खुल्दै होटल, जुर्मुराउँदै पर्यटन

विश्वास रेग्मी

काठमाडौँ, साउन १५ गते । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उहाँले भन्नुभयो, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ ।
बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।
यद्यपि साना र मध्यमस्तरका होटलले भने सेवा दिन सक्ने अवस्था रहेको शाहको भनाइ छ । उहाँका अनुसार यो अवस्थामा स्वास्थ्य प्राथमिकतामा रहेकाले सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सेवा सञ्चालन गर्न आफ्ना सदस्य होटलहरूलाई हानले जानकारी गराएको छ । यसअघि नेपाल पर्यटन बोर्डले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि स्वास्थ्य ‘प्रोटोकल’ सार्वजनिक पनि गरिसकेको छ । साउन १५ गतेदेखि होटल सञ्चालनमा अनुमति दिए पनि यसअघि कतिपय होटल सञ्चालनमा आइसकेका छन् । खासगरी विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई क्वारेन्टाइन स्थलका रूपमा सरकारले तोकेका होटल सञ्चालनमा
आएका थिए ।
यसबाहेक काठमाडौँ उपत्यकाभित्रका केही पाँचतारे होटल पनि यसबीचमा खुला रहे । साउन १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भएपछि सहरी क्षेत्रका रेस्टुरेन्ट पनि सञ्चालनमा छन् । कतिपय रेस्टुरेन्टले पूर्ण रूपमा नै सेवा उपलब्ध गराइरहेका छन् भने कतिपयले बसेर खान नपाउने तर लैजान सकिने ‘टेक अवे’ सेवा दिइरहेका छन् ।

 

सम्बन्धित सामग्री

घान्द्रुकका होटल भदौभर नखुल्ने

कोरोना भाइरस महामारीबीच सरकारले साउन १५ गतेदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न अनुमति दियो । सरकारी अनुमतिपछि पोखराका एकाध होटल र केही रेस्टुरेन्ट सञ्चालनमा पनि ल्याईएका छन् । तर, पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपुर्ण क्षेत्र अन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय त्यहाँका व्यवसायीले गरेका छन् ।

नागरिक दैनिक

होटल-रेष्टुरेन्ट सञ्चालनमा

सरकारको निर्णयपछि होटल तथा रेष्टुरेन्ट सेवा बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोभाइस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण बन्द रहेका होटल तथा रेष्टुरेन्ट चार महिनापछि सञ्चालनमा आएका हुन् । “सरकारले तोकेको मापदण्डअनुसार होटल सञ्चालनमा आएका छन्,” होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले भने, “होटलले आफ्ना कर्मचारीलाई तालिम दिएर सुरक्षित सेवा प्रवाह गर्नेछन् ।” उनका अनुसार आजको भोलि नै पाहुना आइहाल्ने अवस्था नभए पनि आगामी सिजनका लागि मार्केटिङ, बुकिङ, सेल्सको काम अगाडि बढाउँदै अघि बढ्ने व्यवसायीको योजना छ ।

कारोबार दैनिक

होटल क्षेत्र खुल्यो, अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन्। होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ। हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन्।

नागरिक दैनिक

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन्। सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

नागरिक दैनिक

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने …

राजधानी दैनिक

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टिनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महङ्गो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासङ्घको ठहर छ । महासङ्घले कतार, मलेशिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महङ्गा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ । महासङ्घले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको छ ।

गोरखापत्र

पोखराका होटल असोजसम्म बन्द

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

गोरखापत्र

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उहाँले भन्नुभयो, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र