आज कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू गरिने, संविधान दिवसका दिन ३ दिनसम्म दीप प्रज्वलन गरिने, अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोटन, ट्रायलमा सहभागी बिरामी परेपछि अक्सफोर्डको खोप परीक्षण रोकियो, अवैध निर्माण भन्दै बीएमसीले अभिनेत्री कंगनाको अफिस भत्कायो लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बुधबार १,०८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९,२१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३१२ पुगेको छ। हालसम्म नेपालमा ३३,८८२ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : ११,१६७ => New Recovered : ९१८
सम्बन्धित :
कोरोना सम्बन्धित निर्णयहरू एवं मागहरू :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पारेका छन्। पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका हुन्।
नेपाल वायुसेवा निमगले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ। निगमले उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर यसको अध्ययन गरिरहेको छ। ६ वटा चिनियाँ जहाज चलाउन नसकेर थन्काएर राखेको निगमले नयाँ जहाज खरिद गर्न लागेको हो।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले सशस्त्र प्रहरी बिओपीलाई बेलौरी नगरपालिकाले उपभोगका लागि दिएको जमिन प्रकरणमा एक महिनाअघि दिएको अन्तरिम आदेश बदर गरेको छ।
गत असारमा बेलौरी नगरपालिका– २ खैरानी थापा चौराहमा सशस्त्र प्रहरी बलको बिओपी राखिएको थियो। सशस्त्र प्रहरी बसेको जमिन आफ्नो भन्दै स्थानीय जनक भण्डारीले दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो।
भुकम्पबाट धेरै क्षति ब्यहोर्नेमध्येको पूर्वी पहाडी जिल्ला दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण सम्पन्न हुँदा १८ अर्ब ४४ करोड ९३ लाख खर्च भएको छ।
विनाशकारी भुकम्प गएको ५ वर्ष बित्नै लाग्दा दोलखामा ६० हजार ७ सय २६ घरको पुनर्निर्माण सकिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म दोलखामा निजी आवास निर्माणका लागि मात्रै १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रकम खर्च भइसकेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन्। बुधबार रोल्पाको लिवाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए।
दुर्घटनामा पुरै हात छिनेका एक बिरामीको हात १० घण्टा लामो शल्यक्रिया गरी जोडिएको छ। काठमाडौंको दक्षिणकाली स्थित एक कारखानामा काम गर्ने सर्लाही गाउँपालिकाका १८ वर्षीय रवी सिंहको मेशिनले छिनेको हात राष्ट्रिय ट्रमा सेन्टरमा लामो सल्यक्रियापछि जोडिएको हो।
फ्लेक्स पाइप मेशिनले सिंहको दाहिने हत्केला पुरै छिनेपछि ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना भएका थिए।
यस वर्षको संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्जवलन गरिने भएको छ। सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी 'स्लोगन' वेबसाइटमा प्रकाशित गर्नेछन्। सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने बताएको छ।
सरकारले मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने अभियान चलाएको १२ वर्ष बित्यो। यसबीचमा सात अर्ब ४० करोड १३ लाख ७५ हजार खर्च भएको छ। तर, संघीय राजधानी रहेका काठमाडौं जिल्ला र महानगर नै पूर्ण साक्षर घोषणा हुन सकेका छैनन्।
गरुडा ८ जिगडियाका बिजय महराको हिरासतमा मृत्यु भएको घटनामा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) सहित ६ जना विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराईले पीडितको जाहेरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको बताए। जिगडियाका निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या घटनामा पक्राउ परेका विजयलाई ईलाका प्रहरी गरुडामा जिल्लाबाट खटेको ईन्स्पेक्टर सिंहको टोलीले हत्या कबुल गराउने निहुँमा यातना दिँदा मृत्यु भएको थियो।
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको बताइएको छ। घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।
रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ।
रुसले कोभिड-१९ को सम्भावित 'स्पुतनिक-भी' खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ। यो रुसको खोप निर्यातको दोस्रो सम्झौता(पहिलो काजकस्तान) भएकोसमेत बताइएको छ।
कोरोनाविरुद्धको खोपका लागि अन्तिम चरणको ट्रायलमा रहेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप परीक्षणमा सहभागी एकजनाले नकारात्मक प्रतिक्रिया देखाइ बिरामी परेपछि परीक्षण रोकिएको छ।
अज्ञात कारणले बिरामी परेका एक बेलायती सहभागीका कारण परीक्षण केही समयका लागि रोकिएको कम्पनीले जनाएको हो।
अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ।
बीएमसीले मंगलबार कंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो।कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो।
अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो ९ लाख हेक्टर क्षेत्रमा फैलिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । डढेलोका कारण ३ हजार ३ सयभन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ।