मनोहर पारिकर इन्स्टिच्युटको दक्षिण एशियाली सम्मेलन सम्पन्न

काठमाडौं । मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स एण्ड एनालाइसिसको १४औं दक्षिण एशियाली सम्मेलन सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित दुईदिने सम्मेलन बुधवार सम्पन्न भएको हो । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष सुनिल केसी वक्ताको रूपमा सहभागी भए । सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष केसीले ‘बीबीआईएन तथा हरित ऊर्जा : व्यापारको अवसर र चुनौती’ विषयमा आफ्ना धारणा राखेका थिए । एआईडीआईएका संस्थापक प्रमुख समेत रहेका केसीले बीबीआईएन क्षेत्रमा सम्मिलित चार राष्ट्रमध्ये भुटानबाहेक बंगलादेश, भारत र नेपालले ऊर्जा अभावको समस्या भोगिरहेको भन्दै आगामी दिनमा ऊर्जा संकटबाट जोगिन जलविद्युत्को विकास अनिवार्य रहेको बताए । ऊर्जाको बढ्दो माग पूर्तिका लागि वातावरणीय तथा आर्थिक दृष्टिकोणले समेत जलविद्युत् प्रभावकारी रहेको उनको भनाइ थियो । यस क्षेत्रका मुलुकहरूबीच आपसी सहयोग, सहकार्य तथा ऐक्यबद्धता हुनुपर्नेमा जोड दिँदै उपाध्यक्ष केसीले आगामी दिनमा भारत, बंगलादेश लगायतका सरकार तथा निजीक्षेत्रलाई नेपालको जलविद्युत् परियोजनामा लगानी गर्न आग्रह गरे । ऊर्जाको संकट समाधानका लागि जलविद्युत्को विकास र अन्तरदेशीय प्रसारण लाइनको विस्तार गर्नुपर्नेमा उनले जोड दिए । साथै अन्तरदेशीय ऊर्जा व्यापारलाई प्राथमिकतामा राखेर नीतिहरू तय गरिनुपर्ने उनले बताए । त्यसका लागि यस क्षेत्रका सबै राष्ट्रहरूको सहकार्य र लगानीको खाँचो उनले औंल्याए ।