छोटकरीमा: आज - २०७७ भाद्र २५, बिहीबार

आज कोरोना भाइरसको वस्तुस्थिति, १४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय, काठमाडौं बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य, एसिड प्रहार गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन, प्रस्तावित राजदूतको नाम सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन, अमेरिकामा एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



बिहीबार १,२४६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५०,४६५ पुगेको छ भने मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

हालसम्म नेपालमा ३५,७०० जना कोरोना संक्रमित निको भएका छन्।

=> New PCR Test : ११,१४४ => New Recovered : १,८१८

सम्बन्धित :

  • पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ। यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।
  • देशभर २१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ। पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन्। ताप्लेजुङ, मुगु, सोलुखुम्बु, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 
  • काठमाडौं उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं सय ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
  • कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको बताइएको छ। 
  • कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा ‘कोभिड अस्पताल’ निर्माण थालिएको छ। अस्पताल बनाउन जिल्लाका विभिन्न स्थानीय तहले लगानी गरेका छन्।
  • देशभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भदौ ४ गतेबाट दोस्रोपटक निषेधाज्ञा गरिएको थियो। आज (बिहीबार)बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै सडक र बजारमा मानिसहरुको चहलपहल बढेको छ। काठमाडौंका न्युरोड, असन, इन्द्रचोकका पसलहरु व्यवसायीहरुले खोल्न थालेका छन्। साताभरि विभिन्न बारलाई समय तोकेर पसल व्यवसाय सञ्चालन गर्न दिने भएपछि आज मानिसहरुले पसलहरु खोलेर सरसफाइ गर्न थालेका छन्।
  • विगत तीन वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको ‘हिमालयन आर्ट महोत्सव’ यो वर्ष आयोजना नहुने भएको छ। आयोजक टिम ई-आर्टस नेपालले प्रेस विज्ञप्ती जारी गर्दै ‘हिमालयन कला महोत्व २०२०’ आयोजना नहुने जानकारी दिएको हो।
  • कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेकाहरुले मंगलबारसम्म ६ हजार ९५ जना नेपालीले श्रम स्वीकृति पाए छन्। यसरी श्रम स्वीकृति पाउनेमा ५ हजार ६५५ पुरुष र ४४० महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
  • कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन्। रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो।


कोरोना नियन्त्रणको सम्बन्धमा माग एवं निर्णयहरू :

  • सरकारले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ। १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय गरेको सरकारले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको बताएको छ। 
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ। मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो।
  • पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए। यस्तै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ। 
  • वीरगन्जमा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म निरन्तरता दिने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समिति बैठकले भदौ २५ गते मध्यरातसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जारी निषेधाज्ञालाई भदौ ३१ गते मध्यरात सम्म निरन्तरता दिने निर्णय गरेको हो। 
  • बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ। काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ। सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ।
  • सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ। पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान सेवा कम्पनीहरूले थप उडान गरेमा अनुमति दिने नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए।
  • भक्तपुर नगरपालिकाले तत्कालै सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छन्। तर, भक्तपुर नगरभित्रका यातायात व्यवसायीसँग छलफल गरी ३१ भदौसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरिएको भक्तपुरका मेयर सुनील प्रजापतिले जानकारी दिए। 


प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए।



सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ।

सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो। अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन्।

सम्बन्धित :

बेल्जियमका लागि राजदूतमा सिफारिस भएका गेहेन्द्रराज भण्डारीविरुद्ध संसदीय सुनुवाइ समितिमा तीन आरोपसहित परराष्ट्रकै कर्मचारीले उजुरी हालेका छन्। उजुरीमा सहसचिव भइसकेपछि पनि जापानमा उपसचिवकै दरबन्दीमा बसेर काम गरेको, आयकर नतिरेर महालेखाले बेरुजु देखाएको र नियमविपरीत परिवारका सदस्यको सरकारी रकमबाट उपचार बिमा गराएको उल्लेख छ।



उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्। कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो। 



प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ। मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए।



सर्वोच्च अदालतले कोरोना महामारीलाई कारण देखाउँदै असल चालचलन भएका र नकारात्मक सूचीमा नरहेका कैदीबन्दीलाई रिहा गर्न परमादेश जारी गरेको छ। विभिन्‍न कारागारमा रहेका कैदीहरुलाई कोरोना संक्रमण भएको खबर आइरहेका बेला सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।



बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन्। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो।

१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो।




साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से बढेको छ। नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको भन्दै करिब साढे २ घण्टा कारोबार अवरुद्ध भए पनि नियमित समयभन्दा द्ई घण्टा ढिलासम्म खुलेको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको हो। 



प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्। डा. केसीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै वरिष्ठताको आधार भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएकोमा आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संज्ञा दिएका छन्। 

मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले अर्थोपेडिक सर्जन प्राडा दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 



अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा मानेका १,००० भन्दा बढी चिनियाँ विद्यार्थीहरूको भिसा अमेरिकी सरकारले खारेज गरिदिएको छ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यो निर्णय आएको बताइएको छ।



अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छ: नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ।

नर्वेका एक नेताले ट्रम्पले इजरेल र यूएईबीच शान्ति सम्झौता गर्न भूमिका खेलेको भन्दै उनको मनोनयन गरेका हुन्।



सात अर्ब वर्षअघि ब्रह्माण्डमा दुईवटा ब्ल्याक होल (अर्थात् कृष्णगर्त) को विलय हुँदा गुरुत्वीय तरङ्ग फैलियो। त्यो घटनालाई अहिलेसम्म थाहा पाइएको ब्ल्याक होलहरूको सर्वाधिक ठूलो विलय मानिएको छ।

गत वर्ष बल्ल उक्त खगोलीय घटनाको सङ्केत पृथ्वीमा आइपुग्यो। मे २०१९ मा अमेरिका र इटलीमा जडित लेजर डिटेक्टरहरूले त्यसको सङ्केत प्राप्त गरे।



अचानक सबै भाइरसहरु हराउने हो भने एक दिनका लागि दुनियाँ सुरक्षित भए जस्तो लाग्नेछ तर त्यसको अर्को दिन हामीलाई बाँच्न गाह्रो पर्नेछ । किनकी संसार चलाउन भाइरसले खेल्ने आवश्यक भूमिका, यसका नकारात्मक पक्ष भन्दा धेरै गुणा ठूलो छ।





पछिल्लो ६ महिनादेखि विश्वका लगभग सबै देशलाई संक्रमित गराइरहेको कोरोना भाइरसले जनस्वास्थ्य र आर्थिक संकट उत्पन्न गराइरहेकै बेला अर्को ठूलो आपत्काल – ‘पृथ्वीको बढ्दो तापमान’ पनि नजरअन्दाज गर्न नसकिने अवस्थामा पुगेको छ। 

जलवायु परिवर्तनको प्रभाव कोभिड–१९ जस्तो तिव्र गतिमा नभएपनि यसले बिस्तारै वातावरणमा ठुल्ठुला परिवर्तन ल्याइरहेको प्रमाणित भइसकेको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक