होटेलमा बढ्दो लगानी

कोरोनाका कारण पर्यटन व्यवसाय थलिए पनि पा“चतारेसहित विभिन्न स्तरका होटेलहरू खुल्ने क्रम रोकिएको छैन । शनिवार अन्तरराष्ट्रिय चेन ब्रान्ड हायात प्लेस होटेल थपिएको छ । यसले नेपालमा पर्यटन व्यवसायले चा“डै नै पुनर्जीवन पाउने आशा व्यवसायीमा रहेको कुरालाई पुष्टि हुन्छ । अहिले केही होटेल र ट्राभल एजेन्सीहरूले एक्लाएक्लै पर्यटन ल्याउन काम गरिरहेको पाइन्छ । तर, सामूहिक प्रयासविना पर्यटनले राम्रो गति लिइहाल्ने अवस्था भने छैन । हायात प्लेसको निर्माण ६ वर्षअघि नै थालिएको हो । हायात प्लेसमात्रै होइन, कोरोना कालमै अन्य होटेलहरू पनि निर्माण सम्पन्न भएका छन् र कतिपय होटेल निर्माणाधीन पनि छन् । नेपालमा पछिल्लो समय तारे र बुटिक होटेलहरू खोल्ने क्रम तीव्र भएको पाइन्छ । तिनमा पनि अन्तरराष्ट्रिय चेनका ब्रान्ड होटेलहरूको संख्या बढ्दो छ । अहिले मेरियट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्वीस, क्राउनजस्ता अन्तरराष्ट्रिय व्यवस्थापनका ब्रान्डहरू नेपालमा कार्यरत रहेको पाइन्छ । १० वर्षअगाडि नेपालमा १० ओटामा सीमित रहेका पा“चतारे होटेलको संख्या अहिले १५ पुगिसकेको छ । चारतारे होटेलको संख्या ११ पुगिसकेको छ । पर्यटकस्तरका होटेलको संख्या ५ सय नाघेको छ । नेपालभर गरेर होटेलमा १० खर्बको हाराहारीमा लगानी भएको अनुमान छ । १० अर्बको लगानी गत आवमा मात्रै थपिएको देखिन्छ । अहिले होटेलका लागि ९ अर्बभन्दा बढी लगानीको प्रस्ताव आएको छ । यी सबै तथ्यले कोरोनापछि पर्यटनले लय लिन्छ भन्नेमा व्यवसायीहरू विश्वस्त रहेको देखाउ“छ । पर्यटनका लागि यो निकै शुभ सन्देश हो । सरकारले व्यवसायीको यो विश्वासलाई मर्न नदिन सकेसम्म प्रोत्साहनको नीति लिनुपर्छ । यी पूर्वाधारविना पर्यटनको कल्पना पनि गर्न सकि“दैन । त्यसैले निजीक्षेत्रको हौसलालाई बचाइराख्नु सरकारको दायित्व नै हो । बाह्य लगानीका लागि पनि राम्रो प्रतिबद्धता आएको देखिएकाले अन्तरराष्ट्रिय लगानीकर्तामा पनि पर्यटन व्यवसायले चाँडै गति लिने विश्वास रहेको देखाउ“छ । कोरोनाका कारण अझै केही वर्ष पर्यटन नतङ्ग्रने विश्लेषण भइरहँदा लगानीकर्ताको यो उत्साहले पर्यटन चाँडै नै लयमा फर्किने आशा जगाएको छ । सशस्त्र द्वन्द्वका बेला कतिपय देशमा पर्यटक आगमन शून्यमा गएको उदाहरण पनि छ । तर, नेपालमा भने द्वन्द्वकालमै पनि पर्यटक आगमन त्यसरी शून्यमा गएन । तैपनि त्यतिबेला कैयौं ठूला होटेल बन्द भए । पर्यटन व्यवसायीहरू पनि पलायन भए । कोरोना कालमा केही साना होटेललाई छाडेर बन्द नै गरेको भने पाइएको छैन । केही पर्यटन व्यवसायी पलायन भएको भनिए पनि त्यसको स्पष्ट आँकडा भने पाइएको छैन । त्यसैले अब पर्यटन व्यवसायलाई गति दिन सरकारी सक्रियता आवश्यक देखिएको छ र यसमा नयाँ रणनीति पनि जरुरी देखिन्छ । हुन त यत्तिकै बसे पनि पहिलाकै स्थितिमा नपुग्ला भन्न सकिँदैन तर सक्रियता देखाए चाँडै नै पुनरुत्थान हुने देखिन्छ । पुनरुत्थानका लागि कस्तो रणनीति तय गर्ने, कस्ता पर्यटन प्याकेज ल्याउने, प्रचारका लागि केकस्तो तरिका अपनाउनेजस्ता काम उल्लेखनीय रूपमा भएको पाइँदैन । पर्यटन पुनरुत्थानका लागि निजी र सरकारी दुवैका सामूहिक प्रयास आवश्यक छ । यसका लागि सरोकारका समूहबीच बृहत् अन्तरक्रिया र ठोस नीति बनाउन आवश्यक छ । अहिले केही होटेल र ट्राभल एजेन्सीहरूले एक्लाएक्लै पर्यटन ल्याउन काम गरिरहेको पाइन्छ । तर, सामूहिक प्रयासविना पर्यटनले राम्रो गति लिइहाल्ने अवस्था भने छैन । नेपालमा अत्यधिकलाई कोरोनाविरुद्ध खोप लगाइसकिएको र केही महीनाभित्रै सबैलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ । यस्तो अवस्थामा बाह्य पर्यटक आगमनका लागि गरिने प्रयासले सकारात्मक प्रभाव ल्याउने नै छ । अहिले भारतपछि अमेरिका र यूरोपका पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । यसले गुणस्तरीय पर्यटकका लागि अवसरसमेत दिलाउन सक्ने देखिन्छ । तर, सरकार, व्यवसायी र पर्यटन बोर्डको सामूहिक प्रयास, प्रचार र प्रडक्टमा नवीन अभ्यास भने अपेक्षित छ । यसतर्फ सम्बद्ध सबैको ध्यान जानु जरुरी छ ।

सम्बन्धित सामग्री

होटेलमा लगानी जोखिमपूर्ण

पर्यटन विभागबाट पाँचतारा स्तरीय होटेलको स्वीकृति लिने होटेलको संख्या १७ पुगेको छ । नेपालमा पछिल्लो समय पाँचतारा स्तरको होटेल खोल्ने क्रम बढेको छ । यद्यपि यी काठमाडौंमा नै केन्द्रित छन् । बढ्दो होटेल संख्याले व्यवसायीमा पर्यटन व्यवसाय फस्टाउने आशा बलियोसँग रहेको देखाउँछ । त्यस्तै विदेशी लगानी पनि पर्यटन क्षेत्रमा बढ्दै छ । कुल पर्यटक आगमन १० लाख नाघेको छ तर यतिले मात्रै होटेलहरूले पूरा व्यवसाय पाउने सम्भावना कम देखिन्छ । पाँचतारे होटेल र लक्जरी रिसोर्टको संख्या बढ्नु भनेको गुणस्तरीय पर्यटकको संख्या बढ्नु हो । यो सम्भावना देखेर थाइल्यान्डको दुसित थानी नेपाल आएको छ भने कम्बोडियाको सिन्तामणि पनि नेपालमा आएको छ । पाँचतारे होटेलहरूको व्यवस्थापन विश्वका ठूला चेनहोटेलहरूले लिएका छन् । उनीहरूले व्यवसाय विस्तार गर्न आफै विज्ञापन गर्छन् । यसले विशेष स्वाद र रुचि भएका पर्यटकलाई नेपाल ल्याउन मद्दत गर्ने देखिन्छ । जसरी होटलमा लगानी बढेको छ त्यसअनुसार पर्यटक नआउँदा यसमा गरिएको लगानी जोखिमपूर्ण देखिएको छ ।  पाँचतारे होटेलहरू काठमाडौंमा बढी केन्द्रित देखिन्छन् । तर, नेपाल आउने पर्यटक पक्कै पनि काठमाडौंमा मात्रै घुम्नका लागि आउँदैनन् । त्यसो हुँदा यस्ता होटेल प्रमुख पर्यटकीय क्षेत्रमा बन्नु आवश्यक देखिन्छ । पर्यटनको राजधानी भनिने पोखरामा एउटामात्रै पाँचतारे होटेल छ । अर्को पाँचतारे होटेल फूलबारी समस्यामा परेको छ र सञ्चालन हुन सकेको छैन । सुविधाका हिसाबले पाँचतारेसरहका होटेल भए पनि पाँचतारे होटेल पोखरामा एउटामात्रै सञ्चालन हुनुले गुणस्तरीय पर्यटन त्यति सहज छैन भन्ने देखाउँछ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो ।  पाँचतारे मात्रै होइन तीन र चारतारे होटेलका साथै ताराविहीन होटेलहरूको संख्या पनि निकै बढेको छ । अर्थात् नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी बढेको छ । अहिले सबै होटेलको कोठाको संख्या हेर्दा वार्षिक २० लाख पर्यटक आए पनि धान्ने देखिन्छ । तर, पर्यटकको संख्या १० लाख मात्रै नाघेको छ । यसले यी होटेल पर्याप्त मात्रामा सञ्चालन हुन नसक्ने देखिन्छ । यद्यपि पछिल्ला समय विश्वका धनाढ्यहरूले खुसुक्क नेपाल भ्रमण गर्न थालेको देखिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल सधैंजसो नै परिरहने गरेको छ । तर, उत्कृष्टको सूचीमा परेर पनि त्यसअनुसार पर्यटक ल्याउन भने नेपाल चुकिरहेको छ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीहरूले लगानी गर्ने हुन् । तर, पर्यटन आउने मुख्य माध्यम विमानस्थल नै कमजोर छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ । त्यस्तै नेपालको वायुसेवा अन्तरराष्ट्रिय क्षेत्रमा जति विस्तार हुन्छ त्यति नै पर्यटकको संख्या बढ्छ । सीधा उडान हुँदा हुने सहजता र समयको बचतको लाभ पर्यटकले लिन पाउँछन् र गुणस्तरीय पर्यटन बढ्छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानको विस्तार गर्न सकेको छैन । विदेशी वायुसेवा कम्पनीको महँगो भाडादरका कारण पनि पर्यटक नेपाल आउन तर्सिरहेको अवस्था छ । सरकारले पूर्वाधार निर्माण र सञ्चालन गर्न नसक्दा लगानीमा कस्तो असर पर्छ भन्ने कुरा भैरहवा र लुम्बिनी क्षेत्रका होटेलहरूले भोग्नुपरेको पीडाले बताउँछ । गौतमबुद्ध विमानस्थल चल्छ भन्ने हिसाब गरेर त्यहाँ ठूलो संख्यामा होटेलमा लगानी भयो । तर, विमानस्थल चल्न सकेन । अहिले व्यवसायीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो । त्यसैले सरकारले सही नीति लिनुपर्छ र त्यसअनुसार काम गर्नुपर्छ ।

तालीम, लगानी गरी तयार पारिएका जनशक्ति नेपालमा बस्दैनन्

होटेल एशोसिएशन नेपाल (हान) को ४८ औं साधारणसभाबाट एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाह दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् । पर्यटन व्यवसाय कोरोनाका कारण साढे २ वर्ष सुस्त रह्यो । यद्यपि सन् २०२३ को शुरुआतदेखि बढेको पर्यटक आगमनले व्यवसायी उत्साहित छन् । केही महीनाअघि मात्रै सरकारले पर्यटन दशकको घोषणा समेत गरेको छ । आतिथ्य सेवामा अन्तरराष्ट्रिय 'चेन ब्राण्ड' भित्रिरहेका छन् । यसरी पर्यटन व्यवसाय लयमा फर्किन थालेको अवस्थामा अब सरकार र निजीक्षेत्रका प्राथमिकता के के हुनुपर्छ त ? प्रस्तुत छ, होटेललगायत समग्र पर्यटन व्यवसायका समसामयिक विषयमा हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : हस्पिटालिटी क्षेत्रमा लामो समय व्यतीत गरेपछि अहिले हानको नेतृत्वमा आउनु भएको छ । यो क्षेत्र अहिले कस्तो अवस्थामा छ ?  आतिथ्य व्यवसाय औपचारिक रूपमा २००७ सालदेखि शुरू भएको हो । पर्यटन मुलुकको सबैभन्दा व्यावसायिक रूपमा सञ्चालित उद्योग समेत हो । ठूलो क्षेत्र भएकाले समस्या पनि छन् । कोरोना भाइरसले यो उद्योग नराम्ररी प्रभावित भयो । अहिले विस्तारै अघि बढ्दै छ । केही मात्रामा व्यवसाय बढेको छ । २/३ वर्ष आम्दानी शून्यको अवस्थामा झ¥यो । सरकारले बन्दाबन्दी लागू गर्दा व्यवसाय हुन सकेन, जसले गर्दा आयआर्जन सुक्यो । पर्यटन व्यवसायको अहिलेको मुख्य समस्या बैंक तथा वित्तीय संस्थाको सावा/ब्याज तिर्न नसक्नु हो । गत आर्थिक वर्षमा समयमा सावा/ब्याज तिर्न नसक्नेलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले केही राहत दिएको थियो । तर, चालू आर्थिक वर्षदेखि भने सामान्य अवस्थाको जस्तै व्यवहार गरिएको छ । समयमा सावा/ब्याज तिर्न नसक्नेलाई अहिले धरपकड, दण्ड सजायका कुरा आइरहेका छन् । हाम्रो साधारणसभामा सदस्य होटेलहरूले यही विषय उठाएका छन् । आउँदो बजेट र मौद्रिक नीतिको समीक्षाले होटेल क्षेत्रका समस्या सम्बोधन हुने आशा छ । पर्यटक आगमन बढ्दो छ । अन्तरराष्ट्रिय चेन ब्राण्ड र नयाँ होटेल पनि आउँदै छन् । पर्यटन क्षेत्र लयमा फर्किएको हो ? हेर्दा त्यस्तो देखिन्छ । पाँचतारे होटेल आएका छन् र भीडभाड पनि देखिन्छ । तर, समस्या कहाँ रह्यो भने जसरी आपूर्ति बढ्यो, त्यसअनुसार माग बढेको छैन । अहिले भएका होटेलहरूबाट ३५ लाख ग्राहकलाई सेवा दिन सक्छौं । तर, यथार्थमा सन् २०२२ मा ६ लाख पर्यटक आएका छन् । अहिले होटेलहरू २५ प्रतिशत क्षमतामा मात्र चलेका छन् । मागभन्दा आपूर्ति बढी छ । तर, हाम्रो विश्वास छ, माग पनि बढ्नेछ । किनभने हामी चीन र भारतको बीचमा छौं । कोभिडपछि करोडौं संख्यामा चिनिया“ र भारतीय पर्यटक बाहिर निस्किन्छन् । तर मुख्य समस्या कनेक्टिभिटीमा छ । यसले ठूलो मर्का परेको छ । त्रिभुवन विमानस्थलले मात्र धान्दैन । अन्तरराष्ट्रिय विमानस्थल भनिए पनि पोखरा र गौतमबुद्धबाट आन्तरिक उडान मात्र भएका छन् । यहाँ भारतीय र चिनियाँ पर्यटक ल्याउन सकिन्थ्यो । चीन र भारत जोड्ने सडक पनि स्तरीय छैनन् । नेपाली होटेल क्षेत्र सेवासुविधा दिन तयार छ । काठमाडौंका पाँचतारे चेन होटेलको मार्केटिङ आक्रामक हुन्छ । यसले नयाँ होटेल चल्न समस्या भएन । तर, यहाँ ५०–५५ वर्षदेखि सञ्चालन भइरहेका होटेल पनि धेरै छन् । यस्ता होटेल राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । आन्तरिक पर्यटक बढेका छन् । नेपालको परिवेश हेर्दा ३८ देखि ४० प्रतिशत अकुपेन्सी भएमा होटेल सञ्चालन राम्रो मानिन्छ । गतवर्ष नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिएको थियो । यस्तो सुविधा सबै व्यवसायीले पाएका थिए ?  सरकारले दिएको सहुलियतपूर्ण कर्जा राम्रो पहुँच भएकाले मात्र पाए । सबै व्यवसायीले पाउन सकेनन् । सहुलियतपूर्ण कर्जातर्फ ५० अर्ब रुपैयाँ छुट्ट्याइएको थियो । यसमध्ये ५ प्रतिशतजति उपयोग भयो होला, दुरुपयोग पनि भयो होला । हस्पिटालिटी क्षेत्रमा अर्बाैं लगानी छ । भएका होटेल तथा रिसोर्ट नै पूर्ण क्षमतामा सञ्चालन नहुँदा पनि यो क्षेत्रमा नयाँ लगानी थपिएको र थपिँदै छ । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रिने क्रम जारी छ । यो क्षेत्रमा यस्तो आकर्षण किन ? कोभिडअघि सन् २०१९ मा झन्डै २० करोड चिनिया“ बाहिर निस्किए । त्यस्तै करीब १० करोड भारतीय बिदामा बाहिर निस्किए । यसरी हामी वार्षिक करोडौं पर्यटक घुमफिरका लागि निस्कने दुई देशको बीचमा छौं । ३० करोडमध्ये २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके जति होटेल खुले पनि समस्या हुँदैन । यसका लागि बलियो कनेक्टिभिटी हुनुपर्‍यो । नेपालमा हवाई दुर्घटना पनि भइरहेको छ । यसले हाम्रो हवाई सेवाप्रतिको विश्वसनीयता घटाउँछ । खर्च गर्न सक्ने पर्यटक पनि हवाई सेवा लिने कि नलिने द्विविधामा हुन्छन् । समस्या र यसको समाधान पनि सम्बन्धित निकायलाई थाहा छ । नियामक र सेवाप्रदायक एकै निकाय हुँदा समस्या भयो भन्ने छ । यसमा सुधार गरौं । व्यवसायी पनि प्रभावशाली नै देखिन्छन् । जोखिम लिएर करोडौं लगानी गर्नुभएको छ । कनेक्टिभिटीलगायतको सुधारका लागि तपाईंहरू किन सामूहिक रूपमा पहल गर्नुहुन्न ? संघसंस्थामा लागेको, संस्थाहरू बनाएको नै यसैका लागि हो । हाम्रो काम पनि यसमा भइरहेकै छ । तर, एउटा निकायले मात्र गरेर हु“दैन । दशकौंदेखि चलिरहेको पर्यटन क्षेत्रलाई सेवा व्यवसायको रूपमा मात्र परिभाषित गरिएको छ । व्यवसाय भनेको सानो पसलदेखि मोटरसाइकल बनाउने कारखाना पनि हो । खर्बाैं लगानी भएको यो क्षेत्रले उद्योगको मान्यता पाउन सकेको छैन । पर्यटन क्षेत्र उद्योगको रूपमा किन समावेश भएन ? यसमा समावेश हुँदा के फाइदा हुन्छ ? तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि विष्णु पौडेल अर्थमन्त्री हुँदासम्म पर्यटन तथा होटेललाई उद्योगसरह मान्यता दिने भनियो । तर, सरकार गएपछि फाइल जहाँको त्यहीँ थन्किएको छ । उद्योगको मान्यता पाउँदा यस क्षेत्रलाई सरकार र नीति निर्माताले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । कुनै घरपरिवारले जुन दररेटमा विद्युत् महशुल तिर्छन्, होटेलले पनि त्यति नै तिरे पुग्छ । वैदेशिक मुद्राको आधारमा मात्रै गाडीलगायत सामानमा भन्सार छूट दिइन्छ । यो पटके निर्णय हो । होटेलहरू उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन्छन्, व्यवहार चाहिँ उद्योगसरह गरिँदैन । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रि“दा मुलुकका स्थापित होटेललाई के कस्तो दबाब छ ?  नेपालमा सम्भावना देखेरै चेन ब्राण्ड आएका हुन् । खुला बजार अर्थतन्त्रमा व्यवसाय आउन नसक्ने वा नपाउने भन्ने हुँदैन । त्यस्ता होटेल व्यवस्थापन नयाँ तौरतरीका, नवप्रवर्तन र नयाँ प्रविधिसहित आएका हुन्छन् । त्यसले सञ्चालन खर्च कम हुन्छ । नेपालमा पनि ‘यो चेन ब्रान्ड छ’ भन्ने सन्देश जाँदा स्वतः यहाँको प्रचारप्रसार हुने भएकाले फाइदा नै हुन्छ । अब ‘केकको साइज’ बढाउनुपर्छ । सरकारले घोषणा गरेको ‘पर्यटन दशक २०२३–२०३३’ मार्फत वार्षिक ३५ लाख पर्यटक भित्र्याउन कत्तिको सम्भव देख्नुहुन्छ ?  होटेल व्यवसायबाट प्रवाह हुने सेवा र क्षमताले अहिले नै हामी सक्षम छौं । निजीक्षेत्र धेरै अघि बढेको छ । तर, सरकार भने धेरै पछि छ । आउ“दो पर्यटन सिजनमा नेपालमा आउन चाहनेको सोधखोज निकै उत्साहजनक छ । नेपालप्रति चाख बढेको छ । आउँदो जुन महीनामा ठूलो कार्यक्रम आयोजना गर्दै छौं । ट्राभल एसेन्सीहरूले पनि नेपाल प्याकेज विक्री शुरू गरेका छन् ।  त्यसोभए सरकारले के कस्ता काम गर्दा यो लक्ष्य हासिल हुन्छ ? सबैभन्दा पहिले थपिएका दुईओटा अन्तरराष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्धबाट प्रभावकारी रूपमा अन्तरराष्ट्रिय उडान हुनुपर्छ । सरकारी निकायहरूबाट मार्केटिङ हुनुपर्छ । यसका लागि निजीक्षेत्र वा अनुभवप्राप्त अन्तरराष्ट्रिय संस्थाबाट भए पनि यी विमानस्थल सञ्चालन गरौं । यसको सफल उदाहरण भारतको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल छ । अर्बाैं लगानी भएका विमानस्थल खाली राख्नु भएन । सातओटै प्रदेशलाई पर्यटन चाहिएको छ । तर, करका कुरा मिलाउनुपर्छ । प्रदेशमा गएर पर्यटन र होटेलमा लगानी गर्न लगानीकर्ता लालायित छन् । गर्ने निजीक्षेत्रले नै हो । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । त्यसमा कुरा र भाषणले टार्नु भएन । तीनओटै तहलाई जोडेर काम गर्दा उल्लेख्य परिणाम हासिल गर्न सकिन्छ । नेपालभन्दा पछि पर्यटन व्यवसाय शुरू गरेका मुलुकले वार्षिक करोडौं पर्यटक भित्र्याउँटन् । तर, हामी १०–१५ लाख पर्यटकमा अल्झिएका छौं । यसमा निजीक्षेत्र पनि चुकेको भन्न सकिन्छ ? निजीक्षेत्र कहाँ चुक्यो भन्नुस् । होटेल क्षेत्रमा खर्बाैं लगानी भएकै छ । ११ लाखलाई रोजगारी दिएका छौं । थप लगानी गर्न लगानीकर्ता इच्छुक छन् । कनेक्टिभिटी जस्ता पूर्वाधार विस्तारमा सरकार र प्रचारप्रसारमा नेपाल पर्यटन बोर्ड प्रखर हुनुपर्छ । निजीक्षेत्रकै पहलमा पर्यटन गन्तव्य चर्चित भएका छन् । यो त प्रमाणित छ । सबै स्तरीय होटेल रेस्टुरेन्टको मेनुमा नेपाली खाना पनि समावेश गर्ने अभियान चलाउने कुरा पनि थियो । त्यसमा के भइरहेको छ ?  यसअन्तर्गत हालसम्म २२० ओटा नेपाली रैथाने खानाको रेसिपी तयार गरिएको छ । यसमा नेपालका सेफहरू पनि लागिरहनुभएको छ । रेसिपी तयार गरेर अनलाइनमा राखिएको छ । ९० देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले सञ्चालन गरेका रेस्टुराँमा अहिले यही रेसिपीअनुसार बनाइएको नेपाली परिकारको स्वाद विदेशीलाई चखाइएको छ । खासगरी युरोपेली शहरमा रहेका नेपाली रेस्टुरा“मा यो रेसिपीको बढी प्रयोग भएको छ । यसलाई थप विस्तार गर्ने योजनामा छौं । विश्वका पर्यटन मेलामा नेपाली परिकार राख्ने तयारी छ ।  नेपालमा बढी खर्च गर्ने पर्यटक ल्याउन के के गरिनुपर्छ ? बढी खर्च गर्ने पर्यटकलाई विमानस्थलदेखि नै विशेष सुविधा दिनुपर्छ । व्यवसायीले धेरै प्याकेज विकास गरेका छन् । त्यसमा बढी खर्च गर्नेमा युरोपेली, अमेरिकी, जापानीहरू पर्छन् । चार्टर्ड उडानमा आउनेका लागि विमानस्थलबाट उडान अनुमति लिन ढिलाइ तथा समस्या हुन्छ, जसले गर्दा उनीहरू नेपालको विकल्प खोजेर अन्यत्र जान्छन् ।  अहिले भइरहेका गन्तव्यभन्दा केही पृथक् प्रडक्ट पहिचान भएको छ त ? सातओटै प्रदेशमा १०० गन्तव्य पहिचान भएका छन् । अहिलेको प्रचलन गन्तव्यका साथै पर्यापर्यटन, ग्यास्ट्रोनोमी (सांस्कृतिक, जातजातिमा प्रचलित खाना), स्वास्थ्य, खेल, अध्यात्म, सांस्कृतिक पर्यटनलगायतका गतिविधि बढाउनुपर्छ । हस्पिटालिटी क्षेत्रका जनशक्ति विदेशिने गरेका छन् । यो क्षेत्रमा जनशक्ति पाउन कत्तिको कठिन छ ? यो क्षेत्रमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । यो क्षेत्रमा स्थायी, अस्थायी, सिजनअनुसार जनशक्ति राखिएको हुन्छ । सिजनमा होटेलहरूमा थप जनशक्ति आवश्यक हुँदा पार्टी प्यालेसहरूबाट ल्याइन्छ । होटेल व्यवस्थापन कलेज पनि जनशक्ति आपूर्तिका स्रोत हुन् । क्याटरिङ, पार्टी प्यालेस र यस्तै खालका शीप सिकेका कामदार पनि हुन्छन् । शीपयुक्त जनशक्ति पाउन समस्या छ । सरकारले ३५ अर्ब रुपैयाँ शीपमूलक शिक्षा तथा तालीममा खर्च गर्छ । होटेल क्षेत्रमा तालीम दिने धेरै संस्था छन् । त्यहाँबाट सैद्धान्तिक शिक्षा लिएकाहरूलाई होटेलले ५/६ महीना काम गर्ने अवसर दिन्छन् । तर, त्यसरी तालीम दिएर, लगानी गरेका जनशक्ति बढीमा १ वर्षमै विदेशिन्छन् । यसलाई यहीँ व्यवस्थापन गर्ने सरकारको नीति छैन । हामीले समय, लगानी गरेर तालीम दिन्छौं, यो हामीलाई उपयोगसिद्ध भएन । अर्काेतर्फ, नेपालमा भएका कलेजले सैद्धान्तिक ज्ञानमात्र दिए ।  दुईवर्षे कार्यकालमा के के गर्नुहुन्छ ? प्राथमिकता के हुन् ? हानको विधान र मिसनअनुसार काम गर्ने हो । यो व्यवसाय टिकाउन विभिन्न आयाममा समयसीमा तोकेर काम गर्नेछौं । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, सदस्य विस्तार, राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा समावेश गर्ने लगायत काम प्राथमिकतामा छन् । यो क्षेत्रलाई बढीभन्दा बढी काम चाहिएको छ । प्रचारप्रसारमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर काम गरिनेछ । यी काम गर्न सकिए पनि आजको भन्दा फरक परिवेश बन्छ । अर्काेतर्फ सरकारले गर्ने निर्णयहरू मिडियामार्फत जानकारी हुनुभएन । होटेल व्यवसायीसँग पनि सहकार्य र छलफल गर्नुपर्छ ।

चिनियाँ पर्यटकको अपेक्षा र हाम्रो अवस्था

चीन सरकारले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई समेत सूचीकृत गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत) देखि चिनियाँ नागरिकलाई एजेन्सीहरूले नेपाल भ्रमणका लागि प्याकेज विक्री गर्न खुला भएको छ । चिनियाँ नागरिकका लागि नेपाल लोकप्रिय गन्तव्य हो । यसो हुनुमा नेपाल चीनको नजिकको मुलुक हुनु र विनाट्रान्जिट सीधा उडानबाट नेपाल आउन सक्नु हो । साथै चिनियाँहरूले भिसा शुल्कसमेत तिर्नु पर्दैन । त्यसैले आगामी दिनमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने देखिन्छ । तर, सही नीति लिन नसके संख्या बढे पनि लाभ भने लिन नसक्ने अवस्था आउँछ । नेपालमा कोभिड–१९ को संक्रमण हुनुअगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक अर्थात् ११ लाख ९७ हजार १९१ जना नेपाल आएका थिए । उक्त वर्ष चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ थियो । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महीना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ । यसले अब चिनियाँ पर्यटकको आगमन बढ्ने संकेत दिन्छ । संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पनि पर्छन् । तर, नेपालमा त्यस्ता खर्चालु चिनियाँ पर्यटक निकै कम आएको देखिन्छ । कन्जुस पर्यटक नै आए पनि नेपालको पर्यटन व्यवसायले राम्रो अवसर पाएको देखिन्छ । चीनबाट घुमफिरमा निस्कने धेरैजसो पर्यटक उच्च र मध्यम आय भएकाहरू नै हुन्छन् । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पोखरा हो । त्यहाँ उनीहरू प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ सबै गर्न रूचाउँछन् । काठमाडौं, पोखरा र चितवन चिनियाँ नागरिकले सबैभन्दा बढी रुचाएका गन्तव्य हुन् । चीनले नेपाल जान खुला गरेको मात्र होइन, नेपालमा हवाई उडान पनि शुरू गरेको छ । अहिले चाइना साउदर्न, एयर चाइना आदिले उडान थालेका छन् । त्यस्तै हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङमा नियमित उडान गरिरहेको छ । यसले आगामी दिनमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य मात्रामा आउने अपेक्षा गर्न सकिन्छ अहिले चीनले धेरै प्रगति गरेको छ । चीन विश्वको पहिलो अर्थतन्त्र बन्दै छ । त्यहाँ मध्यम वर्गको उदय भइसकेको छ । अर्बपतिहरूको संख्या निकै बढेको छ । यसरी चीनमा बढिरहेको समृद्धिबाट नेपालले फाइदा लिन सक्छ । त्यो फाइदा भनेको पर्यटन क्षेत्र नै हो । धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउने हो भने यसबाट नेपालको अर्थतन्त्रले लाभ लिन सक्छ । चीन नेपालको दोस्रो व्यापारिक साझेदार हो । चीनसँग व्यापार घाटाको अन्तर पनि निकै ठूलो छ । नेपालबाट वस्तु निर्यात गर्न सकिँदैन किनभने त्यहाँको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । विश्वभरि नै सस्तो सामान उत्पादन गरेर चीनले ठूला अर्थतन्त्रलाई समेत समस्यामा पारेको छ । यो व्यापारघाटा कम गर्न हामीले सेवा निर्यात गर्नुपर्छ । त्यो भनेको पर्यटन नै हो । नेपालले चीनबाट लाखौं पर्यटक भित्र्याउन सक्छ । अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियाजस्ता देशमा पनि आजकाल थुप्रै चिनियाँ पर्यटक तथा व्यापारी देख्न सकिन्छ । तीमध्ये २–३ प्रतिशत पर्यटक नेपाल ल्याउन सक्यौं भने लाखौं नेपालीलाई रोजगार बनाउन सकिन्छ । विश्व पर्यटन संघको तथ्यांकले बताएअनुसार अहिले वार्षिक करीब ९ करोड चिनियाँ विदेश भ्रमणमा निस्कन्छन् । त्यसको १ प्रतिशत नेपाल ल्याउन सकिए ९ लाख पर्यटक मात्र चीनबाट आउने रहेछन् । अहिलेका लागि यो अंक निकै ठूलो हो तर असम्भव भने होइन । चिनियाँ पर्यटकको संख्यामा भइरहेको वृद्धि हेर्दा केही वर्षमै त्यो संख्या नभेटिएला भन्न सकिँदैन । तर, उचित प्रचार नीति आवश्यक छ । चिनियाँहरूको नेपालप्रतिको सद्भावलाई समेत दृष्टिगत गरी सरकारी र कूटनीतिक तहबाट पर्यटनको प्रचारका लागि काम गरिनुपर्छ । त्यस्तै चिनियाँ पर्यटकको रुचि र रोजाइअनुसार लगानी पनि आवश्यक हुन्छ । तर, चिनियाँ पर्यटकको रोजाइअनुसार पर्यटन प्रडक्टमा नेपाल निकै पछाडि छ । ठूला पूर्वाधारमा लगानी गरेर साहसिक खेलहरू थपिनुपर्छ । त्यस्तै नेपालमा थीम पार्कको आवश्यकता देखिएको छ । ठूलो लगानीको थीम पार्क बन्न सके चिनियाँ पर्यटकबाट बढी लाभ लिन सकिन्छ । चिनियाँ पर्यटक बढेसँगै चिन्ता पनि थपिएको छ । नेपालमा चिनियाँ लगानी बढ्दो छ । नेपाललाई वैदेशिक लगानी आवश्यक छ । त्यसैले चिनियाँ लगानीलाई पनि स्वागत गर्नुको विकल्प छैन । तर, होटेल, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा चिनियाँ लगानी स्वीकार्दा नेपालले नोक्सान खानु परिरहेको तथ्यलाई यहाँनेर बिर्सनु हुँदैन । चिनियाँ वायुसेवा कम्पनीबाट नेपालमा आउने, चिनियाँ लगानीको होटेलमा बस्ने र चिनियाँ रेस्टुराँमा नै खाने धेरैजसो पर्यटकले वीच्याटबाट भुक्तानी गर्छन् । त्यसरी भुक्तानी गर्दा नेपाललाई केही पनि फाइदा हुँदैन । त्यसैले पर्यटन क्षेत्रमा ठूलो पूर्वाधारमा मात्रै चिनियाँ लगानी स्वीकार्नु उपयुक्त हुन्छ । सानोतिनो लगानी गर्न दिँदा नेपाली व्यवसायीलाई नै समस्या पर्छ । कोरोना नआएको भए अहिले ठमेल करीब करीब चिनियाँहरूको नियन्त्रणमा गइसक्ने थियो । अझै पनि चिनियाँ लगानीका होटेलहरू प्रशस्त छन् । त्यसैले चिनियाँ पर्यटकको संख्या गनेर मात्रै हुँदैन, तिनले गर्ने खर्चको भुक्तानी नेपाली च्यानलबाट हुनुपर्छ । चिनियाँ पर्यटकबाट नेपालले त्यति बेला लाभ लिन सक्छ जति बेला उनीहरूलाई पर्याप्त गतिविधिमा सामेल गराई बढीभन्दा बढी खर्च गर्ने सेवा दिइन्छ । नेपालको मनोरम प्रकृति भनेर आए पनि अन्य देशका पर्यटकको दाँजोमा उनीहरू पदयात्रा, हिमाल आरोहण जस्ता गतिविधिमा कमै रमाउने गरेका छन् । त्यसैले चिनियाँ पर्यटन बजारमा आँखा लगाउँदा हामीले यो पक्षलाई ध्यान दिनैपर्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न ठाउँमा पर्यटकको आवागमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा पर्यटक देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटकको बढ्दो चहलपहलले पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । ‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ,’ उनले भने । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । ‘ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ,’ उनले भने । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटेल रहेका छन् । ठमेलको चारतारे होटेल रमदा इन्कोरका सञ्चालक गोपाल पँगेनी पर्यटन मौसम शुरु भएसँगै आफ्नो होटेलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन् । मार्च, अप्रिल र मे महीनालाई नेपालमा पर्यटकीय मौसम मानन्छ । काठमाडौं–१६ ठमेलमा रहेको ९२ कोठे रमदा होटेलमा मार्चका लागि ७० प्रतिशत, अप्रिल र मेका लागि ९० प्रतिशत कोठा बुकिङ भएका छन् । सोही होटेलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् । ‘एक महीना पहिलेभन्दा अहिले होटेलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्,’ उनले भने । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ । ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रवार र शनिवार ठमेलमा अरु दिनभन्दा बढी चहलपहल हुन्छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् । ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेशन रेस्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको संख्या बढेको बताउँछन् । ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ,’ उनले सुनाए । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २ ५५ पर्यटक नेपाल आएका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी भित्रिएका थिए । सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटक आएका थिए । सन् २०२१ को सोही महीनामा ९ हजार १४६ विदेशीले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवर्द्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेको भनाइ छ । फ्रेबुअरीमा भारतबाट १८ हजार ४०१ पर्यटक आए । अमेरिकाबाट ७ हजार ८८७ आएका छन् । त्यस्तै थाइल्यान्डबाट ४ हजार ८०२, दक्षिण कोरियाबाट ३ हजार २४६, अस्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।  रासस

धूवाँरहित उद्योगमा १० खर्बको लगानी !

