छोटकरीमा यस हप्ता : भदौ २० गतेदेखि भदौ २७ गतेसम्म (राष्ट्रिय)

यस हप्ता (भदौ २०-भदौ २७ गते) भित्र राष्ट्रियस्तरमा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा एकैचोटी थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म ४५,२७७ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ५३,१२० पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण २८० जनाको मृत्यु भएकोमा यस शनिबार ३३६

पुगेको छ।

गत शनिबार सम्म २७,१२७ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ३७,१५२४ पुगेको छ।

यस्तै, हालसम्म ८,३१,१६२ जनाको पिसीआर टेस्ट भएको छ भने ६,३५४

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो।
  • सोमबारसम्म वैदेशिक रोजगारमा गएर कोरोनाका कारण समस्यामा परेका ५८ हजारभन्दा धेरै नेपालीहरु स्वदेश फर्किएका बताइएको छ।साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन्। उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन्। कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन्। उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे।
  • कोभिड-१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन्।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले देश कोरोनाको महामारीमा फँसेको बेला सरकारले भने पैसा उठाउनेमात्रै काम गरेको बताएका छन्। 'यो सरकारले भ्रष्टाचार गर्ने र पैसा उठाउनेबाहेक कुनै काम गरेन,' पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्तीको भर्चुअल गोष्ठीमा सभापति देउवाले भने।
  • सरकारले स्वाब परीक्षणको दर घटाउँदा कोरोना संक्रमणको अवस्था केही स्थिर देखिएको थियो। अघिल्लो साता संक्रमितको संख्या बढेको थियो भने यो साता स्थिर रहेको हो।
  • नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या मंगलबारसम्म ३३ हजार ८८२ पुगेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार सो दिनसम्म निको हुनेको दर ६८.८ प्रतिशत हो। पछिल्लो आठ दिनको तथ्याकं हेर्दा देशैभर ११ हजार ७०४ जना कोरोना संक्रमण निको भएका थिए। 
  • कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन्। लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।
  • कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको बताइएको छ। 
  • कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा ‘कोभिड अस्पताल’ निर्माण थालिएको छ। अस्पताल बनाउन जिल्लाका विभिन्न स्थानीय तहले लगानी गरेका छन्।
  • देशभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भदौ ४ गतेबाट दोस्रोपटक निषेधाज्ञा गरिएको थियो। बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै सडक र बजारमा मानिसहरुको चहलपहल बढेको छ। काठमाडौंका न्युरोड, असन, इन्द्रचोकका पसलहरु व्यवसायीहरुले खोल्न थालेका छन्। साताभरि विभिन्न बारलाई समय तोकेर पसल व्यवसाय सञ्चालन गर्न दिने भएपछि आज मानिसहरुले पसलहरु खोलेर सरसफाइ गर्न थालेका छन्।
  • विगत तीन वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको ‘हिमालयन आर्ट महोत्सव’ यो वर्ष आयोजना नहुने भएको छ। आयोजक टिम ई-आर्टस नेपालले प्रेस विज्ञप्ती जारी गर्दै ‘हिमालयन कला महोत्व २०२०’ आयोजना नहुने जानकारी दिएको हो।
  • कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेकाहरुले मंगलबारसम्म ६ हजार ९५ जना नेपालीले श्रम स्वीकृति पाएका छन्। यसरी श्रम स्वीकृति पाउनेमा ५ हजार ६५५ पुरुष र ४४० महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
  • कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन्। रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो।
  • कोरोना भाइरसको ‘हटस्पट’ वीरगन्जको अवस्था केही सातायता सामान्य बन्दै गएको छ। साउनको पहिलो सातादेखि कोरोनागन्जको रूपमा परिचित वीरगन्ज अहिले सामान्य रूपमा देखिन थालेको हो। भदौ शुरु भएदेखि पर्सामा कोभिड– १९ को बिरामी कम देखिन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेकाे छ। स्थानीय प्रशासनका अनुसार पर्सामा केही सातादेखि दैनिक रूपमा भएको परीक्षणमा संक्रमित कम हुँदै गएपछि बजार बिस्तारै खुला गरिएको हो।  
  • शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन्। प्रदेश १ मा ५, प्रदेश २ मा ९, वागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ कोरोना संक्रमितको आईसीयूमा रहेका छन्। 
  • कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीहरुले आफ्नै खर्चमा शवदाह गृहको निर्माण शुरु गरेका छन्।


कोरोना भाइरस नियन्त्रण सम्बन्धमा माग एवं निर्णयहरू :

  • सर्वसाधारणले शुल्क तिरेर जुनसुकै बेलामा पनि सबै सरकारी प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न पाउने भएका छन्  यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको सरकारले बताएको छ। त्यसका अतिरिक्त १३ वटा निजी प्रयोगशालामा पनि सशुल्क परीक्षण गर्न अनुमति दिएको छ।
  • नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको थियो। सरकारले राजश्‍व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ३ दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको थियो। 
  • सोमबार उपत्यकामा पुनः निषेधाज्ञा थपे अवज्ञा गर्ने चेतावनी व्यवसायीहरुले दिएका थिए। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण अब आर्थिक स्थितीले चल्नै नसक्ने अवस्थामा पुगेको भन्दै अवज्ञा गर्ने चेतावनी दिएका हथिए। 
  • संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले कोरोना भाइरसको भ्याक्सिन 'कोभ्याक्स सुविधा' तर्फबाट नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ। कोभ्याक्सको प्रारम्भिक लक्ष्य सन् २०२१ को अन्त्यसम्ममा खोपका दुई अर्ब डोज उपलब्ध गराउनु रहेको छ।
  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो।
  • मंगलबार काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको थियो। नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय भएका छन्। विषयगत आधारमा शिक्षकहरूको अनुपात वर्तमान स्थितिको आधारमा कायम गर्नुपर्ने ठहर गर्दै शिक्षकहरूको तलब भत्ता तत्काल उपलब्ध गराउनसमेत फोरमले माग गरेको छ।
  • छाया सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्‍न वर्गलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रधानले मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खानाको व्यवस्था गर्न माग गरेका हुन्।
  • कोरोना संक्रमण भएका व्यक्तिको उपचार र सामान्य बिरामीको उपचार एउटै अस्पतालमा गर्दा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना बढेको स्वास्थ्यकर्मीले बताएका छन्। कोभिड- १९ डेडिकेटेड अस्पतालको संख्या बढाएर अरु बिरामीलाई उपचार गर्ने अस्पतालमै कोरोना संक्रमितलाई राख्न नहुने उनीहरूले बताएका छन्। 
  • बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले २० सिटभन्दा ठूला सार्वजनिक यातायातलाई जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। यस्तै, सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ । तर, सबै दिन खुल्न पाउने छैनन्। रेस्टुरेन्टहरूको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ।
  •  भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको थियो।
  • पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति विषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ। कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका थिए।
  • काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि खुकुलो भएर जोर—बिजोर प्रणालीमा सवारी साधन सञ्चालन हुने भए पनि यसको फाइदा मनोरञ्जन क्षेत्रले भने उपयोग गर्न पाउने छैन। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे पनि शैक्षिक संस्था, सिनेमा हल, नाटक घर, जिमखानालगायत यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन्।
  • उपत्यकाका २० सांसदले लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका थिए। साथै उनीहरूले उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गर्न सरकारलाई सुझाब दिएका छन्। मंगलबार सांसदहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेललाई भेटेर यस्ताे सुझाब दिएका हुन्।
  • सरकारले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ। १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय गरेको सरकारले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको बताएको हो। 
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ। मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो।
  • बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए।यस्तै, विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ। 
  • बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको थियो। काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ। सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ।
  • सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ। पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान सेवा कम्पनीहरूले थप उडान गरेमा अनुमति दिने नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका हुन्।
  • भक्तपुर नगरपालिकाले तत्कालै सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छन्। तर, भक्तपुर नगरभित्रका यातायात व्यवसायीसँग छलफल गरी ३१ भदौसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरिएको भक्तपुरका मेयर सुनील प्रजापतिले जानकारी दिए। 
  • शुक्रबार सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका कैदीबन्दीलाई छोड्न आदेश दिएको थियो। त्यसका लागि माफी मिनाहाको सुविधा उपलब्ध गराउन परमादेश जारी गरेको हो। सर्वोच्चको फैसलामा महामारीमा कैदीबन्दीको ज्यान जोगाउने हिसाबले निर्णय गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो।
  • नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा रुसको खोप, अक्सफोर्ड ग्रुपले उत्पादन गरेको खोप र चीनमा उत्पादित खोप नेपालमा 'क्लनिक ट्रायल' गर्ने जनाएको हो।  
  • ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छिन्। फुपाथ तथा ठेलागाडामा स्वास्थ्य सुरक्षा उपाय अबलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएको उनले बताइन्।
  • कोरोना भाइरसको प्रभाव र अवस्थालाई अनुगमन गरी भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग सांसदहरूले गरेका थिए। उपत्यकाका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन्।
  • यातायात व्यवसायी र मजदुर संगठनले आगामी असोज १ देखि लामो दूरीका गाडी चलाउन लागेको जानकारी सरकारलाई गराएका थिए। आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यस्तो जानकारी गराएका हुन्।


यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको एक नम्बरको पुरस्कार चार वर्षदेखि सरकारले कसैलाई दिन सकेको छैन। सरकारसँग सङ्घमा करिब ५० हजार, प्रदेशमा करिब २२ हजार र स्थानीय तहमा करिब ६७ हजार कर्मचारी रहेको बताइन्छ। ती मध्ये सङ्घअन्तर्गत रहेका कर्मचारीमध्येबाट सर्वोत्कृष्ट रोज्ने हो।
  • नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रममात्र भएको निष्कर्ष निकालेको थियो। गत शनिबार र आइतबार बसेको प्रचार विभागको ‘भर्चुअल’ बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारले गरेका भ्रष्टाचारहरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको हो।
  • सहकारी पार्टी नेपाल नामको राजनीतिक दल विवेकशील नेपाली दलमा विलय भएको छ। यसबारेमा दुवै दलका अध्यक्षले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका छन्। पार्टी एकीकरणपछि अब सशक्त राजनीतिक दल बनाउने भनाइ दुवै दललका नेताहरूले राखेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
  • तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले आफ्नो मन्त्रालयले "पहिले गरेको निर्णय त्रुटिपूर्ण" रहेको बताएकी छन्। सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो। तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले बनाएको निर्देशक समितिले जग्गालाई खेतीयोग्य र अन्य भनी वर्गीकरण गर्न अनुमति दिएको थियो।
  • अलग्गै बैठक सम्पन्न गर्ने तहसम्म चुलिएको विवाद मत्थर पार्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबारको छलफलपछि ओली र प्रचण्डले शुक्रबार (२६ भदौ)का लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।
  • भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर दक्षिण ओलाङचुङगोला सडकको ट्रयाक जोडिन अब पाँच किलोमिटर मात्र बाँकी रहेको छ। पूर्वको समृद्धिको ढोका मानिएको उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पारेका थिए। पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका हुन्। 
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन्। बुधबार रोल्पाको लिवाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए।
  • यस वर्षको संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्जवलन गरिने भएको छ। सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी 'स्लोगन' वेबसाइटमा प्रकाशित गर्नेछन्। सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने बताएको छ।
  • सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ। सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो। अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन्।
  • नेकपाको स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ। आज बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाएको छ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि 'नोट अफ् डिसेन्ट' राखेका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। पोखरेलले त्यसमा नोट अफ् डिसेन्ट राखेका हुन्।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन्। मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए। मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।नेता पौडेलले अख्तियारमा भइरहेका लापरबाहीको छानबिन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन्।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार, अनियमितता र घूसखोरी नियन्त्रण गर्न नयाँ कानुन आवश्यक रहेको बताएका छन्। स्थायी कमिटीको शुक्रबारको बैठकमा बोल्दै नेता खनालले शासन–प्रशासनमा भ्रष्टाचार व्याप्त रहेको र अनियमितता बढेको निष्कर्ष निकाल्दै आफूले नयाँ कानुन निर्माण गर्नुपर्ने बताएको जानकारी दिए।



यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • अफवाह फैलाई सार्वजनिक शान्ति भंग गर्न खोज्‍ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ। यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। 
  • अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन्। ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ। यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन्। 
  • घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो।
  • कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन्। अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ।
  • मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन्। अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ। नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन्। साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो।
  • रेल विभागले विवादित टेन्डर अन्ततः रद्द गरेको छ। प्रभावित जनतालाई मुआब्जा नदिई रेलमार्गको ठेक्का दिने र साइट क्लियर नभएको भन्दै आयोजना अलपत्र पार्ने योजना रोकिएको छ। 
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को बेला पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताएका छन्। उनले निर्यातको स्थिरता रहनुका साथै आयातमा भएको व्यवस्थापनसाथै चालू खाता घाटामा उल्लेख्य सुधार भएको बताए । शोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उनले बताए।
  • नेपाल वायुसेवा निमगले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ। निगमले उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर यसको अध्ययन गरिरहेको छ। ६ वटा चिनियाँ जहाज चलाउन नसकेर थन्काएर राखेको निगमले नयाँ जहाज खरिद गर्न लागेको हो।
  • उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले सशस्त्र प्रहरी बिओपीलाई बेलौरी नगरपालिकाले उपभोगका लागि दिएको जमिन प्रकरणमा एक महिनाअघि दिएको अन्तरिम आदेश बदर गरेको छ। गत असारमा बेलौरी नगरपालिका– २ खैरानी थापा चौराहमा सशस्त्र प्रहरी बलको बिओपी राखिएको थियो। सशस्त्र प्रहरी बसेको जमिन आफ्नो भन्दै स्थानीय जनक भण्डारीले दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो। 
  • भुकम्पबाट धेरै क्षति ब्यहोर्नेमध्येको पूर्वी पहाडी जिल्ला दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण सम्पन्न हुँदा १८ अर्ब ४४ करोड ९३ लाख खर्च भएको छ। विनाशकारी भुकम्प गएको ५ वर्ष बित्नै लाग्दा दोलखामा ६० हजार ७ सय २६ घरको पुनर्निर्माण सकिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म दोलखामा निजी आवास निर्माणका लागि मात्रै १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रकम खर्च भइसकेको छ। 
  • गरुडा ८ जिगडियाका बिजय महराको हिरासतमा मृत्यु भएको घटनामा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) सहित ६ जना विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन्। 
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए।
  • सर्वोच्च अदालतले कोरोना महामारीलाई कारण देखाउँदै असल चालचलन भएका र नकारात्मक सूचीमा नरहेका कैदीबन्दीलाई रिहा गर्न परमादेश जारी गरेको छ। विभिन्‍न कारागारमा रहेका कैदीहरुलाई कोरोना संक्रमण भएको खबर आइरहेका बेला सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।
  • बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन्। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो। १८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो।
  • भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने भएको छ। यातायात कार्यालयले लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकलाई आउने बुधबारभित्रमा नवीकरण गरिसक्न आग्रह गरेको हो।
  • भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनदेखि रोकेर राखिएका दुई रेल भदौभित्रै नेपाल ल्याइने तयारी गरिएको छ। गत फागुनदेखि नै जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि ल्याइएका ती रेल कोभिड–१९ का कारण बीचबाटोमै अड्किएका हुन्।




यस हप्ताका शैक्षिक गतिविधिहरू :

  •  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अध्ययनरत विद्यार्थीको शैक्षिक सत्र खेर नजाने व्यवस्था गर्न सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल (सीटीएसएन) ले माग गरेको छ। सीटीएसएनले विज्ञप्ती जारी गर्दै शिक्षण गतिविधि पुनः ढुक्कले सञ्‍चालन गर्ने व्यवस्था गर्न माग गरेको हो।
  • कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । ओपन बुक पद्धति अपनाउने, कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने लगायतका विकल्प प्रतिवेदनमा सुझाइएको छ ।
  • सरकारले मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने अभियान चलाएको १२ वर्ष बित्यो। यसबीचमा सात अर्ब ४० करोड १३ लाख ७५ हजार खर्च भएको छ। तर, संघीय राजधानी रहेका काठमाडौं जिल्ला र महानगर नै पूर्ण साक्षर घोषणा हुन सकेका छैनन्।
  • उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्। कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो। 
  • प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्। डा. केसीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै वरिष्ठताको आधार भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएकोमा आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संज्ञा दिएका छन्। मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले अर्थोपेडिक सर्जन प्राडा दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 


विविध :

  • सरकारले चैतमा लकडाउन घोषणा गरेपछि बन्द भएको सदर चिडियाखाना आर्थिक अभावमा पर्न थालेको छ। १ सय १० प्रजातिका १ हजार ५० प्रकारका जीवजन्तु र चराचुरुंगी रहेको यो चिडियाखाना आर्थिक संकटमा परेपछि यहाँ कार्यरत ७५ जना कर्मचारीको तलब कटौती गरिएको चिडियाखानाका प्रमुख चिरञ्जिवीप्रसाद पोखरलले बताए।
  • भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ
  • प्रधानमन्त्री केपी ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए। उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो।’ 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक