आज कोरोना भाइरस सम्बन्धी पछिल्लो वस्तुस्थिति, उपत्यकासहित कोरोना संक्रमित बढेको जिल्लाहरूमा निषेधाज्ञा, राष्ट्रिय सम्मानसहित राष्ट्रकविको अन्त्येष्टि, पत्रकार महासंघको कार्यकाल ६ महिना थपियो, निर्वाचन आयोगले दर्ता गर्याे नेकपा एमाले नामकाे दल, आमिर खान फेरि पनि विवादमा, मालीमा सैनिक कू, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्। ,
बुधबार ६८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८,९३८ पुगेको छ भने मृत्यु हुनेको संख्या १२० पुगेको छ।
हालसम्म नेपालमा १७,७०० जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ५,५४,३८८ => क्वारेन्टाइनमा : १३,५७१
सम्बन्धित :
नक्सा सहितको नयाँ प्रतीक चिन्हको ब्याच पिन (लोगो) मा संरचनागत र साजसज्जा सम्बन्धी समस्या देखिएको बताउँदै सुधार र परिमार्जनका लागि फिर्ता पठाएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उक्त लोगो बनाउने जिम्मेवारी लिएको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले लोगो निर्माणमा भएका कमी कमजोरी स्वीकार गरेको छ।
राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानसहित बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। घिमिरेको एक सय एक वर्षको उमेरमा आफ्नै निवासमा मंगलबार साँझ निधन भएकाे थियाे। बुधबार नेपाली सेनाले अन्तिम सलामी अर्पण गरेर घिमिरेको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको हो।
कोरोनाका कारण महाधिवेशन हुन नसक्ने अवस्था भएको बताउँदै नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थपिएको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदै थियो । ६ महिना थपिएपछि फागुनसम्मका लागि वर्तमान कार्यसमितिले काम गर्नेछ ।
महासंघले आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि उचित राहतको व्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरूसँग माग गरेको छ।
सम्बन्धित :
नेपालको राष्ट्रिय झन्डा जलाएको र जातीयता भड्काएको अभियोगमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ।
मुख्य नाइके ग्याल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, लावाङ तामाङ, चलाखमान तामाङ, मंगोल बुद्ध भनिने अनोजकुमार तितुङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ, कमलबहादुर लामा तामाङलाई सिआइबीले पक्राउ गरेको हो। उनीहरूमध्ये रोजितकुमार तितुङ गायक भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सहित कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको कामकारवाहीको समीक्षा भएको बताइएको छ।
निर्वाचन आयोगले ‘नेकपा एमाले’ नामको नयाँ दल दर्ता गरेको छ। खाली रहेको नेकपा एमाले नामको दल दर्ता गराउन १२ असारमा निवेदन परेको थियो। नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि नेकपाभित्र तरंग पैदा भएको थियो।
डेमोक्र्याटिक पार्टीको सम्मेलनले जो बाइडनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टर तथा रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले जो बाइडनलाई समर्थन गरेका छन्।
फिल्म ‘लालसिंह चड्ढा’को सुटिङका क्रममा टर्कीका राष्ट्रपति रेसेप तैथ्यप अर्दोआनकी पत्नी एमिन अर्दोआनसँग भेट गरेपछि अभिनेता आमिर खान विवादमा तानिएका छन्।
टर्की भारतद्वारा जम्मु–कश्मीरको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध बोल्दै आएको छ।
मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ।
त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए।