कोरोना भाइरसविरुद्धको खोप

डा. रवीन्द्र पाण्डे

खोप भाइरसको निष्क्रिय रूप वा यसको जिन प्रोटिनबाट तयार गरिन्छ । खोप लगाएपछि स्वस्थ व्यक्तिको शरीरमा रोगसँग लड्ने एन्टिबडीको विकास हुन्छ । एकपटक एन्टिबडी सक्रिय भएपछि त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गरे पनि शरीरले त्यसलाई चिन्छ अनि नष्ट गर्दछ । एकपटक खोप लगाएपछि त्यसले आजीवन काम गर्न पनि सक्छ, छोटो अवधि काम गर्न पनि सक्छ । छोटो अवधिमात्र काम गर्ने खोप उत्पादन भयो भने बुस्टर डोज दिनुपर्ने हुन्छ ।
खोप निर्माणका लागि विभिन्न चरण हुन्छन् जस्तै, प्रयोगशालामा खोपको निर्माण, प्रिक्लिनिकल टेस्टको रूपमा जनावरमा परीक्षण र क्लिनिकल ट्रायल (परीक्षण) को रूपमा मान्छेमा परीक्षण ।
अहिले विश्वका करिब १५० प्रयोगशाला कोरोनाविरुद्धको खोप निर्माणका लागि अहोरात्र लागिपरेका छन् । त्यसमध्ये १८ वटा प्रयोगशाला क्लिनिकल ट्रायलको चरणमा पुगेका छन् । क्लिनिकल ट्रायलमा पनि तीन चरण हुन्छ । पहिलो चरणमा थोरै र स्वस्थ व्यक्तिमा गरेर खोप कति सुरक्षित तथा सहनयोग्य छ कि छैन भनेर अनुसन्धान गरिन्छ । यसका लागि थोरै स्वस्थ स्वयंसेवीमा परीक्षण गरिन्छ ।
दोस्रो चरणमा धेरै व्यक्तिमा र कन्ट्रोल ग्रुपमा (परीक्षण गर्ने व्यक्तिहरूलाई अन्य व्यक्तिसँग अलग राखेर ) गरिन्छ । यसबाट खोप कति प्रभावकारी छ तथा इम्युन रेस्पोन्स कति गर्छ भन्ने थाहा हुन्छ । यो चरणबाट खोपको मात्रा निर्धारण गरिन्छ । यसका लागि केही सयदेखि केही हजार व्यक्तिमा परीक्षण गरिन्छ ।
तेस्रो चरणमा खोपलाई विभिन्न वर्ग, भूगोल, रेस, उमेर आदिमा दशौँ हजार व्यक्तिमा परीक्षण गरिन्छ र उक्त भाइरसले वास्तविक काम गर्छ कि गर्दैन भनेर निधो गरिन्छ । यो चरण पार गर्न केही महिना लाग्छ । त्यसपछि खोपको बौद्धिक अधिकार कायम गरिन्छ ।
अन्त्यमा विभिन्न नियामक निकायको स्वीकृति लिएर ठूलो मात्रामा खोप उत्पादन गरेर बजारमा पु¥याइन्छ ।
खोपको वितरण
सन् २००० मा बिल तथा मेलिन्दा फाउन्डेसन र अन्य दाताबाट स्थापना गरिएको खोपको विश्वव्यापी सञ्जाल अर्थात् गाभी (ग्लोबल अलाइन्स अफ भ्याक्सिन एन्ड इम्मुनाइजेसन ) गैह्र नाफामूलक संस्थाले विश्वका झन्डै आधा बालबालिकालाई निःशुल्क खोपको व्यवस्था गरेको छ । खास गरेर एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका गरिब तथा विकासोन्मुख देशमा यो संस्थाले प्रभावकारी भूमिका खेलेको छ । यो संस्थाले खोप उत्पादक कम्पनीसँग समन्वय गरेर तेस्रो मुलुकमा अत्यन्तै सस्तो वा निःशुल्क खोपको वितरण गर्दछ । उदाहरणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बालबालिकालाई लगाउनुपर्ने ११ वटा खोपको मूल्य गाभीले सहयोग गरेका देशमा २८ डलरमा उपलब्ध गराएको छ भने ती खोपका लागि अमेरिकामा एक हजार एक सय डलर पर्दछ ।
खोपको विश्वव्यापी दौडमा सहभागी धेरै प्रयोगशालामध्ये बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान तथा खोप उत्पादक कम्पनी एस्ट्रेजेनेकाले दोस्रो चरणको परीक्षण सम्पन्न गरेर अहिले तेस्रो तथा अन्तिम चरणका लागि बेलायतमा १० हजार, अमेरिकामा २० हजार, दक्षिण अफ्रिकामा दुई हजार तथा ब्राजिलमा छ हजार विभिन्न उमेरका व्यक्तिमा परीक्षण गर्दैछ । सन् २०२० सेप्टेम्बरसम्म यो खोपको केही मात्रा उत्पादन गर्ने एस्ट्रेजेनेकाले बताए पनि डब्लुएचओले सन् २०२० मा खोप बजारमा ल्याउन सम्भव नभएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसको जेनेटिक कोडको सानो भागलाई, मान्छेलाई हानि नगर्ने तर चिम्पाञ्जीलाई सङ्क्रमण गर्ने भाइरसलाई प्रयोग गरेर खोप बनाएको छ ।
अमेरिकाको मोडेर्ना ल्याबले पहिलो चरणको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न गरेको छ । मोडेर्नाले तेस्रो चरणको परीक्षण एलर्जी र सरुवारोग राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा गरिरहेको छ । जुलाई २७ बाट सुरु भएको तेस्रो चरणको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी हुने कम्पनीले जनाएको छ । अमेरिकी सरकारले मोडेर्नाको खोप निर्माणका लागि हालमात्रै ४८३ मिलियन अमेरिकी डलर उपलब्ध गराएको छ ।
अमेरिकाको मोडेर्ना थेराप्युटिक्स बायोटेक्नोलोजीले मान्छेको रोग प्रतिरोधात्मक प्रणालीलाई ट्रेन गर्ने खोपमा काम गरिरहेको छ । यसका लागि उक्त कम्पनीले जीवित तर निष्क्रिय तथा कमजोर भाइरसलाई खोपमा प्रयोग गरेको छ । वैज्ञानिकहरूले ल्याबमा कोरोना भाइरसको जेनेटिक कोड तयार गरेका छन् । यसको सानो हिस्सा मान्छेको शरीरमा सुईमार्फत प्रवेश गराएपछि कोरोना भाइरससँग लड्ने क्षमता शरीरमा विकास हुन्छ । मोडेर्नाले पहिलो र दोस्रो चरण पार गरेको हुँदा यही वर्ष उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अमेरिका र जर्मनीको सहकार्यमा फाइजर कम्पनीले उल्लेख्य प्रगति गरेको छ । यो खोप दोस्रो चरणको नतिजा पर्खेर बसेको छ । फाइजरले ३० हजार स्वयंसेवीमा तेस्रो चरणको खोप परीक्षण गर्ने जनाएको छ ।
त्यस्तै जोन्सन एन्ड जोन्सन र नोभाम्याक्सलाई पनि खोप उत्पादन गर्न र उक्त खोप खरिद गर्न अमेरिकाले ठूलो लगानी गरेको छ । चीनको क्यान्सिनो बायोलोजिकलले पनि तेस्रो चरणमा पुगेको दाबी गरेको छ । त्यस्तै चीनको सिनोफार्मले युएईमा रहेका २० देशका १५ हजार व्यक्तिमा खोप परीक्षण गर्ने सम्झौता गरेको छ । चीनको भ्याक्सिन ४० हजार जना स्वयंसेवकमा परीक्षण गर्ने बताइएको छ । यसका लागि चीनले ब्राजिल, चिली, युएई र रुससँग समन्वय गरेको छ । चीनले आफूले बनाएको खोप सुरक्षित, प्रभावकारी र प्रतिरक्षा उत्पादन गर्न सक्षम रहेको जनाएको छ ।
त्यस्तै इनोभियो फर्मास्युटिकलले ४० जना स्वस्थ व्यक्तिमा पहिलो चरणको परीक्षण गरिसकेको छ । सानोफी एन्ड जिएसके कम्पनीले पनि अर्को वर्ष खोप ल्याउने गरी काम गरिरहेको छ ।
रुसको सेरेनोभ विश्वविद्यालयले केही हप्ता पहिले खोप पत्ता लागेको दाबी गरेको थियो तर त्यो दाबी साँचो हुन सकेन । स्रोतका अनुसार रुसको खोप भर्खर दोस्रो चरणको क्लिनिकल ट्रायलमा प्रवेश गर्दैछ ।
युके, युएस तथा क्यानाडाले रुसले आफ्ना देशमा भएका ल्याबको डाटा तथा प्रविधि ‘ह्याक’ गरेको आरोप लगाएका छन् । त्यस्तै दुई चिनियाँ ह्याकरले अमेरिकाका खोप प्रयोगशालाबाट ह्याक गरेर प्रविधि तथा तथ्याङ्क चोरेको आरोप लगाइएको छ ।
गाभीले खोप उत्पादक केही कम्पनीसँग लगानी गरेर खोप किन्ने सम्झौता गरेको छ । उत्पादन भएको करिब २० प्रतिशत खोप गाभीले आफूले कार्यक्रम सञ्चालन गरेका देशहरूका लागि वितरण गर्नेछ ।
खोपको आवश्यक मात्रा उत्पादन हुनुभन्दा पहिले उत्पादित खोप कसलाई वितरण गर्ने भन्ने प्राथमिकता निर्धारण गरिएको छ ।
अग्रपङ्क्तिमामा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, ‘इम्युनोकम्प्रोमाइज्ड’ व्यक्ति, दीर्घरोगी, जोखिमपूर्ण पेसामा काम गर्ने व्यक्ति, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिवहनमा काम गर्ने व्यक्ति, मासु प्रशोधन गर्ने व्यक्तिलगायत जोखिम मापदण्डका व्यक्तिलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्र आम नागरिकले खोप पाउनेछन् ।
कुनै खोप छिटो पत्ता लाग्छ भने कुनै खोपका लागि वर्षौं, दशकौँ लाग्ने पनि हुन्छ । इबोलाविरुद्धको खोप बनाउन अनुमति दिएको १६ वर्ष भयो तर अहिलेसम्म पत्ता लागेको छैन । त्यस्तै १९८० को दशकमा देखापरेको एचआईभी र एड्सको खोप ४० वर्षसम्म पनि पत्ता लागेको छैन । यतिमात्र होइन, स्वाइन फ्लु, बर्ड फ्लुलगायतका भाइरल रोगको विशिष्ट खोप अहिलेसम्म पत्ता लागेको छैन ।
खोप पत्ता लागेर मात्र हुँदैन । खोप प्रभावकारी हुनुप¥यो, ‘साइड इफेक्ट’ वा ‘कम्प्लिकेसन’ नभएको सुरक्षित हुनुप¥यो, ‘इम्युन सिस्टम’ लाई ‘सपोर्ट’ गर्नुप¥यो, खोप लगाएको व्यक्ति खोपका कारण बिरामी हुनुभएन, प्रभावकारी खोपको अर्बौं मात्रा उत्पादन हुनुप¥यो, नियामक निकायले स्वीकृति दिने मापदण्ड अनुसारको हुनुप¥यो तथा विश्वका हरेक देशमा पु¥याउने व्यवस्थापकीय चुनौती व्यवस्थापन गर्न सक्नुप¥यो ।
खोपले सबै उमेरका व्यक्तिमा काम नगर्न सक्छ । सामान्यतया खोपले बालबालिकामा राम्रो काम गर्छ भने पाका उमेरका व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीले ‘रेस्पोन्स’ नगर्न सक्छ । त्यो वर्गलाई धेरैपटक खोप दिनुपर्ने हुन्छ ।
सामान्यतया खोप स्थापित हुन १० वर्ष लाग्छ । यो आकस्मिक अवस्थबामा खोप अनुसन्धान गर्ने वैज्ञानिक, उत्पादन गर्ने कम्पनी, नियामक निकाय, नीतिनिर्माता, दातासमूह, जनस्वास्थ्यको सक्रियता तथा सरकारको अग्रसरताका कारण कोरोना भाइरसविरुद्धको खोप छिटो र पर्याप्त मात्रामा उत्पादन तथा संसारभर वितरण गर्न दबाब परेको छ । महामारीको दबाब र इज्जतको प्रभावका कारण फास्ट ट्रयाकबाट छिटो खोप आउने विश्वास गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा अन्य नियामक निकायले खोप बजारमा सजिलोसँग आउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएका छन् ।

(लेखक जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।) 

सम्बन्धित सामग्री

कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ' - BBC News नेपाली

एउटा अध्ययनका अनुसार शरीरमा जति धेरै एन्टिबडी भयो फेरि सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुने देखाएको छ।

बीबीसी नेपाली

कोरोनाभाइरस सङ्क्रमणपछि एन्टीबडीमा 'तीव्र गतिमा कमी' - BBC News नेपाली

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।

बीबीसी नेपाली

कोभिड-१९ उपचारमा एन्टिबडी

- यो उपचार पद्धति दीर्घकालीन समाधान भने होइन । खोप र औषधिले जस्तो यसले लामो समय काम गर्दैन । एकपटक बिरामीमा गरिने

नयाँ पत्रिका

‘कोभिड-१९ प्रतिरोधी प्रमाणपत्रले नयाँ वर्ग निम्त्याउने जोखिम’

कोरोनाभाइरसको एन्टीबडी परीक्षणले आफूलाई कोभिड-१९ सर्नसक्ने डरबिनै मानिसहरूलाई काममा फर्कन, यात्रा गर्न र कसैसँग प्रेम अभिव्यक्त गर्न बाटो खोल्न सक्ने देखिएको छ। तर के यसले नसोचिएको परिणामहरू निम्त्याउला?

बीबीसी नेपाली

निको भइसकेकामा पुनः किन देखिइरहेको छ कोरोना संक्रमण ?

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको …

अनलाइनखबर

खाना खाएपछि नगर्नुस् यी गल्ती - Naya Patrika

स्वादिष्ट र स्वस्थकर खानाले मात्र शरीर स्वस्थ राख्दैन । स्वस्थ रहन त खाद्यपदार्थ शरीरले पचाउन सक्नुपर्छ र त्यसबाट पर्याप्त पोषण तत्व ग्रहण गर्नुपर्दछ । त्यसका लागि खानापछि गर्ने गतिविधिले पनि...पूरा पढ्नुहोस् »

Naya Patrika