आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा, विद्यालयको पाठ्यक्रममा फिल्मलाई समावेश गर्न प्रस्ताव, जापानी प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा, बाइडेनले जिते अमेरिकी सपना 'ध्वस्त' हुने ट्रम्पको चेतावनी, बाढीका कारण अफगानिस्तानमा १२० जनाको मृत्यु लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
शुक्रबार ९२७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६,४५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ।
हालसम्म नेपालमा २०,२४२ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ६,५८,११० => क्वारेन्टाइनमा : ८,९३९
सम्बन्धित :
कोरोना नियन्त्रण सम्बन्धित निणर्यहरू :
चलचित्र बिकास बोर्डले विद्यालय र माध्यमिकस्तरमा फिल्मसम्बन्धी पढाइ संचालन गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रसँग छलफल अगाडि बढाएको छ। र, यसमा केन्द्र सकारात्मक देखिएको पनि बोर्डले दावी गरेको छ।
रौतहटस्थित हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको छ।
कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापती पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन्। उनीहरूको पीसीआर रिपोर्ट आउन बाँकी छ।
सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदाले यस्तो प्रावधान समेटेको हो।
डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ।
१३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ। कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ।
स्वास्थ्यमा समस्या देखिएका कारण बताउँदै जापानका प्रधानमन्त्री सिन्जो आबेले आज राजीनामा दिएका छन् । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।
भारतीय प्रहरीले केही महिनाअघि राजधानी दिल्लीमा भएका धार्मिक दङ्गाका क्रममा "गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन" गरेको आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले लगाएको छ।
उक्त संस्थाले आफ्नो प्रतिवेदनमा भारतीय प्रहरीले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको, हिरासतमा लिइएका व्यक्तिहरूलाई यातना दिएको र कुनैकुनै घटनामा हिन्दूवादी दङ्गाकारीहरूको साथ लागेर दङ्गामा सहभागी समेत भएको जस्ता कुराहरू उल्लेख गरेको हो।
फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम लागु गरिएको छ। कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएपछि राजधानी पेरिस र त्यससँग जोडिएका अधिकांश क्षेत्रहरुमा सार्वजनिक स्थलहरुमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम लागु गरिएको हो।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना 'ध्वस्त' पार्ने चेतावनी दिएका छन्।
रिपब्लिकन कन्भेन्सनको अन्तिम रात सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ड्रेमोक्रेटिक उमेदवार बाइडेनलाई 'अमेरिकी महानताको विनाशकर्ता' को संज्ञा दिएका छन्।
युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ।
कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ। भिडियोबारे प्राप्त उजुरी र आफैँले गरेको मूल्यांकनका आधारमा ती भिडियो हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ।
अफगानिस्तानमा हालैका दिनहरूमा आएको बाढीका कारण एक सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भीषण बाढी आएको र सो बाढीमा परी एक सय २० जनाको मृत्यु भएको र अरू एक सय ५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।