छोटकरीमा : श्रावण महिना (राष्ट्रिय)

यस महिना कोरोना एवं लकडाउनको स्थिति कस्तो रह्यो ? राजनीतिक, आर्थिक एवं न्यायिक क्षेत्रमा के-कस्ता निर्णयहरू भए ? साउन महिनाभरको सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।



कोरोना स्थिति विवरण :

पहिलो हप्ता :

श्रावण ०१ गतेसम्म १७,३४४ जनामा देखिएको कोरोना भाइरस बढेर श्रावण १० गतेसम्म १८,३७४ पुगेको थियो। 

श्रावण ०१ गतेसम्म कोरोना भाइरसका कारण ३९ जनाको मृत्यु भएकोमा श्रावण १० गतेसम्म ४५ पुगेको थियो।

दोस्रो हप्ता :

श्रावण १० गतेसम्म १८,३७४ जनामा देखिएको कोरोना भाइरस बढेर श्रावण १७ गतेसम्म २०,०८६ पुगेको थियो। 

श्रावण १० गतेसम्म कोरोना भाइरसका कारण ४५ जनाको मृत्यु भएकोमाश्रावण १७ गतेसम्म ५६ पुगेको थियो।

श्रावण १७ गतेसम्म नेपालमा १४,४९२ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने ११,५३३ जना क्वारेन्टाइनमा रहेका थिए।

तेस्रो हप्ता :

श्रावण १७ गतेसम्म २०,०८६ जनामा देखिएको कोरोना भाइरस बढेर श्रावण २४ गतेसम्म २२,५९२ पुगेको थियो। 

श्रावण १७ गतेसम्म कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएकोमा श्रावण २४ गतेसम्म ७३ पुगेको थियो।

श्रावण २४ गतेसम्म नेपालमा १६,३१३ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने १०,७९२ जना क्वारेन्टाइनमा रहेका थिए।

चौथो हप्ता :

श्रावण २४ गतेसम्म २२,५९२ जनामा देखिएको कोरोना भाइरस बढेर श्रावण ३१ गतेसम्म २६,०१९ पुगेको थियो। 

श्रावण २४ गतेसम्म कोरोना भाइरसका कारण ७३ जनाको मृत्यु भएकोमा श्रावण ३१ गतेसम्म १०२ पुगेको थियो।

श्रावण ३१ गतेसम्म नेपालमा १७२०१ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने १४,४४८

जना क्वारेन्टाइनमा रहेका थिए।



यस महिनाका राजनीतिक गतिविधिहरू :

पहिलो हप्ता :

  • राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपाली भएको र उनको जन्मभूमि भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए। 
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो। पत्‍नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्‍जन कोइरालालाई रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीश लगायतको विरोध सुरु भएको हो।

दोस्रो हप्ता :

  • निर्वाचन आयोगले सरिता गिरीको ठाउँमा समाजवादी पार्टीको सिफारिसमा लिलादेवी सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित गरेको थियो। 
  • सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैसला र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको थियो। पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका आदेशहरु विवादमा आएका थिए।
  • राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट भई गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका थिए।
  • उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका थिए। गत फाल्गुनमा उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।

तेस्रो हप्ता :

  • मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको थियो। भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ।
  • साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए । उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए।
  • प्रदेश नम्बर १ का सांसद रामकुमार राई ‘पासाङ’ले विवादका कारण लामो समयसम्म प्रदेशको नामाकरणमा हुन नसकेको बताएका थिए। ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्दा कसैलाई अन्यथा नहुने सांसद राईले बताए ।  
  • राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको थियो। बुधबारदेखि शुरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको थियो।
  • राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया शुरु भएको थियो। राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।
  • नयाँ कार्यकालको लागि निर्विरोधमा रुपमा राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका थिए।

चौथो हप्ता :

  • गृह मन्त्रालयले २५ साउनको मन्त्रीस्तरीय निर्णयबाट सातजना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको थियो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ, राजकुमार राईलाई रुकुम पूर्वको सिडिओको जिम्मेवारी दिएको हो। 
  • नेपाल-भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको थियो। लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल-भारतबीच सीमा विवादको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समेत समितिले निर्देशन दिएको थियो।
  • कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन्। डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले पार्टीमा आपसी तिक्तता मात्रै बढाएको आराेप लगाएका हुन्।नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ । Strip Map (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने खतरा भएकोले वार्ताबाट समस्या समाधान गर्ने सरकारको भनाइ छ ।
  • बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै नौ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको थियो। २० साउनमा भेट भएयता दुवै अध्यक्षबीच संवादविहीनता थियो।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका छन्। उक्त कार्यदलको नेतृत्व महासचिव विष्णु पौडेलले गर्नेछन्। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य तोकिएका थिए।
  • आज नेपाल-भारतबीच सीमा लगायतका विषयले तिक्तता बढिरहेका बेला दुई प्रधानमन्त्रीबीच शनिवार टेलिफोन सम्वाद भएको छ। भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा गरिएको सम्वादबारे दुवै देशको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् पुष्टि गरेका थिए।


यस महिनाका आर्थिक एवम् न्यायिक गतिविधिहरू :

पहिलो हप्ता :

  • आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको थियो। सरकारको आर्थिक नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ हरेक वर्ष मौद्रिक नीति सार्वजनिक हुन्छ।
  • गत आर्थिक वर्षको अन्त्यसम्म सरकारको कुल आन्तरिक ऋणमध्ये विकास ऋणपत्र तीन खर्ब ८९ अर्ब ९५ करोड, ट्रेजरी बिल २ खर्ब १५ अर्ब २२ करोड, नागरिक बचतपत्र ७ अर्ब ६४ करोड र वैदेशिक रोजगार बचतपत्र ४० करोड ५० लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको थियो। 
  • सरकारी निकायले चालु आर्थिक वर्ष कार्यालय सहयोगी र सवारी चालकबाहेक अन्य पदमा अस्थायी, ज्यालादारी वा करारमा थप आर्थिक दायित्व पर्ने गरी नयाँ नियुक्ती गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै कार्यक्रम खर्च शीर्षकबाट खर्च गर्ने गरी करारमा कर्मचारी राख्न नपाउने प्रावधान ल्याएको थियो
  • नेपालको डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरका कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको थियो। सन् २०१९ मा ४.६ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२० मा ६.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकको थियो ।
  • श्रीमती हत्यामा अदालतबाट दोषी ठहर भई ८ वर्ष ६ महिना जेल बसेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइराला रिहा भएकै दिन उनीविरुद्ध सरकार न्यायिक पुनरावलोकनमा गएको थियो। सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा बढी सजाय घटाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जाने निर्णय गरेको थियो।
  • प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड प्रहार गर्नेलाई कठोर सजाय दिन कानुन संशोधन गर्नुपर्ने बताएको थियो। पीडक निश्चित वर्ष जेल र निश्चित रकम जरिवाना तिरेर सामान्य जीवनमा फर्कन मिल्ने अवस्था उपयुक्त नभएको बताइएको थियो।
  • कारागारको परम्परागत शैलीलाई हटाउन राज्य व्यवस्था तथा सुशासन समितिले ‘कारागार विधेयक’मा खुला कारागारसम्बन्धी व्यवस्था समेट्ने भएको बताइएको थियो। विधेयकले कैदीबन्दीहरूका लागि विवाह र प्रजननको अधिकार एवं अस्पताल तथा स्वास्थ्यचौकी रहने लगायत प्रावधान समावेश गरेको थियो।

दोस्रो हप्ता :

  • नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोक्दै बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने नियम लागू गरेको थियो।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका एसपी दिल्लीराज विष्टसहित आठजना प्रहरीले सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो।
  • संघीय संसद् राष्ट्रिय सभा मातहतका संसदीय समिति गठन भएका छन् । राष्ट्रिय सभाका समितिमा सांसदहरूको दुई वर्षे कार्यावधि शुक्रबार पूरा भएपछि नयाँ गठन गरिएको थियो ।

तेस्रो हप्ता :

  • एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिएर उनीहरुको जिविकोपार्जनका लागि सहज वातावरण बनाउन संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको थियो। सरकारी तथ्यांक अनुसार २० जना एसिड पीडित छन्। जसमा १८ महिला र २ पुरुष रहेका छन्।
  • काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका थिए। 
  • नेपालको बजारमा सुनको भाउ पहिलोपटक लाख नाघ्दै प्रतितोला १०१,४०० रुपैयाँ कायम गर्न सफल भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आँकडा अनुसार सन् २०२० ज्यानुअरी १ तारिखमा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको थियो।
  • सर्वोच्च अदालतले कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भनी सफाइ दिएको छ। उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए।
  • ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।

चौथो हप्ता :

  • नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको थियो। सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो।
  • कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ। अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको थियो।
  • पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको थियो। यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको थियो ।
  • उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश(साउन ३२ गतेसम्मका लागि) जारी गरेको थियो।अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो ।
  • सर्वोच्च अदालतले सरकारी कार्यालयमा त्यसै थन्क्याएर राखिएका सवारीसाधनको तथ्यांक र व्यवस्थापनको कार्ययोजनासहितको अध्ययन–प्रतिवेदन ६ महिनाभित्र बुझाउन सरकारका नाममा आदेश जारी गरेको थियो।महालेखाले नयाँ सवारी खरीद नगर्न सुझाव दिएपनि सरकारले भने चालु आवमा सवारी साधन खरीदका लािग पौने एक अर्ब रूपैयाँ बजेट विनियाजन गरेको थियो।
  • कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरणका अत्यावश्यक निवेदनबाहेक सबैखालका मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको थियो। काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण फैलिएको र त्यसले जोखिम बढाएको भन्दै बारले नियमित मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको हो।


कोरोना केन्द्रित गतिविधिहरू :

पहिलो हप्ता :

  • नेपाल सरकारले चैतको दोस्रो साता सुरु भएको लकडाउन श्रावण ०६ गते राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो।
  • नेपाली कांग्रेसले कोरोना महामारीको संक्रमण रोकथाम नियन्त्रणका लागि लागु गरेको लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको थियो। आमजनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणकाबीच खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिमतर्फ समितिले चासो र चिन्ता रहेको जनाएको थियो।

दोस्रो हप्ता :

  • काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएका छन्।सरकारले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र उपत्यका भित्रन पाउने जनाएको थियो।
  • चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेको साता दिनपछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने लिखित प्रतिबद्धता जनाइएको थियो।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर 'इनफ इज इनफ' अभियानका सत्याग्रही ई:लाई भेटेका थिए । देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका थिए । इनफ इज इनफ समूहका युवाहरू करिब दुई हप्तादेखि पुन: कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पिसिआर परीक्षण गर्न माग गर्दै खाना–पानी नखाई सत्याग्रह बसीरहेका थिए। 

तेस्रो हप्ता :

  • कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको थियो। सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
  • सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब चार हजारमै आरटी–पिसिआर परीक्षण गर्ने भएको थियो। 
  • राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको थियो। सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल लगायत छन्।
  • जनस्वास्थ्य विज्ञहरूले मंगलबार सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका थिए। विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न एवं लकडाउनले पनि नपुगे कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सरकारलाई अनुरोध गरेको थियो।
  • लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पनि सँगसँगै बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे थियो। उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको थियो।
  • बिहीबार सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेका थिए। यस्तै, अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने तर जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने समेत बताएका छन्।
  • शुक्रबार सरकारले राजधानी काठमाण्डू उपत्यकाका अस्पतालमा कोभिड-१९ का बिरामीहरूलाई अलग्गै राखेर उपचार गर्नका लागि छुट्याइएका शय्याहरू लगभग भरिएकोले वैकल्पिक व्यवस्था आवश्यक रहेको यहाँका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निष्कर्ष निकालेको थियो।
  • सरकारकी कार्यालयहरूमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेको भन्दै शुक्रबार काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवाहरू १५ दिनका लागि बन्द गरिएको थियो। यो निर्णय २५ साउनदेखि ८ भदौसम्मका लागि लागु हुनेछ।
  • कोभिड- १९)को संक्रमणको खतरालाई मध्यनजर गर्दै मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको बताइएको छ। सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको बताइएको थियो।
  • कोरना कहरबीच चाडपर्व मनाउने प्रोटोकल पारित भएको बताउँदै घटीमा ६ लाख व्यक्तिको पिसिआर जाँच गरिने बताएको छ। तराईका जिल्लाहरूमा कडाइ गरिने, सीमाबाट हिँडेर आउनेलाई (१४ दिन) र हवाइजहाजबाट आउनेलाई (५ दिन) क्वारेन्टिनमा राखि पिसिआर टेष्ट गरिने व्यवस्था मिलाइएको समेत बताइएको थियो।
  • कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन्।सेवाग्राहीको भीडभाड कम गरी संक्रमणको जोखिम नियन्त्रण गर्न, विभिन्‍न जिल्ला तथा पालिकामा निषेधाज्ञा तथा बन्दाबन्दी जारी भएको भन्दै अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिने सर्वोच्च अदालतले जनाएको थियो। 
  • शनिबार सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको थियो। होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, आफुले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने लगायत छन्

चौथो हप्ता :

  • सोमबार समूदायस्तरमा कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि(भदौ १५ गतेसम्म) बन्द गर्ने निर्णय गरेका थिए।
  • सोमबार सरकारले बेड अभावको अवस्था सिर्जना हुन् सक्ने बताउँदै सबै निजी, सामुदायिक, सरकारी, गैरसरकारी अस्पतालहरूले आफ्नो अस्पतालमा २० प्रतिशत बेड कोभिड बिरामीबिरामीका लागि छुट्याउन सूचित गरेको थियो। 
  • मंगलबार सरकारले अर्को सूचना नआएसम्म शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै रहने बताएको थियो। त्यस्तै विद्यार्थी भर्ना तथा लामो दूरीका यातायात भदौ १५ गतेसम्म बन्द रहनेछन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको थियो। 
  • मंगलबार सरकारले कोभिड-१९ को संक्रमणका संक्रिय संक्रमित २०० भन्दा बढी रहेका जिल्ला र काठमाडौं उपत्यकाका जिल्लाका सरकारी तथा गैरसकारी संस्थाहरु, कार्यालयहरुले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको थियो।
  • मंगलबार सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको बताए।
  • बुधबार सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त संघसंस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारले अनुरोध गरेको थियो। यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय पनि सरकारले गरेको थियो।
  • बुधबार सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका थिए। सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा संचालनको वातावरण नबनाए व्यवसायी आन्दोलनमा जान बाध्य हुने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको थियो।
  • बिहीबार विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ। विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो। तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो।
  • बिहीबार कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बर्दियाले थप तीन दिन निषेधाज्ञा जारी गरेको थियो। गत २५ गतेबाट जारी भएको निषेधाज्ञालाई साउन ३२ गते राति १२ बजेसम्म थप गरेको हो।
  • बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो।बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ। 
  • बिहीबार सरकारले कोरोना परीक्षणका लागि स्वाब संलकन गराएका व्यक्तिहरु रिपोर्ट सार्वजनिक नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको थियो। स्वाब संकलन गर्न दिने तर रिपोर्ट नआउँदै केही नभएजस्तो गरेर सबैतिर हिँड्ने कार्य अनिवार्यरुपमा बन्द गर्न भनेको हो।
  • बिहीबार कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सरकारले नबेहोर्ने बताएको थियो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै सबै खर्च सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्ने जानकारी गराएको हो।
  • ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने गरेको आर्थिक सहायता सोहि अवधि (साउन ३२ गतेदेखि भदौं १५ गते)सम्म रद्द गरेको जनाइएको छ। कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ।
  • कोरोना संक्रमण बढ्दै गएको र न्यायाधीशका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गरेको छ। गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाई हुनुपर्ने रिटको दर्ता र सुनुवाई लगायत काम भने जारि रहने बताइएको छ।
  • जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिन मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितसँग भेटघाट तथा उठबस भएको पाँच दिनपछि मात्रै स्वाबको पिसिआर गराउन सुझाव दिएको छ। शरीरमा कोरोना भाइरस प्रवेश गरेको ५ दिनसम्म संक्रमण नदेखिने भएकाले यति दिनपछि मात्रै परीक्षण गराउनुपर्ने सल्लाह मन्त्रालयले दिएको हो। 


यस महिनाको शैक्षिक गतिविधिहरू :

पहिलो हप्ता :

  • कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका बताइएको थियो। राष्ट्रिय परीक्षा बोर्डले पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख थियो। 
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजसम्ममा सम्पन्‍न गरिसक्ने तयारी गरेको बताएको थियो। बोर्डले कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्ने बताइएको थियो।
  • प्याब्सन-एनप्याब्सन लगायत निजी तथा संस्थागत विद्यालयले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा ८ साउनदेखि चलाउने निर्णय गरेका थिए । प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा संचालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका थिए ।


दोस्रो हप्ता :

  • काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने जनाएको थियो।
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै नतिजा प्रकाशन गर्ने तयारि अन्तिम अवस्थामा पुगेको जनाएको थियो। जसअनुसार आगामी मंगलबार नतिजा प्रकाशन हुने बताइएको थियो
  • सरकारले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको थियो। शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन गरिएको भए त्यसलाई खाली गराइनेछ। शैक्षिक सत्र २०७६ को नजिता प्रकाशन, पाठ्यपुस्तक वितरण र भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत गरेको थियो।


तेस्रो हप्ता :

  • पछिल्ला दिनहरूमा राजधानीलगायत मुख्य सहरी क्षेत्रमा कोरोना संक्रमण बढेको कारण औंल्याउदै त्रिवि स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको थियो। मंगलबार विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको थियो।
  • बुधबार ‘मदन पुरस्कार–२०७६’ का लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ मनोनयनमा परेका थिए।
  • शुक्रबार सरकारले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल ‘फेस टु फेस पठनपाठन’ गराउन सम्भव नरहेको बताउँदै यसबीच विद्यार्थीलाई घरमै गएर पढाउने लगायतका विकल्पको खोजि भइरहेको बताएको थियो। सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न एवं पीसीआर परीक्षणका स्थानीय तहसँग समन्वय गर्न समेत आग्रह गरिएको थियो

चौथो हप्ता :

  • सोमबार त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको थियो। विश्वविद्यालयको व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएको हो। 
  • बुधबार सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी विद्यार्थी 'भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको थियो।
  • बिहिबार त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने बताएको थियो। यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो।

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक