छोटकरीमा आज - २०७७ श्रावण १३ मंगलबार

आज नेपालमा कोरोना संक्रमण, नेकपा विवाद थप चर्कियो, राप्रपा छाडेका सुनिलबहादुर थापा कांग्रेस प्रवेश, काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनलाई कोरोना संक्रमण, मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्ट्राचारसम्बन्धी मुद्धामा दोषी ठहर लगायतका विषयवस्तुलाई स्थान दिइएको छ।

मंगलबार ३११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९,०६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

हालसम्म नेपालमा १३,८७५ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,५२,३०७ => क्वारेन्टाइनमा : १५,३३१

सम्बन्धित :

  • कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ। उनीहरूमध्ये २७ जना दीर्घरोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
  • काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन्। उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन्।

राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट  भई गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन्। 


नेकपा विवाद :

विवादबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत गएर स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय गरेको छ। 

साथै बैठकले आगामी स्थायी कमिटी बैठक अघि बढाउने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। 

सम्बन्धित :

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६ बुँदे प्रस्ताव राखेका छन्। प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव राखेका छन्।
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चरम उत्कर्षतर्फ उन्मुख भइरहेका वेला नेकपाका तीन युवा नेताहरू(कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल)ले पार्टी विभाजनबाट रोक्न गम्भीर कदम चाल्नुपर्ने निष्कर्ष निकालेका छन्। 
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत स्थायी कमिटी सदस्यको अनाैपचारिक बैठकमा भीम रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै अब यसरी नचल्ने बताएका छन्।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।

सबै संस्थागत र सामुदायिक विद्यालय (कक्षा एकदेखि आठसम्म) मा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रूपमा १०० पूर्णांकको स्थानीय पहिचान, कला, संस्कृति र इतिहास समेटिएको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ।

जसअनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनामा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ।


 १४ चैतदेखि असार मसान्तसम्म भएका चार्टर्ड उडानबाट ८००४ जना विदेशी आफ्नो मुलुक फर्किएका छन्।

अध्यागमन विभागका अनुसार यसअवधिमा ७१ जना विदेशीलाई भने नेपाल आउने अनुमति मिलेको छ। उनीहरु पनि पर्यटक नभएर विभिन्न मुलुकका दूतावासमा काम गर्ने कर्मचारी हुन्।


पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ। 

अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका छन्, त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार खटिएका छन्।

राष्ट्रिय गौरवको यो आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुँदैछ ।


सम्बन्धित :

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत  कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ अहिलेसम्म घोषणा गरिएका स्वास्थ्य आपतकालमध्येकै 'सबैभन्दा गम्भीर स्वास्थ्य संकट' भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । विगत ६ हप्तामा कुल संक्रमितको संख्या दुई गुणाले बढेको बताइएको छ । 


मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

फैसला सरकारी कोषबाट तात्कालीन प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिंगिट (करिब एक करोड अमेरिकी डलर) स्‍थानान्तरण गरेको विषयसँग सम्बन्धित छन् । 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा कोरोना संक्रमण हुने ओब्रायन अहिलेसम्मका शीर्ष अधिकारी हुन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।