छोटकरीमा आज - २०७७ श्रावण ०८ बिहीबार

आज नेपालमा कोरोना संक्रमण, ऋणको भाका सारिदिन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह, अनलाइन कक्षा पुन: संचालन हुने, दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने, पूर्वडीआईजी कोइराला थुनामुक्त, फिलिपिन्समा कोरोना संक्रमण फेरि बढ्यो, अब ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप तयार भइसक्ने चीनको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

विहीबार १४७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८,२४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

हालसम्म नेपालमा १२,८४० जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ३,३१,०९५ => क्वारेन्टाइनमा : २०,०९८


नेपालको डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरका कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

सन् २०१९ मा ४.६ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२० मा ६.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।

सम्बन्धित :

  • विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थमन्त्रालयले विश्व बैंकसहित दातृ निकायबाट 'डेट मोराटोरियम' (कर्जाको सावाँ–ब्याज तथा किस्ताको भाका सार्ने) सुविधा दिन आग्रह गरेको छ । सो प्रतिवेदनमा सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ ।

प्याब्सन-एनप्याब्सन लगायत निजी तथा संस्थागत विद्यालयले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा ८ साउनदेखि चलाउने निर्णय गरेको छ ।

प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए ।

सम्बन्धित :

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा संचालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

श्रीमती हत्यामा अदालतबाट दोषी ठहर भई ८ वर्ष ६ महिना जेल बसेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइराला बिहीबार रिहा भएकै दिन उनीविरुद्ध सरकार न्यायिक पुनरावलोकनमा गएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा बढी सजाय घटाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जाने निर्णय गरेको हो ।


अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ ।

वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।  

 

सम्बन्धित :

  • पछिल्लो हप्ता लगातार भइरहेको वर्षा र त्यसले निम्त्याएको प्राकृतिक विपद्का कारण पोखरासम्म तरकारी आउन नसकेको भन्दै बजारमा तरकारी अभाव हुन थालेको हो । अभाव भएसँगै तरकारीको मूल्य २ दिनमै दोब्बर भन्दा बढी महंगो भएको छ ।
  • कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्तीमा फेरि कटान शुरु गरेको छ । झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घर डुबानमा परेको छ ।

राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपाली भएको र उनको जन्मभूमि भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए । 

सम्बन्धित :

  • सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्याबारे संसदीय समितिमा छलफलको माग गरेका छन् । छलफलमा सहभागी सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर, भारतीय फौज त्यस क्षेत्रबाट नहटेको भन्दै परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका हुन् ।

साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढि रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्ममा कुल रोपाइँ योग्य जमिनको ९१. ६८ प्रतिशत रोपाइँ सकिएको हो ।

गएको वर्ष साउनको पहिलो हप्ता ६३.७९ प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।


चीनले यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कोरोनाविरुद्ध खोप आम प्रयोगका लागि तयार भइसक्ने दाबी गरेको छ ।

 चाइना नेसनल फर्मास्युटिकल ग्रुप सिनोफार्मअन्तर्गत चाइना नेसनल बायोटेक ग्रुपका अनुसार चीनमा कोरोना संक्रमण घट्दै गएकाले खोप परीक्षणमा सहभागी हुने व्यक्ति पाउन मुस्किल भइरहेको छ । तर उक्त खोपको परीक्षण चीनबाहिरका मुलुकमा भइरहेको छ । 


भारतको झारखण्ड राज्यको मन्त्रिपरिषद्ले ‘झारखण्ड संक्रामक महामारी विधेयक’ पारित गर्दै सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई २ वर्ष जेल वा १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान लागू गरेको छ ।  


फिलिपिन्समा कोरोना भाइरसको संक्रमण बढेपछि फेरि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगाइएको छ । 

करिब दुई साताअघि कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै अन्तर्राष्ट्रिय यात्रामा अनुमति दिइएको थियो । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।