नेपाल भारत सीमा: लुकीछिपी प्रवेश गरेकाले बढाएको जोखिम

लकडाउनको घोषणासँगै चैतको दोस्रो सातादेखि भारत नेपाल सीमा बन्द गरिएको छ।

यसैबीच नेपाली नागरिकलाई नेपाल प्रवेश गराउनुका साथै भारतीय नागरिकलाई भारततर्फ पठाउने काम गरिएकोमा पछिल्लो सातादेखि अनपेक्षित रूपमा भारतीय कामदारहरू नेपालमा देखिएको भन्दै सुरक्षा अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो पटक समुदायबाट पनि लापर्बाही भएको अधिकारीहरूको भनाइ छ।

लकडाउन खुकुलो भएपछि काम गराउने हिसाबले यसअघि नेपालमा काम गर्दै आएका कामदार तथा कालिगडहरूलाई उद्योग प्रतिष्ठानहरूले बोलाएर काममा लगाएको पाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेम थापाले बताए।

"यसअघि नयाँ मान्छे देखे सर्वसाधारणले पनि प्रहरीलाई जानकारी गराउँथे तर अहिले कतैबाट सूचना दिने नगरिएको" उनको भनाइ छ।

गत साता बुटवलमा भारतबाट आएका ३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

  • कोरोनाभाइरसको जोखिम अझ बढे 'नेपाल भारत सीमा नाकाबाट सामान ढुवानी मात्रै गरिने'
  • कोरोनाभाइरस नियन्त्रण गर्न 'प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ'

प्रहरीका अनुसार उनीहरू बुटवलको एक सिरक डसना बनाउने उद्योगमा काम गर्न भारतबाट लुकीछिपी बुटवलसम्म आइपुगेका थिए।

नाका बन्द भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपाल आएकाले उनीहरूलाई खोज्न गाह्रो भएको प्रहरी अधिकारीको भनाइ छ।

"हामीले यहाँका उद्योग प्रतिष्ठानमा अनुगमन गर्ने काम शुरू गरेका छौँ। कतै ढिलै भइसक्यो कि भन्ने डर भएको छ" एसपी थापाले चिन्ता व्यक्त गरे।

अहिले शहर बजारमा पानपुरी, खट्टामिठा फलफूल जस्ता ठेलामा धेरैजसो भारतीयले गर्ने व्यापार पूर्ववत् जस्तो देखिएको छ भने कपाल काट्ने पसलहरू पनि खुलिसकेका छन्।

भारतबाट आउने नेपालीहरूको क्रम पनि रोकिएको छैन।

अहिले सुनौली नाकाबाट दैनिक सरदर २ सय जना नेपालीहरू नेपाल प्रवेश गरिरहेको प्रहरी अभिलेखले देखाएको छ।

यसरी प्रवेश गर्ने नेपालीहरूलाई भने सेनाले बनाएको होल्डिङ सेन्टरमा राखी उनीहरूको सामान्य स्वास्थ्य जाँच पश्चात् सम्बन्धित स्थानीय तहको समन्वयमा घर पठाउने गरिएको छ।

आवतजावत

नेपालगञ्जको जमुनाहा नाकाबाट पनि अहिले दैनिक १५० देखि २०० जनासम्म नेपाली स्वदेश भित्रने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले जानकारी दिए।

उनले भने, "नेपालबाट भारत जानेहरूको सङ्ख्या दैनिक एक सयको हाराहारीमा छ, पारिबाट डेढ सयदेखि दुई सय जनासम्म मानिसहरू आउने गरेका छन्। यो पहिलेको भन्दा निकै कम हो।"

प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङका अनुसार भारतबाट आउनेमध्ये अहिले पनि सबैभन्दा बढी कर्णाली प्रदेशका रहने गरेका छन्।

सीमा नाकामा दुबै तर्फ होल्डिङ सेन्टर बनाइएको र उक्त सेन्टरमा जम्मा भएका मानिसलाई दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा सीमा वारपार गराइरहेको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङले बताए।

उनले भने, "भारतबाट आएका नेपालीहरूलाई नाकामा तीनवटै सुरक्षा निकाय र विभिन्न संस्थाहरूको सहयोगमा बनाइएको होल्डिङ सेन्टरमा राखेर सामान्य स्वास्थ्य जाँच गरिनुका साथै ठेगाना पहिचान गरेर आवश्यक मास्क र स्यानिटाइजर दिएर सम्बन्धित ठाउँमा पठाउने गरेका छौँ।"

भारतबाट सीमा नाकासम्म आएर अलपत्र परेका नेपाली नागरिक अति आवश्यक खाद्यान्न सामान, पेट्रोलियम पदार्थ बोकेका गाडीबाहेक सबैलाई रोक लगाइएको उनले बताए।

नेपालबाट भारत जानेहरूमा भारतीय नागरिक भएको परिचय पत्र हेरेर मात्र जान दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए।

त्यसबाहेक औषधि उपचार गर्न जाने नेपालीहरूलाई मात्र जान दिइएको ईन्चार्ज गिरीले जानकारी दिए।

जमुनाहा नाकाबाट यसअघि यो वा त्यो कामको सिफारिस बनाएर भारत जाने र आउनेको सङ्ख्या पनि धेरै रहेको थियो।

लकडाउन खुलेपछि नेपालमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यस्तो सिफारिस बिहिवारबाट जिल्ला प्रशासन कार्यालयले रद्द गरिदिएको जनाइएको छ।

स्थानीय तहले त्यस्तो सिफारिस बनाइदिने गरेको बताइएको छ।

भारतीय प्रहरीले पनि स्थानीय तहहरूले दिएको सिफारिस अनुसार जान दिइरहेको थियो।

सिफारिसमा बिरामीको उपचार गर्न, बिरामी आफन्त भेट्न, विवाहमा सहभागी हुन लगायतका कारणहरू खुलाइएको हुने प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय जमुनाहामा यस्ता सिफारिसको चाङ नै रहेकोमा बिहीवारदेखि सबै रद्द गरिएको जमुनाहाका ईन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए।

  • तीनवटै निकायका सुरक्षाकर्मीमा कोरोनाभाइरस, कसरी फैलियो सङ्क्रमण
  • महाकालीमा हामफालेर देश भित्रिएका नेपाली: ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

सुदुरपश्चिम प्रदेशका दुई वटा मुख्य नाका गौरीफन्टा र बनबासा नाकाबाट गत ३ दिनमा २ सय देखि ३ सयसम्म सुदुरपश्चिम भित्रिएका छन्।

त्यसैगरी १ सय ५० देखि २ सय सम्म भारत जानेको सङ्ख्या सिमानामा रेकर्ड गरिएको तत्थ्याङ्कले देखाएको छ ।

भारतबाट आउनेहरूको यहाँका सीमा क्षेत्रमा जाँच नगरिएको बताइएको छ।

आएकाहरू सिधै स्थानीय तह तथा घरमै जाने गरेका बताइएको छ।

(बुटवलबाट माधव नेपाल, नेपालगञ्जबाट बिमला चौधरी र धनगढीबाट उमिद बागचन्दको रिपोर्टिङ)

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा