आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, होटल र आन्तरिक उडान असोज १ गतेदेखि खुल्ने, युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, कालापानी लगायत अतिक्रमित भूमि पाठ्यपुस्तकमा, कुलमानको बिदाईपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी, तेल ट्यांकरबाट ४० दिनपछि ओर्लन पाए आप्रवासी लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
मंगलबार १,४५९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६,७८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।
हालसम्म नेपालमा ४०,६३८ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : १०,३७५ => New Recovered : १,०६२
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रणसम्बन्धी माग एवम् निर्णयहरू :
सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको छ। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिने निर्णय गरेको बताएका हुन्। यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना गर्न दिने निर्णय पनि गरेको छ।
सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ। राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। उनको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको छ।
सम्बन्धित :
प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ। संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन भन्दै‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन्।
भदौ १७ गते ढोरपाटन नगरपालिका–९ मा आएको बाढीपहिरोले सडक र बस्ती क्षतविक्षत छन्। दुई साता बित्दा पनि पीडितले पर्याप्त राहत पाउन सकेका छैनन्। उनीहरू ओतसम्म नपाएर बिचल्लीमा छन् ।
मृतकका परिवार शोकमग्न छन् भने बेपत्ताका परिवार सास न लासको अवस्थामा छन्। शव नभेटिँदा उनीहरूले प्रशासनबाट पाउने राहतसमेत पाउन सकेका छैनन्।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार पारेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरेका हुन्।
यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ। कोभिड– १९ का कारण वैशाखमा पठनपाठन सुरु हुन नसके पनि शैक्षिक सत्रको अन्त्य चैत मसान्तमै हुने शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन्।
कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए। कोेभिडका कारण अवरुद्ध भएको नियमित पठनपाठन सुचारु गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले गत १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो।
सम्बन्धित :
भारत र चीनबीच सीमा विवादका कारण तनाव कायम रहेका बेला एक चिनियाँ कम्पनीले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च राजनीतिज्ञदेखि सांसद, कलाकार, पत्रकार र स्थानीय राजनीतिक कार्यकताहरूको ‘निगरानी’ गरेको दाबी गरिएको छ। भारतीय अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ को सोमबारको संस्करणमा प्रकाशित खोजमूलक रिपोर्टमा त्यस्तो खुलासा गरिएको हो।
डेनमार्कको एउटा तेल ट्यांकरले उद्धार गरेका आप्रवासीहरूको एक समूहलाई ४० दिनपछि इटालीले आफ्नो भूभागमा ओर्लन दिएको छ। एक गर्भवती महिलासहित २७ जना आप्रवासीले अगस्ट २ मा लिबियाबाट युरोपको यात्रा तय गरेका थिए। उनीहरू चढेको डुंगा डुब्न लागेपछि डेनिस ट्यांकर मेयर्स्क एटिएन्नले उनीहरूको उद्धार गरेको थियो।
यूएईले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अनुमति दिएको छ।
तेस्रो चरणको मानवीय परीक्षणमा रहेको भनिएको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका गर्न अनुमति दिइएको ले जनाएको छ। चीनले उक्त खोप आफ्नो मुलुकमा फ्रन्टलाइनमा रहेका र उच्च जोखिम भएकाहरुलाई जुलाईदेखि नै लगाउन सुरु गरेको चिनियाँ अधिकारीहरुले बताएका थिए।
अमेरिकाको पूर्वी तटीय राज्यमा डढेलोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। अधिकारीहरूका अनुसार ओरिगन राज्यमा मात्रै दर्जनौं सम्पर्कविहीन छन्। क्यालिफोर्निया, ओरिगन र वासिङ्टन राज्यमा तीन सातादेखि फैलिएको डढेलोका कारण दसौं लाख एकड वन क्षेत्र नष्ट भएको छ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ। केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको जनाएका छन्। करिब एक महिना अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न शान्ति सम्झौता भएको थियो।