विश्वभरि पर्यटन उद्योगलाई ‘धूवाँरहित उद्योग’को मान्यता दिइएको छ । नेपालको धूवाँरहित उद्योगअन्तर्गत होटेल, मोटेल (नेपाल मोटेल भए÷नभएको पंक्तिकारलाई थाहा भएन), कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, लज, घरवास (होमस्टे) आदिलाई लिन सकिन्छ । तर, समग्र पर्यटनअन्तर्गतको परिभाषा भने अलि बृहद् छ । जस्तै पदयात्रा, पर्वतारोहण अर्थात्, जलयात्रा, बरफ आरोहण आइस क्लाइम्बिङ, वनजंगल घुम्ने/जंगल सफारी, निकुञ्ज घुम्ने, बन्जी जम्पिङ गर्ने, चरा अवलोकन गर्ने, माछा मर्ने, शिकार खेल्ने, हट एयर बालुनिङ, जिप फ्लायर, चट्टान आरोहण–रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान–योग अर्थात् योगा पर्यटन, गाउँ अवलोकन भ्रमण आदिलाई समग्र पर्यटनमा समेट्ने गरिन्छ । ३ वर्षअघि (कोरोना महामारी शुरू हुनुअघि) को तथ्यांकअनुसार नेपालको होटेलले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ । होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, घरवास (होमस्टे) आदिलाई पर्यटनको मेरूदण्डकै रूपमा लिनुपर्ने हुन्छ । किनभने, कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै उसलाई सबैभन्दा पहिले वास बस्ने व्यवस्था हुन जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? कहाँ जाने भन्ने चिन्ता गर्छ । अथवा अर्को शब्दमा भन्नु पर्दा कुनै पनि मान्छेले आफ्नै देशभित्र आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त वा नातागोता कहाँ बाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । अर्को महत्त्वपूर्ण कुरो, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर रात बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्रसंघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । आन्तरिक वा बाह्≈य पर्यटन बारेको परिभाषा हेर्दा भारतीय सीमाक्षेत्रको होटेल वा लजमा बसेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिउँसो एकैछिन (३–४–५ घण्टा) नेपाल घुमेर वास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? बुद्ध धर्मका प्रवद्र्धक (गौतम बुद्धलाई विश्वभरका अनुयायीहरूले भगवान् मान्ने गरेका छन्) गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने, सोही दिन भारततिरै फर्केर वास बस्न जाने विदेशी पर्यटकलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । नेपालको होटेल उद्योगको कुरो गर्दा ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति÷प्रगति भइरहेको देखिन्छ, कोरोना महामारी शुरू हुनुअघिदेखि नै । लगभग ४ वर्षअघि नै नेपालको होटेल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको थियो । यस सम्बन्धमा सहयोगी आर्थिक अभियान दैनिकको सह प्रकाशन, ‘बिजिनेश एज’मा सन् २०१७ को मे महीनामा प्रकाशित रिपोर्टअनुसार सन् २०१६ मा मात्रै स्वदेशी तथा विदेशी होटेल (चेन होटेल) होटेल व्यवसायीहरूले नेपालको होटेल उद्योगमा ६ खर्ब (६० बिलियन) नेपाली रुपैयाँ लगानी गरेका थिए । त्यो आधारमा हेर्दा हालसम्म स्वदेशी तथा (विदेशी होटेल चेन) होटेलहरूले नेपालको होटेल उद्योगमा १८/१९ देखि २१/२२ खर्ब नेपाली रुपैयाँ लगानी गरिसकेका होलान् भनी अनुमान गर्न सकिन्छ । ३ वर्षअघि नै कैलाली जिल्लाको धनगढीलगायत विभिन्न स्थानमा होटेल उद्योगमा लगभग ९ अर्ब नेपाली रुपैयाँ लगानी भएको भनी समाचार आएको थियो । अझै पनि नेपालको विभिन्न पर्यटकीय संभावना रहेको पर्यटकीय क्षेत्र र ठाउँमा होटेल खोल्ने क्रम जारी रहेको छ । कोरोना महामारीपछि पर्यटन उद्योग कसो नतङ्ग्रेला ? भनी नेपालको होटेल उद्योगमा विदेशी लगानी (चेन होटलेको रूपमा) पनि भित्री रहेकै देखिन्छ । स्वदेशी लगानीकर्ताहरूले पनि कोरोनापछिको सम्भावनालाई ध्यानमा राखेर होटेलमा लगानी गर्ने क्रम रोकिएको छैन । सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लाको माथिल्लो भेगमा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल ‘मुक्तिनाथ’को भ्रमण गरेपछि भारतीय हिन्दू धर्मालम्बीको घुइँचो लाग्न थालेको थियो । तर, कोरोना महामारीका कारण यो क्रम रोकिएको छ । यसरी भारतीय हिन्दू धर्मालम्बीलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटेल खुल्ने क्रम बढ्दो रहेको छ । विसं २०७६ साउन अन्त्यतिर एक अनलाइन न्यूज पोर्टलमा छापिएको समाचारमा उल्लिखित तथ्यांकअनुसार सन् २०१५ ताका मुक्तिनाथ क्षेत्र वरिपरि १५ ओटा पर्यटकीयस्तरका होटेल थिए भने हाल त्यहाँ पर्यटकीय होटेलको संख्या २३÷२४ ओटा पुगेको छ । सन् १९९३/९४ तिर यो पंक्तिकार ट्रेकिङ भरियाका रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईओटा मात्रै साधारण (पर्यटक बस्नलायक) होटेल देखेको थियो । त्यो वेला थोराङपास ट्रेकिङ रूटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा होटेल वा लज हुन्थेन । होटेल वा लज उपलब्ध नहुने भएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । मुक्तिनाथ दर्शन गर्न आउने धेरै जसो भारतीय र नेपाली हिन्दू तीर्थयात्रीहरू पाटी, पौवा, धर्मशालामा वास बस्थे भने, यूरोप, अमेरिकालगायत देशका पदयात्रीचाहिँ क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे । ३ वर्षअघि (कोरोना महामारी शुरू हुनुअघि) को तथ्यांकअनुसार नेपालको होटेलले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचमा केही नभए तापनि १९÷२० हजार बेड क्षमता बढेको हुन सक्छ । त्यहीअनुसार विदेशी पर्यटक नेपाल भ्रमणमा आएनन् भने, होटेलमा लगानी गरेका लगानीकर्ताले कहिले नाफा कमाउने हुन् ?, सञ्चालन खर्च उठाउनै कठिनपर्ने देखिन्छ । धेरैजसो लगानीकर्ताले आफ्नै पकेटको पैसाभन्दा पनि बैंक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । शहरबजारमा खुलेका ‘होस्टेल’ र ‘होमस्टे’हरू तारे होटेलका लागि प्रतिस्पर्धीका रूपमा रहेका छन् । काठमाडांैलगायत सुविधा सम्पन्न क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’हरू चलाउन दिनु हुँदैन । भनी ठूला/तारे होटेलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बद्ध निकायले ध्यान दिने र सम्बोधन गर्ने हो कि ? नीति निर्माताहरूले गम्भीर सोच्नुपर्ने देखिन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

अपांगमैत्री पर्यटन

कोरोनाले थलिएको पर्यटन क्षेत्र कहिलेदेखि चलायमान हुन्छ र आगामी दिनमा यसले कस्तो रूप र आयाम लिन्छ भन्ने अन्योल कायमै रहेको अवस्थामा पर्यटनमा नयाँ सम्भावनाको खोजीमा अपरिहार्य बनेको छ । कोरोना अघिका वर्षहरूमा पर्यटक आगमन बढे पनि यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिएको योगदान उल्लेख्य बढ्न सकेको थिएन । गुणस्तरीय पर्यटकको संख्या कम भएकाले कसरी पर्यटकको खर्च बढाउने भन्नेमा सरोकारवालाहरूले चासो दिएका थिए । यही सन्दर्भमा नेपालमा अपांगमैत्री पर्यटनको कमी भएको र यसबाट ठूलो लाभ लिन सकिने निष्कर्ष निकालिएको छ जसले पर्यटनमा थप लगानी गरेर पहिचानयुक्त पर्यटनका माध्यमबाट राम्रो आर्जन गर्न सहयोग गर्ने देखिन्छ । नेपालले अपांगमैत्री पर्यटनमा महत्त्व नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् । नेपालको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधताजस्ता कुराले नेपालको पर्यटन विशेष रहे पनि त्यसअनुसार ब्रान्डिङ गर्न सकिएको छैन । साथै, पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार सही र पर्याप्त नहुँदा सम्भावना दोहनमा नेपाल चुकिरहेको छ । पर्यटक आगमनको वार्षिक संख्या १० लाख नाघे पनि गुणस्तरीय पर्यटकको संख्या कम हुँदा कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढ्न सकेको छैन । त्यसैले पर्यटनको विविधीकरण र नयाँ प्रडक्टका लागि विभिन्न अध्ययन र काम पनि भइआएका छन् । यसै सन्दर्भमा नेपालको पर्यटनमा अपांगमैत्री संरचना र प्रडक्ट नबनेको अध्ययनको निष्कर्ष निक्लिएको छ । अध्ययनले पर्यटनमा थप सम्भावनाको क्षेत्रलाई पनि औंल्याएको छ । अन्तरराष्ट्रिय वित्त निगमले गराएको एक अध्ययनले अपांगमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्न सके विश्वव्यापीरूपमा बढ्दो पहुँचयोग्य पर्यटन प्रवर्दधन हुने र त्यसले आर्थिक वृद्धिदर उकास्नमा सक्ने देखाएको छ । तर, नेपालमा सञ्चालनमा रहेका अधिकांश होटल अपांगतामैत्री पाइँदैनन् । अपांगता भएका व्यक्तिको पहुँचयोग्य हुने गरी भौतिक संरचना र सेवाको व्यवस्था गरिएको छैन । अध्ययनमा सहभागी १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाका लागि पहुँचयोग्य रहने गरी संकेत चिह्न प्रयोग गरेको पाइयो । ९ प्रतिशत होटेलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका रहेका र ३३ प्रतिशत होटेलमा ह्विलचेयरको व्यवस्था रहेको छ । अपांगमैत्री सुविधा नहुँदा अपायक ठाउँमा यस्ता पर्यटक पुग्न नसकेको पाइन्छ । पूर्वाधार र सेवाका लागि केही थप लगानी गरे नेपालले विशेष खाले पर्यटनका लागि महत्त्व पाउने देखिन्छ र कोरोनाका कारण थलिएको पर्यटनलाई गति दिन यसतर्फ ध्यान जानुपर्ने देखिन्छ । नेपाल फरक खालको गन्तव्यका रूपमा चिनिएको पनि छ । कोरोना अगाडि नेपालको पर्यटन एलजीबीटीहरू (समलिंगी, बहुलिंगी लगायत) का लागि बढी उपयुक्त गन्तव्य भनेर ख्याति कमाइसकेको थियो । यसले नेपालको पर्यटनमा भरथेग गरेको पनि हो । यसैगरी अपांगमैत्री पर्यटनले पनि नेपालको पर्यटन विशेष गन्तव्य बन्न सक्छ । सक्रिय जीवनबाट अवकाश पाएका, शारीरिक रूपमा अपांग भएका, होचापुड्कालगायत फरक क्षमता भएका व्यक्तिहरूले पहुँचयोग्य पर्यटनमा अन्यको तुलनामा बढी खर्च गर्ने गरेको बताइन्छ । त्यसैले यस्तो समूहलाई लक्षित गरी पर्यटन सेवा उपलब्ध गराउन सके थलिएको पर्यटनलाई उकास्न मद्दत मिल्न सक्छ । तर, नेपालले अपांगमैत्री पर्यटनमा महŒव नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् । नेपालको पर्यटनमा विविधीकरणको खोजी भइरहेको छ । एलजीबीटीको पहिचान कायम राख्दै कोरोनापछि पर्यटन उकास्न अन्य क्षेत्र पनि स्थापित गर्नुपर्छ । तीमध्ये अपांगमैत्री पर्यटन पनि एक हो । पर्यटनका नयाँ भौतिक संरचनाहरू पर्यटनमैत्री बनेका पनि छन् । तर, पुराना संरचनामा नै सञ्चालित होटेल तथा अन्य सेवासम्बद्ध क्षेत्र पर्यटनमैत्री रहेको पाइँदैन । नेपालमा यस्तो विकास भएको छैन तर जरुरी रहेको देखिन्छ । पैसा कमाएका मानिसहरू नेपालमा आउन चाहन्छन् । तर, अपांगहरूलाई असजिलो भएको सन्देश गए अन्यत्र जान्छन् । देशभित्रै पनि अपांगता भएका मानिसहरूले देशभित्र पर्यटनमा जान नपाउने अवस्था राम्रो होइन । त्यसैले अपांगतामैत्री पर्यटनले कोरोनापछिको पर्यटनलाई टेवा दिन्छ ।

चाटर्ड र उद्धारबाहेक सबै आन्तरिक उडान रोक्ने

काठमाडौँ । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र […]