आज कोरोना संक्रमणको वस्तुस्थिति, नेपालले चाहे कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्ने रूसी राजदूतको भनाइ, तीन सहसचिव राजदूतमा सिफारिस, अमेरिकामा पृथ्वीकै 'उच्चतम तापक्रम मापन', यौन उत्पीडनको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद, क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
सोमबार १,०१६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८,२५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
हालसम्म नेपालमा १७,५८० जना कोरोना संक्रमित निको भएका छन्।
सम्बन्धित :
नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्दै कोरोना भाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्ने बताएका छन्।
रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउने बताइएको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरेले बताएका छन्।
उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काव्य उनको चर्चित पुस्तक हो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको गत्यावरोध अन्त्य गर्ने विषयमा आज पनि छलफल भएको छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन–चारदिनभित्रै निकास निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी छ।
जलमग्न शहर :
नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा सेयर वृद्धि गर्ने भएको छ। आईएफसी विश्व बैंक समुहअन्तर्गत रहेका ६ वटामध्ये एक निकाय हो। यसले खासगरी विश्वभर निजी क्षेत्रमा ऋण लगानी प्रवाह गर्छ।
सम्बन्धित :
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेको बताइएको छ।
सम्बन्धित :
जातीय सद्भाव खलबल्याउने र्याप ‘देशद्रोही’ सार्वजनिक भएपछि प्रहरीले भिडियो खिच्ने छायांकारलाई पक्राउ गरेको छ।
राष्ट्रिय एकता र जातीय सद्भाव फैल्याउने र्याप सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको छ।
पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५४.४ डिग्री सेल्सीअस अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा आइतवार मापन गरिएको दाबी गरिएको छ।
त्यहाँ आउने साता अझै तापक्रम बढ्ने आंकलन गरिएको छ।
स्पेनका ८२ वर्षीय पूर्वराजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई ) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ। देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो।
भ्रष्टाचारसमन्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित घोषणा गरेका थिए।
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारी एलेक्ज्यान्डर युक चिङ मालाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। ती नातेदार पनि सीआईएका कर्मचारी रहेको बताइएको छ।
चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।
बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन उत्पीडन गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ।
बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ।
विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने बिरामीले उपचार खर्च आफैं व्यहोर्नु पर्ने भएको छ।
कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो।
अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन्।
नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि जो बाइडेनलाई औपचारिक रुपमा डेमोक्रेटिक उमेदवार घोषणा गर्नका लागि सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको आलोचना गरेकी हुन्।
सम्बन्धित :
क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन्।
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन्।