छोटकरीमा आज - २०७७ भाद्र ०४, बिहीबार

आज कोरोना संक्रमणको पछिल्लो वस्तुस्थिति, संक्रमण बढेसँगै देशका ४१ जिल्लामा निषेधाज्ञा जारी, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा, बाढी र पहिरोमा परी १४ जनाको मृत्यु, १६ बेपत्ता, ओबामा ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत, चार महिनादेखि कोरोनाबाट कसैको मृत्यु नभएको चीनको दाबी, पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



बिहीबार ७०७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९,६४५ पुगेको छ भने मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

हालसम्म नेपालमा १७,९६४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ५,६६,२२० => क्वारेन्टाइनमा : ११,७६८

सम्बन्धित :

  • पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ। यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन्। त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ।
  •  महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
  • उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
  • होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको छ। टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ। 
  • टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ। नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो।
  • पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ। कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।
  • काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लासहित बिहीवारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ। सङ्घीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा उल्लेख वृद्धि देखिएको छ।
  • संक्रमितहरु आइसोलेसनमा बस्दा समस्या हुन सक्ने हुन्छ, खानपिनमा पनि भनेजस्तो नपाइन सक्ने भएकाले आइसोलेसनमा जे भेटिन्छ त्यसैलाई मीठो मानेर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। 
  • कोरोनाको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जना कारबाहीमा परेका छन्। विनाकाम सडकमा निस्किएका उनीहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको हो।
  • सरकारले कोरोना संक्रमण रोकथामका लागि हरेक प्रदेशमा एक उच्चस्तरीय समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको छ। समितिले प्रदेशमा पुगी त्यहाँका अस्पताल, स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालासँग समन्वय गरी ‌संक्रमितहरुको व्यवस्थापन एवं कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सघाउने छ।
  • तनहुँमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणपश्चात् रिपोर्ट नेगेटिभ आउँदा पनि नजरबन्द गराई सामाजिक बहिष्कार गरिएको भन्दै स्वास्थ्यकर्मीहरूले कारबाहीको माग गरेका छन्। वडाध्यक्ष र टोल सुधार समिति अध्यक्षले सामाजिक बहिष्कार र नजरबन्द गरेको भन्दै स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएका हुन्। 
  • कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा चार दिन थप गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप ४ दिनका लागि थप गर्ने निर्णय गरेको हो।


नेकपा विवाद :

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको समस्या समाधानका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छ। बैठकमा कार्यदलका ६ जना सदस्य सहभागि रहेको वालुवाटार स्रोतले जनाएको छ।



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।  सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ। 



भिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने सम्झौता भएको छ।

एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन्।



सरकारको आय व्ययको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयले क्रियाकलापमा आधारित खर्चको विवरण राख्ने लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम) सुरुवात गरेको छ। बिहीबारदेखि तीनै तहका सरकारले गर्ने खर्च यही लेखा प्रणालीमा विवरण राखिने भएको छ।



कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन्। बाढीले सबैभन्दा ठूलो क्षति सुदूरपश्चिम प्रदेशको अछाममा भएको छ।



अमेरिकी चुनाव प्रसंग :

  • अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन्। डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई 'एक अर्को रियालिटी शो' का रुपमा लिएको आरोप लगाएका छन्।
  • सोमबारदेखि शुरु भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारको टिकट औपचारिक रुपमा प्रदान गरिएको छ। राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई आफ्नो 'रनिङ मेट' का रुपमा चयन गरेका हुन्। 
  • पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए। भिडिओमार्फत पठाइएको सन्देशमा ट्रम्पले ओभल अफिसलाई 'लथालिंग' बनाएको क्लिन्टनको टिप्पणी थियो।


चिनियाँ स्वास्थ्य अधिकारीले चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको जनाएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गरेका छन्।



भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसका विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई चियामा विष खुवाइपछि अचेत भएका छन्।

अचेत भएका ४४ वर्षीय नाभाल्नीको आईसीयूमा उपचार भइरहेको छ।

उनी राष्ट्रपति पुटिनका कडा आलोचकसमेत रहेको बताइएको छ।



भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ।

भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना भएका थिए। उनी अहिले पनि उपचाररत छन्।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक