम्म पुग्न थालेको उनले बताए। 



डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ। पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ। 

डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ। निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।



राष्ट्रसंघीय प्रतिवेदनले बितेको दशकमा वन्यजन्तु र पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) जोगाउने अभियानमा विश्व समुदाय असफल भएको ठहर गरेको छ।

राष्ट्रसंघीय वातावरण कार्यक्रमले मंगलबार क्यानडाको मोन्ट्रियलमा सार्वजनिक गरेको ‘पाँचौं बायोडाइभर्सिटी आउटलुक’ प्रतिवेदनमा अन्तर्राष्ट्रिय समुदायले सन् २०१० मा जापानमा प्रकृतिको विनाश रोक्न गरेको ‘आइची जैविक विविधता लक्ष्य’ हासिल गर्न चुकेको उल्लेख छ। विश्व समुदायले जैविक विविधतासम्बन्धी लक्ष्य हासिल गर्न नसकेको यो लगातार दोस्रो दशक हो।



 मेघालयका मुख्यमन्त्री एवं सत्तारूढ़ नेसनल पिपल्स पार्टीका राष्ट्रिय अध्यक्ष कोनराड के. साङ्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई छिट्टै नै छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न भन्दै पत्राचार गरेका छन्।भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डको नाम नलिई गोर्खाका समस्याको स्थायी राजनैतिक समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। दार्जिलिङमा संसद्को यही सत्रमा स्थायी राजनैतिक समाधानको निम्ति विधेयक ल्याइनुपर्ने माग चुलिएको हो।



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्। उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन्। 

पाकिस्तानको लाहोरमा गत हप्ता एक महिला आफ्ना बच्चाकै अगाडि सडकमा सामूहिक बलात्कृत भएकी थिइन्। पञ्जाव प्रान्तको लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो।



पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार राति मेट्जको सामना गर्दै छ। साविक विजेता पीएसजीले फ्रेन्च लिगवान फुटबलमा बुधबार राति मेट्जको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ। 



चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ। उसले हालै एलएसीमा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी समेत गरेको छ।



रुसका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पतालका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम श्वासप्रश्वास यन्त्र हटाइएको छ। उनी हाल अस्पतालको शय्याबाट उठेर सामान्य हिँडडुल गर्न थालेको बताइएको छ।



इजरायलले युनाइटेड अरब इमिरेट्‌स र बहराइनसँग 'ऐतिहासिक' सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतालाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'नयाँ मध्यपूर्वको मिरमिरे बिहानी' भन्दै प्रशंसा गरेका छन्।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक