छोटकरीमा यस हप्ता : भाद्र १३ गतेदेखि भाद्र २० गतेसम्म (राष्ट्रिय)

यस हप्ता (भाद्र १३-भाद्र २० गते) भित्र राष्ट्रियस्तरमा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकैठाउँमा एकैचोटी थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म ३७,२४० जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ४५,२७७ पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएकोमा यस शनिबार २८०

पुगेको छ।

गत शनिबार सम्म २०,५५५ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज २७,१२७ पुगेको छ।

यस्तै, हालसम्म ७,५७,९६३ जनाको पिसीआर टेस्ट भएको छ भने ६,७०१

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
  • वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण देखिएपछि डा.रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन्।
  • नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।
  • प्रधानमन्त्री केपी ओलीले समाजमा ‘प्रतिपक्ष मनोविज्ञान’ हाबी हुँदै गएकाले सरकारले हरसम्भव प्रयास गर्दा पनि कोभिड–१९ को संक्रमण समुदायमा फैलिँदै गएको बताएका थिए । सरकारले स्रोतसाधनले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने, परीक्षण बढाउने, उपचारको व्यवस्था मिलाउनेलगायतका काम गर्दै आए पनि ती सबै कामलाई चुनौती दिने प्रवृत्ति र मनोविज्ञान समाजमा हाबी हुँदै गएको ओलीको भनाइ थियो।
  • नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको सरकारले जनाएको छ। अन्य व्यक्तिहरुमा पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाले कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको बताएइको हो। जसमा सबैभन्दा बढी प्रदेश-२ मा ७ जना छन्।
  • काम गर्ने वातावरण नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘कोभिड– १९ अस्पताल’ सञ्चालनको नेतृत्व सम्हाल्दै आएकी एनेस्थेसिया विभागकी प्रोफेसर डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छिन्। अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसमक्ष मंगलबार राजीनामा दिएकी हुन्। 
  • पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ। ७० वर्षिय चालिसे मुटुसम्बन्धी रोगबाट पीडित थिए। राजधानीको गंगालाल हृदय केन्द्रमा उनको निधन भएको हो। परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। 
  • प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको उनका स्वकीय सचिव राम पोखरेलले बताए।
  • निषेधाज्ञाको स्वरूप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरूले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।   
  • कोरोना (कोभिड– १९) संक्रमण भएका कतिपय नागरिकलाई समाजमा अपहेलनासहित सामाजिक बहिस्कार गरेका घटना सार्वजनिक भइरहँदा दोलखामा भने कोरोना जितेकाहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको छ। विभेद गरिएका कतिपय घटनालाई लक्षित गरी यस्ता घटनाको अन्त्य गर्न र संक्रमितको मनोबल उच्च बनाउन सम्मानपूर्वक घर पठाइएको हो। बुधबार दोलखाका सातजना कोरोनामुक्त भई घर फर्किएका छन्।
  • ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर पुस महिनादेखि भदौसम्म २४६ डेंगुका बिरामी देखिएका छन्। ४६ जिल्लामा डेंगुका बिरामीहरु भेटिएका हुन्। डेंगुसँगै कलाजारका १४३ र मलेरियाका ५६ बिरामी पनि यो अवधिमा भेटिएका छन्।
  • दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। कोरियाको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको थियो।
  • बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छन्। भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको हो।



कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्णयहरू :

