आज कोरोनाको पछिल्लो वस्तुस्थिति, मत्स्येन्द्रनाथको क्षमा पूजा, मन्त्री खतिवडाद्वारा राजीनामा, वैकल्पिक विधिबाट भएको पठनपाठनलाई औपचारिक मान्यता, साउदी अरेबियाका 'नारकीय' हिरासतमा हजारौं अफ्रिकी आप्रवासी, भारतमा ‘पब्जी’ बन्द, ‘फौजी’ आउँदै लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
शुक्रबार १,३५९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४,२३६ पुगेको छ भने मृत्यु हुनेको संख्या २७१ पुगेको छ।
हालसम्म नेपालमा २५,५६१ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : १३,६३८ => New Recovered : १,३५४
सम्बन्धित :
कोरोना रोकथाम सम्बन्धित निर्णयहरू :
'रातो मत्स्येन्द्रनाथको जात्रा' अपडेट :
बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो।
सम्बन्धित :
शिक्षा मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन तथा होम स्कुलिङकोबाट भएको पठनपाठनलाई शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिएको छ। अहिलेको पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ। यससँगै सरकारले स्थानीय तहको अनुमति लिएर निजी विद्यालयलाई शुल्क उठाउन बाटो खुला गरिदिएको छ।
कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी मोहिनप्रसाद जोशीले बताए।
अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश दिएकाे छ।
अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ। उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन्।
सम्बन्धित :
४ जनाको मृत्यु तथा २४ जना बेपत्ता हुने गरी बागलुङको ढोरपाटन नगरपालिकास्थित बोबाङमा आएको बाढी-पहिरोप्रति नेपाली कांग्रेस संसदीय दल गण्डकीले शोक व्यक्त गर्दै राहत वितरण र खोजीकार्यमा जुट्न आग्रह गरेको छ।
ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण १५ दिने शिशुसहित २४ जना बेपत्ता छन।
सम्बन्धित :
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका हुन्।
सम्बन्धित :
गएको अढाइ महिनामा तीन पटक गरेर नेपाल प्रवेश गरेका सलहको प्रकोप "यस वर्षका लागि अब भने टरेको" अधिकारीहरूले बताएका छन्। साउन अन्तिमदेखि नेपालका कुनै पनि भागमा सलहको बगाल देखिएको विवरण आएको छैन।
प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँका अनुसार गत साउन पहिलो सातातिर चिनियाँ अधिकारीहरूले नेपालको बाटो हुँदै सलह तिब्बतमा पुगेको जानकारी गराएका थिए।
अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६,००० अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ।
फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन्।
गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ।
ताप्लेजुङकी २६ वर्षीया वर्षीया चन्द्रकला लाम्गादे ज्याभलिन थ्रोकी राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन्।
उनी अहिले भौतिक आक्रमणमा परेर दमकस्थित अस्पतालमा उपचार गराउँदै छिन्। जातीय भेदभावका कारण आफूमाथि आक्रमण भएको उनको दाबी छ।
बेइरुतमा रहेका खोजकर्ताहरूले एक महिनाअघि त्यहाँ भएको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने सङ्केत पाएको बताएका छन्।
बुधवारदेखि लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए।
कोरोना भाइरसको संक्रमणको प्रभावकारी नियन्त्रण भएको भनिएको न्यजिल्यान्डमा मेको अन्तिमपछि पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार अकल्यान्ड अस्पतालमा मृत्यु भएको छ । उनको केही दिनदेखि सघन उपचार कक्षमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्वकै सम्पन्न राष्ट्रहरुमध्येको एक साउदी अरेबियाले हजारौं अफ्रिकी आप्रवासीहरुलाई कोभिड-१९ नियन्त्रणको प्रयास भन्दै जघन्य अवस्थामा थुनिएका छन्।
ले गरेको अनुसन्धानका क्रममा उक्त हिरासतमा रहेका आप्रवासीले मोबाइलबाट पठाएका तस्बिरहरुमा दर्जनौं पुरुषहरुलाई दयनीय अवस्थामा एउटा सानो बन्द कोठामा राखिएको देखिन्छ। अरबको गर्मीमा कमिजविहीन देखिएका ती पुरुषहरुलाई खाँदेर लाइनबद्ध राखेको देखिन्छ।
संयुक्त राज्य अमेरिकाको प्रहरीले पोर्टल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा चलाइएको गोली व्यक्ति पक्राउ गर्ने क्रममा दाबी गरेको छ।
यसअघि पोर्टल्यान्डमा 'ब्ल्याक लाइफ म्याटर्स' का प्रदर्शनकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबीच भएको झडपमा गोली चलाउने ४० वर्षीय माइक रेनोहीमाथि अनुसन्धान भइरहेको थियो।
केही दिनअघि पब्जी लगायतका ११८ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतले अब 'फौजी' नामको मल्टीप्लेयर एक्सन गेम लन्च गर्ने भएकाे छ। मल्टिप्लेयर एक्सन गेम फौजीलाई अभिनेता अक्षय कुमारले प्रवद्र्धन गर्ने बताइएको छ।
पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि समय मागेका छन्।
‘द इन्डियन एक्सप्रेस’ अखबारमा प्रकाशित समाचारअनुसार दुवै नेताहरु अहिले सांघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि रुसको मस्कोमा छन्। अखबारले चिनियाँ रक्षामन्त्रीले शुक्रबारका लागि छलफल गर्ने पहल गरेको उल्लेख छ।
हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण देखिएपछि 'ब्याटम्यान' सुटिङ रोकिएको छ। फिल्म निर्माण कम्पनी वार्नर ब्रदरले प्रोडक्सन टिमकै एकजना आइसोलेसनमा बस्न गएको बताएका छन्।