‘स्विमिङ पुल’ बन्नबाट बचेको रानीपोखरी

२१ असार, काठमाडौं । भक्तपुरका शिवनारायण मचामसी २०७५ फागुनको पहिलो हप्ता रानीपोखरी हेर्न आइपुगेका थिए । भक्तपुर नगरपालिकाले ‘रानीपोखरीमा पनि काम गर्नुपर्ने भयो’ भनेपछि भक्तपुरका पुराना पोखरीहरू मर्मतमा आफ्नो सिप देखाइसकेका उनी रानीपोखरी आइपुगेका थिए । त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको गहना भनिने रानीपोखरी त हेर्दै विरक्त लाग्दो थियो ।’

सँगै रहेका इन्जिनियरहरूले सोधे, काम गर्न सक्नुहुन्छ त ?

‘किन नसक्नु ? यो काम गर्न पाउनु हाम्रा लागि पुण्यको कुरा हो’, शिवनारायणले जवाफ दिए ।

नभन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरी शिवनारायणहरूले डेढ वर्ष नपुग्दै लोभलाग्दो बनाएका छन् । पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनेको छ । पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको छ । मन्दिर निर्माण पूरा नभएकाले पोखरीमा पानी हालिएको छैन ।

तर वर्षाको पानी जम्मा हुन थालेकाले रानीपोखरीले धेरैको मन भने लोभ्याउन थालेको छ । यसले रानीपोखरी निर्माणमा आफ्नो सिप देखाएका शिवनारायणलाई पनि सन्तुष्टि मिलेको छ । भन्छन्, ‘पोखरीमा पानी त जम्न थाल्यो नि !’

शिवनारायणको विरक्त लागेको त्योदिन र सन्तुष्टि मिलेको यो दिनमात्र रानीपोखरी पुनर्निर्माणको कथा होइन । यसका लागि २०७२ को भूकम्पमा फर्किनुपर्छ ।

भूकम्पदेखिकै विवाद

२०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पले नेपालमा झण्डै ९ हजार मानिसले ज्यान गुमाए । करिब १० लाख घरमा पूर्ण वा आंशिक क्षति पुग्यो । मठमन्दिर, गुम्बालगायतका पुरातात्विक सम्पदामा क्षति पुग्यो ।

त्यसमध्ये एक रानीपोखरी पनि हो । पोखरीको पर्खालहरू क्षति पुग्नुका साथै बालगोपालेश्वर मन्दिर भत्कियो । तर रानीपोखरीमा भूकम्पले जति क्षति पुर्‍यायो, पुनर्निर्माणका नाममा त्योभन्दा बढी विध्वंश मच्चाउने काम भयो ।

पुरातत्वविद्हरू र युनेस्कोले सम्पदा निर्माणको जिम्मा ठेकदारलाई नदिन खबरदारी गर्दागर्दै पुरातत्व विभागले सुटुक्क काठमाडौं महानगरपालिकालाई रानीपोखरीको पुनर्निर्माणको जिम्मा दियो । २०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गरिन् ।

त्यसपछि महानगरले अफिसदेखि रानीपोखरी वरिपरि घुम्नमिल्ने पार्क बनाउने गरी रानीपोखरीको भव्य थ्रिडी नक्सा तयार गर्‍यो । पुरातत्व विभागले पनि सम्पदाको ऐतिहासिकता विचारै नगरी पुनर्निर्माणका लागि स्वीकृति दियो ।

यसको जनस्तरबाट विरोध भयो । रानीपोखरीको ऐतिहासिकतालाई ख्यालै नगरी ‘स्विमिङ पुल’ बनाउन खोजेको भन्दै पुरातत्वविद्हरूले पनि विरोध गरे । कर्मचारी संयन्त्रले चलाएको महानगरले त्यसलाई सुनेन । हतार-हतार ठेक्का लगाइयो ।

पोखरीको पानी सुकाइयो । बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा कंक्रिटको पिल्लर ठडिएपछि युनेस्कोले समेत पुरातत्व विभागलाई पत्र लेखेर ध्यानाकर्षण जनायो । पुरातत्व विभागले महानगरलाई काम रोक्न निदेशन दियो ।

पोखरी निर्माणको काम आफूले ठेक्कामा लगाएर मन्दिर पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिने निर्णय भयो । विभागले पनि स्वीकार गरेर ठेक्का लगायो ।

२०७४ वैशाख ३१ को स्थानीय तहको निर्वाचनबाट विद्यासुन्दर शाक्य मेयर र हरिप्रभा खड्गी उपमेयर चुनिएर आए । सम्पदाप्रेमीहरू काठमाडौं महानगरका जनप्रतिनिधिलाई गुहार्न पुगे । योजनाको विरोध गरे । तर महानगरकै पहलमा रानीपोखरीमा डोजर चल्यो, कंक्रिटका थप संरचनाहरू बन्न थाले ।

अभियान्ताहरूले पटक-पटक मेयरलाई भेटे, रानीपोखरीमा कंक्रिटका संरचना नबनाउन आग्रह गरे, ज्ञापनपत्र बुझाए । अहँ ! विद्यासुन्दरले सुन्दै सुनेनन् ।

त्यो टर्निङ प्वाइन्ट…

रानीपोखरी पुनर्निर्माणमा २०७४ पुस ११ गते ‘टर्निङ प्वाइन्ट’ दिने घटना भयो । कंक्रिटका संरचना बनाइएको विरोध गर्दै आएका स्थानीय र अभियान्ताहरूको साथ लागेर उपमेयर हरिप्रभा खड्गी आफैैँ रानीपोखरी पुगिन् र पुनर्निर्माणका लागि निर्माण सामग्री भित्र्याउन बनाइएको गेटमा ताला लगाइदिइन् ।

त्यसको एक घण्टापछि मेयर शाक्य दलबलसहित रानीपोखरी पुगे र ताला फोडेर हिँडे ।

तर यो घटनाले रानीपोखरी पुनर्निर्माणको विवाद छताछुल्ल मात्र भएन, नीति निर्माण गर्न बसेकाहरूलाई यसबारे ध्यानाकर्षण गराउन सफल भयो । खासगरी देशभरको पुनर्निर्माणको नेतृत्व गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वको ।

भोलिपल्ट मेयर शाक्यले रानीपोखरीमा विवाद रहेको स्वीकारे । २०७४ पुस १३ मा महानगरको कार्यपालिका बैठकले रानीपोखरीको पुनर्निर्माणबारे सुझाव दिने ११ सदस्यीय विज्ञ समूह बनायो । यो समूहमा रानीपोखरीलाई मौलिक रुपमा बनाउनुपर्छ भन्ने मत राख्दै आएकाहरू पनि अटाए ।

विज्ञलाई नमान्ने अडान

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको समूहले ७ माघमा रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने रायसहित प्रतिवेदन बुझायो । साथै, भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोलेश्वर मन्दिरलाई सुरुमा रहेको ग्रन्थकुट शैलीमा बनाउन सुझाव दिइएको थियो । प्रतिवेदनअनुसार राजा प्रताप मल्लले बनाएको रानीपोखरीको स्वरूप जंगबहादुर र जुद्ध शमशेरको पालामा रानीपोखरीको हेरफेर भएको थियो ।

सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भूकम्पले शिखर शैलीको मन्दिर ढलेको थियो । जंगबहादुरको पालामा त्यही मन्दिरलाई गुम्बज शैलीमा बनाइयो । १९९० सालको भूकम्पले फेरि क्षति पुग्यो । जुद्धशम्शेरले गुम्बज शैलीमा केही परिर्वतन गरेर जुन १२ वैशाख २०७२ को विनाशकारी भूकम्प आउनुअघिसम्म कायम थियो ।

विज्ञ समूहले ठेकदारमार्फत निर्माण गर्ने क्रममा खडा भएका कंक्रिट पर्खाल र संरचना हटाउन मात्र भनेन, मन्दिरसम्म जाने पुलको सिमेन्टेड पर्खाल हटाएर इँटाको बनाउनुपर्ने, पोखरीको पर्खाल तथा पिँधमा इँटा र कालोमाटो प्रयोग गर्नुपर्ने, चुनसुर्कीको प्रयोग गर्न सुझाव दियो । त्यस्तै, रानीपोखरी वरपर अतिक्रमण गरेर बनाइएका घर टहरा र भवन भत्काउनुपर्ने सुझाव प्रतिवेदनमा थियो ।

ग्रन्थकुट शैलीको रानीपोखरी

तर प्रतिवेदनमा विज्ञ समूहमा रहेको पुरातत्व विभागका अधिकारीले हस्ताक्षर गर्न मानेनन् । मन्दिर पुनर्निर्माणको काम निकै अगाडि बढेकाले सबै भत्काएर ग्रन्थकुट शैलीमा बनाउन नसकिने पुरातत्वको अडान थियो । त्यसमा महानगरका मेयर शाक्य पनि थपिए । बनिसकेको संरचनाहरू भत्काएर नयाँ बनाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समात्ने शाक्यको तर्क थियो । विभागले पनि मन्दिरको शैली परिवर्तन गर्न नहुने अडान राखिरह्यो । तर स्थानीय र अभियान्ताहरू त्यसमा पटक्कै सहमत भएनन् ।

यही कारण एक वर्षसम्म रानीपोखरी पुनर्निर्माण अलपत्र पर्‍यो । रानीपोखरी चौरमा परिणत भएपछि विद्यार्थीहरूले फुटबल खेलेर सांकेतिक विरोध पनि गरे ।

महालेखा परीक्षकको ५६औं वाषिर्क प्रतिवेदनले समयमै उपयुक्त निर्णय नलिँदा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले खर्च गरेको कुल २ करोड ६० लाख ८७ हजारभन्दा बढी रकम खेर जाने अवस्था आएको औैंल्यायो । बालगोपालेश्वर मन्दिरसहित रानीपोखरी पुनर्निर्माण गर्न महानगरले एक निर्माण व्यवसायीसँग ७ करोड ११ लाखमा सम्झौता गरी दुई करोड ३० लाख ३८ हजार भुक्तानी दिएको विवरण महालेखापरीक्षकको प्रतिवेदनले सार्वजनिक गर्‍यो । पुरातत्व विभागले पनि मन्दिरको ठेेकदारलाई ३० लाख ४९ हजार भुक्तानी दिइसकेको खुल्यो । त्यसपछि यो विषय झनै गिजोलियो ।

महानगरबाट पार नलाग्ने बुझेपछि नेपाली सेनालाई जिम्मा दिने प्रस्ताव अघि सारियो ।

ज्ञवालीले दिएको अर्को मोड

२०७५ साउन ३० मा सुशील ज्ञवाली पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी नियुक्त भए । यसअघि सीईओ हुँदा सन्तोषजनक काम गर्न नसकेको आरोप खेपेका उनलाई रानीपोखरीलगायतका पुरातात्विक सम्पदा पुनर्निर्माणलाई गति दिनुपर्ने दबाब थियो । त्यसमाथि राष्ट्रपति कार्यालयको पनि चासो थपियो ।

त्यसैले पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले पटक-पटक महानगरसहित सरोकारवाला पक्षसँग छलफल गरे ।  ज्ञावालीको अग्रसरतापछि बल्ल मेयर विद्यासुन्दर गले । महानगरले काम नसकेर सेनालाई दिएको सन्देश जाने भन्दै उनले पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा उपभोक्ता समितिमार्फत काम गर्ने मध्यमार्गी प्रस्ताव अघि सारे ।

अख्तियार लाग्ने मेयरको डर हटाउन यो निर्णय मन्त्रिपरिषद्बाट गराइयो । लगत्तै रानीपोखरी पुनर्निर्माणको जिम्मा महानगरबाट खोसिएर पुनर्निर्माण प्रधिकरणमा आयो । खर्च भने महानगरले व्यहोर्नुपर्ने भयो । बल्ल विवाद सुल्झियो । त्यसमा ज्ञवालीको भूमिका विशेष थियो ।

अनि भक्तपुरे कालीगढ आए

प्राधिकरणका सीईओ ज्ञवालीले भक्तपुरमा पुरानै शैलीबाट पोखरीहरू बनेको देखेका थिए । त्यसैले रानीपोखरी बनाउन तिनै कालीगढ खोजे । भक्तपुरका मेयर सुनिल प्रजाप्रतिसँग कुरा गरे। भक्तपुर नगरपालिकाले सहयोग गर्यो ।  २०७५ फागुन पहिलो साता शिवनारायण मचामसीसहित कालीगढहरूको टोलीले रानीपोखरी आइपुग्यो ।

सुरुमा उनीहरूले केही दिन लगाएर झाडी फाँडे । रानीपोखरीमा बनाइएका कंक्रिटका संरचनाहरू हटाए । रानीपोखरीमा ठूला स्काभेटर प्रयोग नगर्ने नीति लिइएको थियो । ‘त्यसैले डि्रली मेसिनमार्फत एकएक टुक्रा गर्दै पर्खाल भत्काउनु परेको थियो,’ पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधर भन्छन् ।

एनका अनुसार मन्दिरभन्दा पोखरी पुनर्निर्माण जटिल थियो । किनकि सुकाउनै नपर्ने पोखरी सुकाउनुका साथै डोजरले खनेर कंक्रिटको संरचना बनाइएको थियो । साथै, पुननिर्माणका क्रममा गरिएको भौगर्भिक अध्ययनले रानीपोखरीको आफ्नै जलाधार (पानीको मूल)नभएको पत्ता लाग्यो । त्यसैले वर्षामा पर्ने र जम्मा हुनेबाहेकको अवस्थामा अन्यत्रबाटै पानी ल्याएर भर्नुको विकल्प रहेन ।

त्यसैले पानी चुहिएर नजाओस् भनेर पोखरीको पिँधमा र पर्खाल (भित्ता)मा कालोमाटो राखिएको छ । भक्तपुरका कालीगढ शिवनारायण मचामसीका अनुसार भक्तपुर र काठमाडौंको साँखुको फाँटहरूबाट कालो माटो ल्याइएको थियो । पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर इँटा ओच्छ्याइएको उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापित बताउँछन् ।

परम्परागत शैलीलाई कायम राख्न पर्खालको जगमा चुना सुर्की लगाएर इँटा जोडिएको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीका अनुसार पोखरीमा सिधै पर्ने आकाशे पानीका साथै त्रि-चन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी संकलन एवं प्रशोधन गरी हालिने छ । दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रवन्ध भइसकेको छ । टुँडिखेलमा जम्मा भएको पानी पाइप बिछ्याएर ल्याइनेछ । यसले नपुगे मेलम्चीको पानी पनि हाल्ने विकल्प छ ।

बालगोपालेश्वर मन्दिर र त्यहाँसम्म जाने पुल तथा पोखरी वरपर सजावटको काम अहिले भइरहेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालका अनुसार मन्दिरको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी तिहारमा सर्वसाधारणको लागि खुला गर्ने योजना छ । यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिनमा मात्रै खुला गरिन्छ ।

अहिले बनिरहेको रानीपोखरीका केही तस्वीर

 

तस्वीरः आर्यल धिमाल र चन्द्र आले/अनलाइनखबर 

सम्बन्धित सामग्री

भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष पुरानो

भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष अगाडि बनेको सार्वजनिक गरिएको छ।

नागरिक दैनिक

भक्तपुर : जहाँ राहत लिन्नौं भन्ने मान्छे भेटिए

२८ वैशाख, काठमाडौं । नेपालमा सर्वत्र बेथिति र खराबी मात्र छैन, थिति र इमान–जमान पनि छ भन्ने उदाहरण हेर्न भक्तपुर नगरपालिका पुगे हुन्छ । लकडाउनका बेलामा नगरपालिकाले गरेका काम हेरे हुन्छ । काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुर …

अनलाइनखबर

भक्तपुर : जहाँ राहत लिन्नौं भन्ने मान्छे भेटिए

२८ वैशाख, काठमाडौं । नेपालमा सर्वत्र बेथिति र खराबी मात्र छैन, थिति र इमान–जमान पनि छ भन्ने उदाहरण हेर्न भक्तपुर नगरपालिका पुगे हुन्छ । लकडाउनका बेलामा नगरपालिकाले गरेका काम हेरे हुन्छ । काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुर …

अनलाइनखबर

'क्वारेन्टाइन'मा ब्याडमिन्टन काेर्टदेखि क्यारम बाेर्डसम्म

भक्तपुर – कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट ल्याइएका एक सय ७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याएकाे छ । त्रिभुवन विमानस्थलबाट भक्तपुरको सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै बिहान ६ बजेर १० मिनेटमा उनीहरुलाई भक्तपुर खरिपाटीमा रहेको नेपाल वि...

चीनबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटी पुर्‍याइयाे

काठमाडौं :  चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ। बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएक...

थाहा खबर

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर, फागुन २८ गते । भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको...

गोरखापत्र