  •  मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा संचालन गर्न स्वीकृति दिएको थियो। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा संचालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।
  • सरकारले रोजगार खुलाएका विभिन्‍न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो। 
  • मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ। यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ। यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो। दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो। 
  • सेती प्रादेशिक अस्पताल धनगढीमा पनि अब प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न सकिने भएको छ। आवश्यक पर्दा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सकिने गरी सुविधा थपिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
  • गोरखाका नगरपालिकाले आफ्नो पाँचवटा वडालाई सिल गरेको छ। आइतबार नगरपालिकाभित्रका १२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नगरपालिकाका पाँचवटा वडा सिल गरिएको हो। गोरखा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. १०, ११, १२, १३ र १४ सिल गर्ने जानकारी गराएको छ। 
  • सरकारले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै सरकारले भोलिदेखि हुन लागेको नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई चर्को भाडा नलिन निर्देशन समेत दिएको छ।
  • विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नेलगायत विषयको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनील शर्मा छन्।
  • मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सारेको छ।
  • मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भर्चुअल बैठकले गृह मन्त्रालयबाट स्वीकृति लिएरमात्रै निषेधाज्ञा सम्बन्धी विषयमा निर्णय लिने निष्कर्ष निकालेको थियो। दैनिक उपभोग्य बस्तु विक्रि वितरणमा बिहान ९ बजेसम्म कायम गरिएको समयसीमा हेरफेर गर्ने, अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक सावधानी अपनाएर सुचारु गर्नेलगायत विषयमा पनि कुरा उठेको बताइएको छ
  • कोरोना संक्रमणका कारण सडकमा ट्राफिक प्रहरी आफैँ बसेर जनचेतना फैलाउन असहज भएपछि काठमाडौं उपत्यकामा ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौंका २२ स्थानमा सचेतनामूलक जानकारीसहितका डमी ट्राफिक प्रहरी राखेको हो।
  • कोरोना भाइरससम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्। परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने बताइएको छ।
  • सिराहाको गोलबजार नगरपालिकाले नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ‘एक घर एक पीसीआर जाँच’ अभियान चलाएको छ। कार्यपालिकाले नगरको १ देखि १३ नं. वडामा पर्ने हरेक गाउँ टोलमा पीसीआर जाँच बढाउने निर्णयसँगै मंगलबारबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए।
  • ई–कमर्स पुनः सञ्‍चालनमा आएको छ। अत्यावश्यक सेवाअन्तर्गत तोकिएका औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ साथै प्याकेजिङका सामग्रीहरू मात्र होम डेलिभरी गरिएको मेरो किरानाका सागरदेव भट्टले जानकारी दिए।
  • जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ। एक साताका लागि अर्थात भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइने भएको छ। 
  • बुधबार काठमाडौं उपत्यकामा भदौ २४ गते सम्मका लागि थप गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाइएको थियो। अब होटल/रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालनको अनुमति सहित बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न दिइने भएको छ। त्यसैगरी विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय साथै छोटो दुरीका ढुवानीका लागि प्रयोग हुने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्नेछ।
  • सरकारले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा र २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरेको छ। सकारका अनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित रहेका छन् ।
  • उपत्यकालगायत सातै प्रदेशमा समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोगमा आगामी साताबाट सातै प्रदेशको समुदायमा एन्टिबडी परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन ) अघि बढाउने तयारी भएको जनाएको छ।  
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए।
  • जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरूले असन्तुष्टि जनाएका छन्। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि बुधबार साँझदेखि थप एक साताका लागि लम्ब्याएका छन्। तर, संक्रमण फैलिँदो रहेका वेला थप कडाइ गर्नुपर्नेमा खुकुलो बनाइएको भन्दै उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको हो। 
  • काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टले खानेकुरा उत्पादन गरी टेक अवे तथा होम डेलिभरीमार्फत ग्राहकसमक्ष पुर्‍याउन पाउने भएका छन्। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मादपण्ड निर्माण गरी उक्त मापदण्ड पालना गर्ने गरी होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न अनुमति दिएको छ।
  • हिमालय एयरलाइन्सले नियमित एवं चार्टर उडानको भाडादर सार्वजनिक गरेको छ। सरकारले अन्तर्राष्ट्रिय उडान पुनः सञ्‍चालन गर्ने निर्णय गरेसँगै हिमालय एअरलाइन्स्ले सहजै पीसीआर उपलब्ध गन्तव्यहरु (छोड्ंछिडं, क्‍वालालम्पुर र आबुधावीको उडानहरु सञ्‍चालन गर्न अनुमति प्राप्त गरेको छ। \
  • जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ सम्मका लागि निषेधाज्ञा थप गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि ४ बजेसम्म बजार खोल्न सकिने बताएको छ। यसअघि बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि दैनिक उपभोग्य सामानका पसलहरु खोल्दै आएकोमा यसलाई खुकुलो गरी परिमार्जन गरेको हो। शुक्रबार राति १२ बजेदेखि दोस्रो थप गरिएको लकडाउनको समय सकिँदैछ।
  • ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले सचेतना अभिवृद्धिको लागि २२ वटा डमी ट्राफिक प्रहरी तयार गरेर विभिन्न चोकमा राखेको छ। यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ।लकडाउनले मात्र समस्याको समाधान नहुने भन्दै व्यवसायीहरुले यसको मोडालिटी परिवर्तन गर्न माग गरेका छन्। लामो समयदेखि लकडाउन भए पनि समस्या समाधान नभएको भन्दै दाङका व्यवसायीहरुले यस्तो माग गरेका हुन्। दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जुम मिटिङमा उनीहरुले यस्तो बताएका हुन्।


यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्। पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार (पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन) उपज सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।
  • नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भएको थियो।
  • कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ।भिजिट भिसा कति समयसम्मका लागि नवीकरण हुन्छ भनेर मिति भने खुलाइएको छैन।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘शुभेच्छुक संस्था समन्वय’ विभाग विस्तार गरेका छन् उनले बिहीबार बेलुकी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको विभाग विस्तार गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
  • अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट शुक्रबार राजीनामा दिएका छन्।राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ। उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन्।
  • आधा वर्ष लामो पौंठेजोरीपछि नेकपा पुरानै ठाउँमा फर्किएको टिप्पणी हुन थालेको छ । पार्टी सचिवालयको बैठकले राष्ट्रियसभाको रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेपछि नेकपा फागुन १४ मै फर्किएको नेकपाका नेताहरूको दाबी छ ।
  • सत्तारूढ नेकपाको सचिवालयको बिहीवार राष्ट्रिय सभामा नेता वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिमण्डल पुनर्गठन र नयाँ अर्थमन्त्रीको चर्चा चुलिएको छ। सरकारले शुक्रवार नै नेकपा सचिवालयको निर्णयानुरूप गौतमको नाम राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने चर्चा चलेको थियो। तर अपराह्ण बसेको मन्त्रिपरिषद्को बैठकले त्यससम्बन्धी कुनै निर्णय नगरेको विवरणहरू आएका छन्।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न महाधिवेशनको निश्पक्षतामा नै प्रश्न उठेको भन्दै सभापति शेरबहादुर देउवासँग वार कि पार गर्ने तयारी गरेको छ। पार्टीमा सभापतिको स्वच्छचारिताले सीमा नाघेको भन्दै नेताहरूले अब चुप बस्न नहुने निश्कर्ष निकालेका हुन।


यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो। निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।
  • भदौ १४ गते बसेको मन्त्रिपरिषद्ले चैत १६ गते अगाडि सिपिङ भइसकेको मरिच र केराउ आयात गर्न स्वीकृति दिए पनि निकै ढिलो भएको खुलेको छ। पाँच महिना बन्दरगाहमा रोकिँदा कुहिसकेको मरिच र केराउ सरकारले आयात गर्न अनुमति दिए पनि त्यस्ता सामग्री कामै नलाग्‍ने स्थितिमा पुगेको हो। विदेशी मुद्रा बाहिरिन रोक्न भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्ले मरिच र केराउनसँगै मदिरा, छकडा र महंगा गाडी आयात रोकेको थियो।
  • नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् । यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए। 
  • वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) बुझाउनु पर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'नो अब्जेक्सन लेटर' नेपाली राजदूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो। 
  • रौतहटको माधवनारायणस्थित नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेकामा नरेश राउत पटेल र बालकुमार पटेल छन्। पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।
  • कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी मोहिनप्रसाद जोशीले बताए। अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश दिएकाे छ।



यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ।नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो।
  • शिक्षा मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन तथा होम स्कुलिङकोबाट भएको पठनपाठनलाई शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिएको छ। अहिलेको पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ। यससँगै सरकारले स्थानीय तहको अनुमति लिएर निजी विद्यालयलाई शुल्क उठाउन बाटो खुला गरिदिएको छ।
  • राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा‍.डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाउनुभयो।


विविध :

  • नेपाल प्रहरीले प्रदेश र स्थानीय तहबाट बजेट पाउन थालेपछि पूर्वाधार विकासमा केही सुधार गरेको छ। स्रोतसाधनको अभाव झेल्दै आएको प्रहरीले यो वर्ष ३९ वटा नयाँ भवन र ९२ वटा ब्यारेक बनाउने भएको छ।  
  • नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको 'वास्तविक उचाइ यकिन गरिसकेको' अधिकारीहरूले बताएका छन्। तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र 'प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिने' उनीहरूको भनाइ छ।
  • असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ। मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ। यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन्।
  • चितवनमा युरिया मलको हाहाकार भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको छ। जिल्ला मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति चितवनको बुधबार बसेको बैठकले जिल्लामा थप मल आपूर्तिको लागि सरकारसँग पाँचसय मेट्रिक टन मलको माग गरेको हो। 

बाढी/पहिरो अपडेट :

  • बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए। 
  • सेनाको हेलिकप्टरमा बाढीपहिरोपीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा मौसम खराब भएपछि पोखरा फर्किएका छन्।
  • नेपाली कांग्रेसले बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजी खोलामा गएको बाढीपहिरोको घटना प्रति दुःख व्यक्त गरेको छ। सभापति शेरबहादुर देउवाले वडा नं. ७, ८ र ९ मा बुधबार राति गएको बाढीपहिरोबाट ११ जना मृत्यु, दुई दर्जन भन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
  • बुधबार राति गएको बाढीले क्षति पुऱ्याएको स्थलगत निरीक्षणमा गृहमन्त्री रामबहादुर थापा पुगेका छन्।नेपाली सेनाको हेलिकाेप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले भुजीखोलामा आएको भीषण बाढीले पुऱ्याएको क्षतिबारे स्थलगत जानकारी लिएको थियो। यस टोलीले त्रिपाल, टेन्ट, म्याटलगायतका राहतका सामग्रीसमेत वितरण गरेको छ। 





पुल्चोक घटना :

  • उपत्यकामा जारी निषधाज्ञा अवज्ञा गर्दै बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गरिएपछि युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा केही प्रदर्शनकारी, पत्रकार सहित ४ प्रहरी जवान घाइते भएका थिए।
  • पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई आक्रोशित भिडले आक्रमण गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। आक्रमणमा पर्ने जवान घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए।
  • एकातिर संक्रमण नियन्त्रणका लागि आममानिसलाई घरबाहिर निस्कन दिइएको छैन भने अर्कातिर रथ सञ्चालनका लागि भिड जम्मा हुँदा पनि प्रशासनले सुइको नपाउनु वा स‌ंयोजन हुन नसक्नु स्वयं प्रशासनकै लापबाही र हेलचेक्राइँ मानिएको छ।

सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक