आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन, अब सरकारी प्रयोगशालामा पनि शुल्क तिरेर परीक्षण गर्न पाइने, नेपाल र दर्जनौँ देशलाई कोभिड-१९ विरुद्ध खोप किन्न युनिसेफको सहयोग, चीनले ५ भारतीय नागरिकलाई अपहरण गरेको आरोप, अक्टोबर १५ भित्र सम्झौता नभए ब्रेक्जिट वार्ताबाट अलग हुने बेलायतको चेतावनी लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
सोमबार ९७९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७,२३६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३०० पुगेको छ।
हालसम्म नेपालमा ३०,६७७ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : ९,२१८ => New Recovered : १,७३६
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रण समबन्धित निर्णयहरू :
राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको एक नम्बरको पुरस्कार चार वर्षदेखि सरकारले कसैलाई दिन सकेको छैन। सरकारसँग सङ्घमा करिब ५० हजार, प्रदेशमा करिब २२ हजार र स्थानीय तहमा करिब ६७ हजार कर्मचारी रहेको बताइन्छ। ती मध्ये सङ्घअन्तर्गत रहेका कर्मचारीमध्येबाट सर्वोत्कृष्ट रोज्ने हो।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अध्ययनरत विद्यार्थीको शैक्षिक सत्र खेर नजाने व्यवस्था गर्न सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल (सीटीएसएन) ले माग गरेको छ। सीटीएसएनले विज्ञप्ती जारी गर्दै शिक्षण गतिविधि पुनः ढुक्कले सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेको हो।
तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अफवाह फैलाई सार्वजनिक शान्ति भंग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ।
यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।
अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन्। ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ।
यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार (२६ भदौ)मा हुने भएको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रममात्र भएको निष्कर्ष निकालेको छ। शनिबार र आइतबार बसेको प्रचार विभागको ‘भर्चुअल’ बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारले गरेका भ्रष्टाचारहरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको छ।
सहकारी पार्टी नेपाल नामको राजनीतिक दल विवेकशील नेपाली दलमा विलय भएको छ।
यसबारेमा दुवै दलका अध्यक्षले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका छन्। पार्टी एकीकरणपछि अब सशक्त राजनीतिक दल बनाउने भनाइ दुवै दललका नेताहरूले राखेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना भाइरस संक्रमितको संख्याको हिसाबमा भारत दोस्रो नम्बरमा पुगेको छ। पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएसँगै दोस्रो नम्बरको रहेको ब्राजिललाई पछाडि पार्दै भारत दोस्रो नम्बरमा पुगेको छ।
पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ। गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ।
५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए। सांसद गाओले ३ सेप्टेम्बरमा सीमा क्षेत्रबाट भारतीय नागरिकलाई अपहरण गरेको बताएका थिए। उनले यस विषयमा कुनै थप विवरण दिएका छैनन्।
निषेधाज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना छुटेका छन्।
६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो।
फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ।रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए।
तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्च अदालतले ठहर गरेको छ।
गत असार २ मा सर्वोच्चले म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापालसहित ६ जनालाई सफाइ दिएको थियो। सो फैसलाको पूर्णपाठअनुसार ६ जनालाई नै गलत कानुन प्रयोग गरिएको ठहर गरिएको छ।
रूसका विपक्षी नेता एलेक्सी नाभाल्नी काेमाबाट बाहिर आएका छन्। डाक्टरहरुका अनुसार नाभाल्नीकाे स्वास्थ्य अवस्था सुधार भइरहेकाे छ।
नाभाल्नीलाई 'नाेभिचाेक नर्भ एजेन्ट' नामकाे विष खान दिएर ज्यान लिने काेसिस भएकाे थियाे। उहाँकाे जर्मनीकाे राजधानी बर्लिनमा रहेकाे एक अस्पतालमा उपचार भइरहेकाे छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबर १५ भित्र पनि ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन्। बेलायती अधिकारीहरु र युरोपेली युनियनका प्रतिनिधिबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियनबीचको व्यापार तथा अरु सम्बन्धका विषयमा वार्ता जारी छ। तर दुवै पक्ष आ-आफ्ना अडानमा रहेकाले ठोस प्रगति हुन सकेको छैन।
भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरु आउँदो बिहीबारदेखि खुल्ला हुने भएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरु बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन्।
आफ्नो एक बयानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशस्तै आलोचना खेप्न थालेका छन्।
युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई 'हरूवा' र 'बुद्धु' भनेकोमा उनको आलोचना भएको हो।
ट्रम्पको यो बयान सबैभन्दा पहिला 'द एट्लान्टिस' पत्रिकामा छापिएको बिबिसीले जनाएको छ। त्यसपछि यसको अंशलाई एसोसिएटेड प्रेस(एपी) र फक्स न्यूजले प्रकाशित गरेको बिबिसीको समाचारमा उल्लेख छ।