आज कोरोनाको पछिल्लो वस्तुस्थिति, नेकपामा मन्त्रीका लागि 'लविङ' शुरु, सातै प्रदेशमा भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि बजेट निकासा,पर्यटनमन्त्रीको एक वर्ष पुरा, थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक समूहमाथि प्रतिबन्ध लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
मंगलबार ८५५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३,५३३ पुगेको छ भने मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
हालसम्म नेपालमा १९,११९ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ६,२१,९९९ => क्वारेन्टाइनमा : १०,४९३
- नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोश भ्यान्डिलियरले बताएका छन्। केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।
सम्बन्धित :
- नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोश भ्यान्डिलियरले बताएका छन्। केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।
- पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३१३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ।
- कोरोना संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना मंगलबार बिहान मृत्यु भएको छ। उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भएको हो।
- अहिले देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन्। तीमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर सरकारले कोभिड संक्रमितको उपचारका लागि छुट्याएको छ। तर, ती सञ्चालन गर्ने पर्याप्त जनशक्ति नभएको बताइएको छ ।
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले तेस्रो लेभलको उत्कृष्ट कोभिड अस्पतालको रूपमा घोषणा गरेको छ। तर, कमजोर व्यवस्थापनका कारण यहाँ काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले असुरक्षित महसुस गरेको बताइरहेका छन्। कोरोना संक्रमणबाट बच्न आवश्यक प्राथमिक सुरक्षा सामग्री पञ्जा, मास्कसमेत अभाव रहेको भन्दै स्टाफ नर्सहरूले आन्दोलन नै थालेका छन्।
कोरोना नियन्त्रणका लागि भएका सरकारी निर्णयहरू :
- उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ। मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन्।
- सरकारले प्रत्येक प्रदेशमा २-२ जिल्ला छनोट गरेर ४-४ वटा भेन्टिलेटर र १०-१० वटा आइसीयू बेड निर्माण गर्नका लागि २-२ करोड बजेट निकासा गरेको छ। ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी सरकारको रहेको छ। साथै आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको बताइएको छ।
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोभिड– १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका छन्। रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समूहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको हो।
- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शय्याको आइसोलेसन तयार गर्न पदाधिकारीलाई निर्देशन गरेका छन्। बिरामीहरूले प्रभावकारी उपचार नपाएको र संक्रमितहरू घरघरमै बस्न बाध्य भएको गुनासो बढेपछि मुख्यमन्त्री राईले मंगलबार बिपीका पदाधिकारीहरू उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई मन्त्रालयमा बोलाएर पाँच सय शय्याको आइसोलेसन तुरुन्त बनाउन निर्देशन दिएका हुन्।
- निषेधाज्ञाको अवस्थामा सर्वधारण जनतालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न टोल–टोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको भर्चुअल बैठकले साना पसलहरु खोल्ने व्यवस्था गरि एकै पल्ट भिड हुने स्थितिलाई अन्त्य गर्न निर्देशन दिएको हो।
- पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका स्वीकृत गरेको छ। मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो। मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको छ।
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ। कति संख्यामा र कुन मापदण्डका आधारमा मन्त्री हेरफेर गर्ने भन्ने कार्यदल प्रतिवेदनमा यकिन किटान नभए पनि कार्यदल प्रतिवेदनअनुसार विवाद टुंगिएलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तयार भएका छन्।
सम्बन्धित :
- विवाद समाधान गर्न गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमाथि छलफल गर्न नेकपाले भदौ १३ गते सचिवालय बैठक बोलाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन्। उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा डा. उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरिएको छ। बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी कोइरालालाई सदस्यमा नियुक्त गरिएको हो। कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन्।
राजनीतिक सहयात्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछीको ‘विशिष्ठ परिस्थिति’ मा २०७६ साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न पुगेका योगेशकुमार भट्टराईले आफ्नो एक वर्षे कार्यकालमा कोभिड १९ का कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्।
उड्डयन, पर्यटन र संस्कृति हेर्ने मन्त्रालयको एक आर्थिक वर्षमा भए/गरेका गतिविघि समेटेर तयार पारिएको ‘वार्षिक प्रगति पुस्तिका’ सार्वजनिक गर्दै मंगलबार पर्यटन मन्त्री भट्टराईले भर्खरै सकिएको आर्थिक वर्ष ०७६/७७ मा प्राप्त २१ अर्ब रुपैयाँ बजेटको झन्डै ५९ प्रतिशत मात्रै खर्च गरेर चित्त बुझाउनु परेको बताए ।
सोनिया गान्धी अर्को व्यवस्था नहुँदासम्म कंग्रेस पार्टीकी अन्तरिम अध्यक्ष बन्न तयार भएकी छिन्। कंग्रेस कार्यसमितिले सोमबार अन्तरिम अध्यक्षको प्रस्ताव राखेपछि उनले स्विकारेकी हुन्। कंग्रेस नेता वेणुगोपाल र रणदीपले कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा सोनियालाई अन्तरिम अध्यक्षको रूपमा प्रस्ताव गरेको भारतीय मिडियालाई जानकारी दिएका छन्।
भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले हतारमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउन नहुने बताएका छन्। कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुराको सुनिश्चित नगरी प्रयोगमा ल्याउन नहुने उनले बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण रुपमा परीक्षण नहुँदै खोप प्रयोगमा ल्याउन दबाब दिएको बताइएको छ।
फेसबुकले थाइल्यान्डको राजसंस्थाको आलोचना गर्ने समूहलाई प्रतिबन्ध लगाएको छ। थाइ सरकारले फेसबुकलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले उक्त समूहलाई प्रतिबन्ध लगाएको हो।
फेसबुकले बैंककले प्रतिबन्ध गर्न दबाब दिँदै कानुनी उपचार खोज्ने बताएपछि प्रतिबन्ध गरेको बीबीसीलाई बताएको छ।