छोटकरीमा यस हप्ता : श्रावण ३२ गतेदेखि भाद्र ०६ गतेसम्म (राष्ट्रियतर्फ)

यस हप्ता (श्रावण ३२- भाद्र ०६ गते) भित्र राष्ट्रियस्तरमामा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म २६,०१९ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ३१,११७

पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण १०२ जनाको मृत्यु भएकोमा यस शनिबार १४६

पुगेको छ।

हालसम्म नेपालमा १८,३५० जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् भने ११,६५८

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका थिए। कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका थिए।
  • कोडिभ-१९ का कारण विदेशमा विभिन्‍न ठाउँमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत दैनिक ५ सयको संख्या नबढाइ ल्याउने निर्णय सरकारले गरेको थियो। तर, कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन लगाएकाले केही दिनका लागि उद्धार उडान पनि रोकिएको बताइएको थियो
  • कोरोना भाइरस फैलिन नदिनप्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको थियो। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेका थिए।
  • सुरक्षाकर्मीहरूमा धमाधम कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि नेपाल प्रहरीले कतिपय सुरक्षाकर्मीलाई अन्य क्षेत्रको भन्दा फरक ढाँचाको "वर्क फ्रम होम" सुविधा दिन सुरु गरेको अधिकारीहरूले बताएका थिए। तर शान्तिसुरक्षा कायम गर्न निरन्तर खटिनुपर्ने भएकाले अन्य क्षेत्रको जस्तो नभई प्रहरीले केहीलाई घरबाटै सोझै कार्यस्थलमा जाने र केहीलाई घरबाटै काम गर्ने सुविधा दिइएको थियो।
  • सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको थियो।सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ । धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेका छैनन्।
  • कोभिड-१९ का कारण सर्वोच्च अदालतलगायतका सबै अदालतले सेवा कटौती गरेका छन्। अत्यावश्यक प्रकृतिका विषयमात्र अदालतले हेर्ने गरेको थियो। अदालतमा भिडभाड हुँदा कोरोनाको संक्रमण बढ्ने भन्दै सर्वोच्च अदालतसहितका अदालतहरुले सेवा कटौती गर्नुपरेको बताएका थिए।
  • मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले भदौ १६ सम्म सार्वजनिक यातायात नचल्ने निर्णय गरेकाले हदम्याद, म्याद, तारिखमा उपस्थित हुनुपर्ने अवस्थाका सेवाग्राहीलाई भदौं १६ गतेदेखि बाटाको म्यादबाहेक ३० दिनभित्र उपस्थित भए हुने सूचना जारी गरेको थियो।
  • सरकारले कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने बताएको थियो। कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो।
  • काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्वसावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीनवटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताएका थिए।
  • होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको थियो। टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ। 
  • टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको थियो। नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो।
  • पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको थियो। कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको थियो।
  • काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लासहित बिहीवारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको थियो। सङ्घीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा उल्लेख वृद्धि देखिएको छ।
  • संक्रमितहरु आइसोलेसनमा बस्दा समस्या हुन सक्ने हुन्छ, खानपिनमा पनि भनेजस्तो नपाइन सक्ने भएकाले आइसोलेसनमा जे भेटिन्छ त्यसैलाई मीठो मानेर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको थियो। 
  • सरकारले कोरोना संक्रमण रोकथामका लागि हरेक प्रदेशमा एक उच्चस्तरीय समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको थियो। समितिले प्रदेशमा पुगी त्यहाँका अस्पताल, स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालासँग समन्वय गरी ‌संक्रमितहरुको व्यवस्थापन एवं कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सघाउने छ।
  • निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको थियो।
  • सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ। विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने थियो। यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन्। यसमा खाना खाजाको खर्च पनि जोडिएको छ।
  • पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको थियो। लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको गर्दै काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय रहेको छ ।
  • सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको थियो। सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको छ। पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको हो।
  • सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको थियो। त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटलको क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको थियो। तर, नेपालमा आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने बताएको छ । सात दिन काठमाडौंमा होटल क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । त्यसपछि १४ दिन घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्ने र त्यसको अनुगमन स्थानीय निकायले गर्ने सरकारले निर्णय गरेको हो।
  • सरकारले कोरोना भारइसको पिसिआर परीक्षणको लागि हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको बताएको थियो। हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ। सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।
  • सरकारले क्‍वारेन्टिन व्यवस्थानका लागि एकिकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो।क्‍वारेन्टिनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। उक्त क्‍वारेन्टिनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसवापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ
  • प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको हो।
  • सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।
  • नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्दै कोरोना भाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्ने बताएका थिए। रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउने बताइएको छ।


यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • पार्टीको आन्तरिक विवाद समाधानको मस्यौदा बनाउन दुई अध्यक्षको पहलमा गठित कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल गरेर अगाडि बढाउन तयार भएपछि नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ओली र दाहालले ६ सदस्यीय कार्यदल बनाएका थिए। 
  • अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्दै आलोचना भए पनि सांसदहरुलाई नयाँ लोग प्रदान गरिएको थियो। स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न भए पनि लोगो ग्रहण गरिएको सांसदहरुले बताएका थिए।
  • सोमबार बसेको ‘नेपाल–भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) को बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको गत्यावरोध अन्त्य गर्ने विषयमा आज पनि छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन–चारदिनभित्रै निकास निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी रहेको थियो।
  • ईजरायल र नेपालबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशआज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्वन्धी सम्झौता भएको छ। यो सम्झौतासँगै अब कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु पर्दैन।
  • आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 


यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको थियो। सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेको बताइएको हो।
  • सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसविच महेश दाहाललाई नियुक्त गरेको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दाहाललाई नियुक्त गर्ने निणृय भएको हो। बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो।
  • निर्वाचन आयोगले ‘नेकपा एमाले’ नामको नयाँ दल दर्ता गरेको थियो। खाली रहेको नेकपा एमाले नामको दल दर्ता गराउन १२ असारमा निवेदन परेको थियो। नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि नेकपाभित्र तरंग पैदा भएको थियो। 
  • कोरोनाका कारण महाधिवेशन हुन नसक्ने अवस्था भएको बताउँदै नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थपिएको थियो। नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदै थियो । ६ महिना थपिएपछि फागुनसम्मका लागि वर्तमान कार्यसमितिले काम गर्नेछ ।
  • सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। यो आदेशसँगै सरकारले नै तोकेको कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीले काम गर्न नपाउने भएकी छन्। त्यसो हुँदा यसअघिकै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले निरन्तर काम गर्न पाउनेछन्।
  • सरकारको आय व्ययको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयले क्रियाकलापमा आधारित खर्चको विवरण राख्ने लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम) सुरुवात गरेको छ। बिहीबारदेखि तीनै तहका सरकारले गर्ने खर्च यही लेखा प्रणालीमा विवरण राखिने भएको हो।
  • सीमा सुरक्षा मात्र हेर्ने जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले तराईका आठ जिल्लामा रिजर्भ गण स्थापना गरेको छ। यसअघि भन्सार, राजस्व तथा औद्योगिक गुल्ममा खटाइएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाइएको हो। झापा, सुनसरी, महोत्तरी, बारा, कपिलवस्तु, बाँके, कैलाली र दार्चुलामा रिजर्भ गण स्थापना भएको हो। 
  • नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा सेयर वृद्धि गर्ने भएको छ। आईएफसी विश्व बैंक समुहअन्तर्गत रहेका ६ वटामध्ये एक निकाय हो। यसले खासगरी विश्वभर निजी क्षेत्रमा ऋण लगानी प्रवाह गर्छ।
  • सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ। मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ। यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
  • सरकारले सोसक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट २३ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ। यस्तै सरकारले नर्वे सरकारले दिने भनेको ४ अर्ब १८ करोड बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।




यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा प्रकाशन गरेको थियो। यसवर्ष सार्वजनिक गरिएको नतिजामा जिपिएको विवरण खुलाइएको छैन्। पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिएको ( कोभिड–१९) को संक्रमण बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि सबै कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। सबै कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा बस्ने र अनलाइनबाट काम गर्न मिल्ने भए सोही अनुसार गर्ने विश्वविद्यालयले आइतबार गरेको निर्णयमा उल्लेख छ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले न्यूनतम ६ महिनाको कोभिड- १९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक साताभित्र सार्वजनिक गर्न सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका थिए। मन्त्री पोखरेलले कोरोना महामारीको सामना गरेको ५–६ महिना बितिसकेको र यस अवधिमा सबै विश्वविद्यालयले आफ्ना विद्यार्थी ट्रयाकिङ गरिसकेको हुनुपर्ने बताए। यसैगरी उनले इन्टरनेट भएन, सबै विद्यार्थीको पहुँचमा पुग्न सकिएन, विद्युत् भएनजस्ता विषय बैठकमा नराख्न पनि अनुरोध गरेका थिए।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको थियो।


विविध :

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरेले बताएका थिए। उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काव्य उनको चर्चित पुस्तक हो।
  • राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानसहित बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। घिमिरेको एक सय एक वर्षको उमेरमा आफ्नै निवासमा मंगलबार साँझ निधन भएकाे थियाे। बुधबार नेपाली सेनाले अन्तिम सलामी अर्पण गरेर घिमिरेको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको हो। 
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ। 
  • अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने सम्झौता भएको थियो। एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन्।



बाढी/पहिरो वितण्डा :

  • कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको थियो भने १६ जना बेपत्ता भएका छन्। बाढीले सबैभन्दा ठूलो क्षति सुदूरपश्चिम प्रदेशको अछाममा भएको थियो।
  • छामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको थियो। गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको थियो।
  • वैशाखयता मात्र नेपालमा चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन्। यस्तै, वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका सरकारले बताएको छ ।
  • साताअघिको लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये नौ अझै हराइरहेका छन्। सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखे पनि बेपत्ताहरु फेला पर्न सकेका छैनन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका झण्डै ५० जनाको सुरक्षाकर्मी टोली बेपत्ताको खोजीमा जुटिरहेको छ।

सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक