कोरोना भाइरस नेपाल: वीरगञ्जमा के भइरहेको छ?

  • माधुरी महतो
  • बीबीसी न्यूज नेपाली, वीरगञ्ज

पर्सामा सांसद प्रदीप यादव कोरोनाभाइरस सङ्क्रमित भएका छन्।

वीरगञ्जका मेयर विजय सरावगी पनि सङ्क्रमित छन्।

सांसद यादवका सवारी चालक र अङ्गरक्षकमा समेत सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएपछि सांसद यादव आफ्नै घरमा आइसोलेशनमा बसेका छन्।

शुक्रवार मात्रै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

  • कोरोनाभाइरसको खोप बनाउन नेतृत्व गरिरहेकी वैज्ञानिक
  • कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप 'सोचेभन्दा चाँडै आउन सक्ने'

सङ्क्रमित हुनेमा १५ वर्षका किशोरदेखि ६८ वर्षकी महिलासम्म छन्।

वीरगञ्जमा कोरोनाभाइरस सङ्क्रमणका कारण बिहीवार एकै दिन ३ जनाको मृत्यु भएको छ।

यहीँ कुल १३ जनाको मृत्यु भइसकेको छ भने तीमध्ये १० को मृत्यु त गत दुई हप्तामा भएको छ।

पर्सामा नारायणी अस्पतालका मात्रै ४७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेको मेडिकल सुपेरिटेन्डेन्ट मदन उपाध्यायले बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी नेपाल टेलिभिजनमा बोल्दै वीरगञ्जमा सङ्क्रमितमध्ये ८ जना डाक्टर रहेको जानकारी दिएका छन्।

तीमध्ये केहीमा गम्भीर लक्षण रहेको पनि डा. गौतमले बताए।

स्वास्थ्यकर्मी, सफाइकर्मी, नर्स, कर्मचारी, एम्बुलेन्स चालक, उद्योगी, उद्योगमा काम गर्ने मजदुर, व्यवसायी, सर्वसाधारण लगायत सङ्क्रमित भएका छन्।

अहिलेसम्म दैनिक रूपमा २ सयको हाराहारीमा समुदाय स्तरमा स्वाब सङ्कलन भइरहेको छ।

दैनिक ३० प्रतिशत सङ्क्रमित समुदायमा फेला परिरहेको बताइएको छ।

डाक्टरको गुनासो

उपचारमै संलग्न स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि जनशक्तिको अभाव भएको नारायणी अस्पतालका डाक्टर निरज सिँहले बताए।

तराइको गर्मीका कारण पीपीइ सेट लगाउन मुस्किल भएको पनि उनले बताए।

  • कोरोनाभाइरस: खोप कहिले बन्ला
  • कोरोनाभाइरसको खोप पत्ता लाग्दा गँगटो कसरी सङ्कटमा पर्छ

थप जनशक्तिका लागि तीन तहका सरकारलाई गुहारे पनि सुनुवाइ नभएको उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर स्वास्थ्यकर्मीलाई हरेक तीन घण्टामा फेर्नुपर्ने मास्क समेत तीन तहकै सरकारलाई उपलब्ध गराइदिन भनेपनि पर्याप्त मात्रामा पाउन नसकेको बताउँछन्।

अस्पतालमा शैय्या अभाव

५० शैय्या क्षमताको वीरगञ्जको कोभिड अस्पतालमा अहिले ६२ जना सङ्क्रमितको उपचार भइरहेको नारायणी अस्पतालका डाक्टर निरज सिँहले बताए।

तर बढ्दो सङ्क्रमणका कारण वीरगञ्ज हेल्थ केयर अस्पताललाई समेत कोभिड-१९ को उपचारमा प्रयोग गर्ने सहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

दुई अस्पतालमा गरी जम्मा १५० शैय्या, ३६ आइसीयू, १४ वटा भेन्टिलेटर रहेको तथ्याङ्क छ।

होम आइसोलेशनका जोखिम

लक्षण सहितका व्यक्तिलाई कोभिड-१९ अस्पतालमा राख्ने गरिएको छ।

लक्षण नभएका मानिसहरूलाई घरमै राखिएको छ।

त्यसरी घरमै आइसोलेशनमा बस्नेको 'लापर्बाही'ले ठूलो जोखिम बढेको बस्नेतले बताए।

स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले कतिपय सङ्क्रमित एउटै कोठामा परिवारका सदस्यसँगै बस्दै आएको पाइएकाले जोखिम बढेको बताउँछन्।

घरमै आईसोलेशनमा बसेको भनेर घरमा सूचना टाँस गरेको व्यक्ति गाउँमा डुलिरहेको गुनासो आएको पनि उनले बताए।

वीरगञ्ज श्रीपुरका स्थानीयवासी सद्धाम हुसैनले सङ्क्रमित परिवारका सदस्यको घुमफिरबारे अनुगमन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सीमा नाकामा लुकीछिपी ओहोरदोहोर

सीमा नाका बन्द भएपनि लुकीछिपी वीरगञ्ज रक्सौल आवत जावत गर्ने गरेका कारण अवस्था चिन्ताजनक बनेको स्थानीय प्रशासनले स्वीकार गरेको छ।

लकडाउन खुकुलो भएपछि वीरगञ्ज पथलैया औद्योगिक करीडरमा भारतीय कामदार लुकीछिपी आउने क्रम बढेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

उनले भारतबाट वैधानिक रूपमा आउने मानिसहरूलाई अनिवार्य क्वारन्टीनमा राखेर जाँचपछि मात्रै घर पठाउने गरेको भएपनि लुकीछिपी आउने मानिसहरूले गर्दा अवस्था जोखिमपूर्ण भएको बताए।

पर्सामा अहिलेसम्म १० हजार ४ सय १३ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको बस्नेतले जानकारी गराए।

प्रदेश सरकारले पर्सामा फैलिएको सङ्क्रमण नियन्त्रण गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुने गरेको छ।

  • कुन औषधिले कोरोनाभाइरस उपचारमा सघाइरहेका छन्?
  • कोरोनाभाइरस सङ्क्रमण भएर बिरामी परेका व्यक्तिलाई नेपालमा के औषधि दिइन्छ

प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले भने, "सबैले मेरो क्षेत्रमा कोभिड अस्पताल बनाउन नपाइने, मेरो क्षेत्रमा शव व्यवस्थापन गर्न नपाइने भन्दै विरोध गर्छन्। बाध्य भएर जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग रकम उपलब्ध गराएर काम अघि बढाउनु परेको छ।"

उनले भने "एक करोड रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री र अस्पताल व्यवस्थापन, शव व्यवस्थापन, शव वाहन, एम्बुलेन्स व्यवस्थापनका लागि दिइएको छ।"

उनले सङ्घीय सरकारलाई पटक पटक आग्रह गर्दै आएपनि तराइका जिल्लाका लागि केही नसोचेको र कुनै जबाफ नआएको गुनासो गरे।

वीरगञ्जमा बिहीवार राजनीतिक दल, युवा अभियन्ता र उद्योगीको सहभागितामा बसेको सर्वपक्षीय बैठकले सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै तत्काल विज्ञ , चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली पठाइदिन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गरेको छ।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा