छोटकरीमा : आज - २०७७ भाद्र २६, शुक्रबार

आज कोरोना भाइरसको वस्तुस्थिति, नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन, एमसीसी संशोधन गरेर पारित हुने, ५० वर्षमा विश्‍वबाट ६८ प्रतिशतले जीवजन्तु घटे, भारतमा स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै छापियो ‘समवेदना’, ट्रम्प र बाइडन दुवै रुस, चीन र इरानका ह्याकरको निसानामा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



शुक्रबार १,४५४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१,९१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।

हालसम्म नेपालमा ३६,६७२ जना कोरोना संक्रमित निको भएका छन्।

=> New PCR Test : ११,१६७ => New Recovered : ९७२

सम्बन्धित :

  • हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन्। त्यसैगरी सक्रिय संक्रमित १४ हजार ९२५ रहेका छन्।
  • कोरोना संक्रमणबाट २४ घन्टाभित्र थप पाँचजनाको निधन भएको छ। मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन्।
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकोमा काठमाडौं जिल्लाका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
  • प्रदेश २ का विभिन्‍न जिल्लामा शुक्रबार ४८ जना कोरोना संक्रमित थपिएका छन्। सिरहा कारागारमा १९ जना र लहान नगरपालिकामा तीनजना गरी जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, बारामा एक जना, पर्सामा एक जना र सर्लाहीमा पाँच जना संक्रमित भएका छन्। शुक्रबार रौतहटमा छ र सप्तरीमा १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
  • चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ। अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष छन् । एक जना जनरल आईसीयूमा र दुई जनाको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
  • कोरोना भाइरसको ‘हटस्पट’ वीरगन्जको अवस्था केही सातायता सामान्य बन्दै गएको छ। साउनको पहिलो सातादेखि कोरोनागन्जको रूपमा परिचित वीरगन्ज अहिले सामान्य रूपमा देखिन थालेको हो। भदौ शुरु भएदेखि पर्सामा कोभिड– १९ को बिरामी कम देखिन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेकाे छ। स्थानीय प्रशासनका अनुसार पर्सामा केही सातादेखि दैनिक रूपमा भएको परीक्षणमा संक्रमित कम हुँदै गएपछि बजार बिस्तारै खुला गरिएको छ।  



कोरोना नियन्त्रणको समबन्धमा आज भएका माग एवं निर्णयहरू :

  • सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका कैदीबन्दीलाई छोड्न आदेश दिएको छ। त्यसका लागि माफी मिनाहाको सुविधा उपलब्ध गराउन परमादेश जारी गरेको छ। सर्वोच्चको फैसलामा महामारीमा कैदीबन्दीको ज्यान जोगाउने हिसाबले निर्णय गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।
  • नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा रुसको खोप, अक्सफोर्ड ग्रुपले उत्पादन गरेको खोप र चीनमा उत्पादित खोप नेपालमा 'क्लनिक ट्रायल' गर्ने जनाएको हो।  
  • ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छिन्। फुपाथ तथा ठेलागाडामा स्वास्थ्य सुरक्षा उपाय अबलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएको उनले बताइन्।
  • कोरोना भाइरसको प्रभाव र अवस्थालाई अनुगमन गरी भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग सांसदहरूले गरेका छन्। उपत्यकाका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन्।
  • यातायात व्यवसायी र मजदुर संगठनले आगामी असोज १ देखि लामो दूरीका गाडी चलाउन लागेको जानकारी सरकारलाई गराएका छन्। आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यस्तो जानकारी गराएका हुन्।
  •  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच TOEFL, IELTS, GMAT, GRE, JLFW, Occupational English Test लगायतका भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ ।


नेकपाको स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ। आज बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाएको छ।

सम्बन्धित :

  • नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले दलाल पुँजीवादसँग आत्मसमर्पण गर्न खोजेको टिप्पणी गरेका छन्। उनले प्रतिवेदन परिमार्जन गरेर दलाल पुँजीवादसँगको संघर्ष नचर्काए पार्टी महाधिवेशनसम्म समाजवाद अपहरणमा पर्न सक्ने चेतावनीसमेत दिएका छन्।
  • प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको प्रारम्भमै सम्बोधन गर्दै ओलीले बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताएका छन्। नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले अगाडि बढाउने निष्कर्ष बैठकले निकाल्ने विश्वास ओलीको छ। उनले देशी–विदेशी तथा प्रतिक्रियावादी शक्तिले नेकपालाई कमजोर बनाउने र तोडफोड गराउने अपेक्षा असफल भएको बताए। 


शुक्रवारको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ। स्रोतका अनुसार झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको संशोधनको सुझाव अनुसार त्यसो गरिनेछ।

सम्बन्धित :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि 'नोट अफ् डिसेन्ट' राखेका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। पोखरेलले त्यसमा नोट अफ् डिसेन्ट राखेका हुन्।




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन्। मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए।

मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ।



भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ



प्रधानमन्त्री केपी ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए। उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो।’ 



काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ। 

बुधबार जारी निषेधाज्ञामा ‘विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ, साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा लेखिएको भन्दै काठमाडौं प्रशासनले बिहीबार सूचना जारी जानकारी दिएको हो।  


सम्बन्धित :

  • सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ। बिहीबार निषेधाज्ञा खुकुलो भएसँगै अदालतले म्याद तथा तारेखका लागि ३० दिनभित्र अदालतमा उपस्थित हुन सूचना निकालेको हो। 


भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने भएको छ। यातायात कार्यालयले लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकलाई आउने बुधबारभित्रमा नवीकरण गरिसक्न आग्रह गरेको हो।



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।

नेता पौडेलले अख्तियारमा भइरहेका लापरबाहीको छानबिन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन्।

सम्बन्धित :

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार, अनियमितता र घूसखोरी नियन्त्रण गर्न नयाँ कानुन आवश्यक रहेको बताएका छन्। स्थायी कमिटीको शुक्रबारको बैठकमा बोल्दै नेता खनालले शासन–प्रशासनमा भ्रष्टाचार व्याप्त रहेको र अनियमितता बढेको निष्कर्ष निकाल्दै आफूले नयाँ कानुन निर्माण गर्नुपर्ने बताएको जानकारी दिए।



भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनदेखि रोकेर राखिएका दुई रेल भदौभित्रै नेपाल ल्याइने तयारी गरिएको छ। गत फागुनदेखि नै जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि ल्याइएका ती रेल कोभिड–१९ का कारण बीचबाटोमै अड्किएका हुन्।



बासस्थान र आहार प्रजातिको अत्यधिक दोहनका कारण करिब ५० वर्षमा विश्वभर चरा, माछा, स्तनधारी, उभयचर र सरिसृप (घस्रिने) लगायतका जीवमा ६८ प्रतिशतले गिरावट आएको छ। संयुक्त राष्ट्र संघको ७५ औं महासभाको पूर्व सन्ध्यामा बिहीबार डब्लूडब्लूएफले सार्वजनिक गरेको  मा अत्यधिक मात्रामा माछा मारिँदा, जंगलमा डढेलो लाग्दा र मानवीय क्रियाकलापले वन्यजन्तुको आश्रयस्थल विनाश हुँदा दुई तिहाई जीव घटेको उल्लेख छ।



भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ। भारतीय अंग्रेजी दैनिक द हिन्दुको शुक्रबारको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो।

सम्बन्धित :

  • कुनै जवान चर्चित कलाकारको निधन विश्वमा जहाँसुकै पनि ठूलो खबर हो। तर बलिवुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीको दानवीकरणको जुन स्तरले भारतको मूल समाचारमा कब्जा जमाइरहेको छ त्यसले कैयन् मानिसहरूलाई कतै राष्ट्रिय सङ्कट नै छायामा पारेको हो कि भन्ने परिरहेको छ।


ओस्कर अवार्डबाट सम्मानित चर्चित भारतीय संगीतकार एआर रहमानमाथि कर छलीको आरोप लागेको छ। आयकर विभागले मद्रास उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले रहमानलाई नोटिस जारी गरेको हो।

आयकर विभागको अपिलमा जस्टिस टीएस शिवंगनानम र जस्टिस वी भवानी सुब्बोरोयनको ब्याचले रहमानविरुद्ध नोटिस जारी गरेको हो। आयकर विभागका अनुसार रहमानले उनको परोपकारी ट्रस्ट एआर रहमान फाउन्डेशनको प्रयोग गरी कर छली गरेको हो।



कोरोनाभाइरसको महामारीले गरिब देशहरूलाई बाँकी विश्वभन्दा धेरै धक्का दिएको र विश्वव्यापी असमानता बढाइदिएको बीबीसीले गरेको सर्वेक्षणमा देखिएको छ।

तीस हजार मानिसमा गरिएको सर्वेक्षणले मार्च ११ मा महामारी पुष्टि भएयताको ६ महिनामा कसरी विभिन्न देशहरूलाई असर पारेको छ भनेर हेरेको थियो।



माइक्रोसफ्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्प र आगामी चुनावका लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन्।

माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको हो।



 लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीनबीच द्वन्द्वको स्थितिबाट 'छिट्टै पछि हट्‍ने' सहमति भएको छ। 

यसअघि भारत-चीनबीच एकअर्काले सीमा क्षेत्रमा गोली हानेको आरोप लगाएका थिए भने भारतले चिनियाँ सेनाले आफ्ना पाँच नागरिकलाई अपहरण गरेको आरोप लगाएका थिए। 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक