सिंहदरबारको अधिकार होइन समस्या चाहिँ गाउँगाउँमा आएको छ : भक्तपुर नगर प्रमुख प्रजापति

    ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय जिल्लाको भक्तपुरको सबैभन्दा जेठो नगरपालिका हो भक्तपुर। स्थानीय भाषामा ख्वप भनिने यो नगर नेपालको रोम शहरको रूपमा समेत परिचित छ। पोखरीहरूको शहर रुपमा समेत परिचित भक्तपुरलाई सिद्धपोखरी, नःपुखु, भाजुपोखरी, कमलपोखरीले शोभायमान बनाएका छन्।

    'संस्कृतिको नगर', ‘जीवित सम्पदा', ‘नाचगानको राजधानी' र ‘नेपालको सांस्कृतिक रत्न'को उपमासमेत पाएको यस नगरको जुजु धौ, कालो भादगाउँले टोपी, हाकुपटासी, माटोका भाँडा, हस्तकला, काष्ठकला विश्व प्रख्यात छन्।

    १२औँ शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित भक्तपुर १५औँ शताब्दीसम्म मल्ल राज्यको राजधानी थियो। यहाँको दरवार स्क्वायर, न्यातपोल (पाँचतले मन्दिर), दत्तात्रय परिसर विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

    समुद्री सतहबाट करिब एक हजार ३५० मिटर उचाइमा रहेको यस नगरको क्षेत्रफल ६.८८ वर्ग किलोमिटर छ। २०६८ को जनगणनाअनुसार भक्तपुरमा ४२ हजार ६७८ जना पुरुष र ४० हजार ९८० महिला बसोबास गर्छन्। यहाँ नेवार समुदायको बाहुल्य छ।

    गत वर्ष बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाका सबै पदमा विजयी भएर नेपाल मजदुर किसान पार्टीले 'क्लिन स्विप' गरेको थियो। प्रस्तुत छ नेमकिपाका सचिवसमेत रहेका भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिसँग थाहाखबरकर्मी लक्ष्मी गारुले गरेको कुराकानी।

    कार्यकालको एक वर्ष पूरा भइसकेको छ। यो अवधिमा तपाईं आफैँलाई सन्तुष्टि मिल्ने जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने के काम र्नुभयो?

    हामीले निर्वाचनका समयमा जे घोषणापत्रमा उल्लेख गरेका थियौँ, सोहीअनुसार काम गरेका छौँ। जस्तो : शिक्षामा महत्त्वपूर्ण काम भएको छ। शिक्षक, अभिभावक र विज्ञहरूसँग सल्लाह गरी यो वर्ष कक्षा १ र ६ का लागि पाठ्यक्रम तयार गरी सार्वजनिक गरेर लागूसमेत गरिसक्यौँ। त्यसका साथै नगरपिलकाले छवटा वडामा शिशु स्याहार केन्द्र चलाइरहेका छौँ। प्रत्येक वडामा एकएक वटा बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ। नगरपालिकाले दुईवटा इञ्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्था चलाइरहेको छ।

    त्यसैगरी स्वास्थ्य क्षेत्रमा घरघरमा नर्सिङ सेवा प्रदान गर्दै आएका छौँ। तीनवटा जनस्वास्थ्य केन्द्रहरू संचालन गरिहेका छौँ। दैनिक ३०० भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेका छौँ। हामीले नौ जना विशेषज्ञ डाक्टरसहित २३ जना डाक्टर र करिब १०० जना नर्स राखेर स्वास्थ्य शिक्षा र उपचार सेवा दिइरहेका छौँ। आगामी वर्ष २५ शय्याको ख्वप अस्पताल संचालन गर्नेछौँ। त्यसका लागि भौतिक पूर्वाधार निर्माण भइरहेको छ।

    आयुर्वेदतर्फ पनि ठाउँठाउँमा शिविर राख्ने, जनताको घरदैलोमा पुगेर प्रचारप्रसार गर्ने काम भएको छ। आठ-दश महिनामै आठ हजार जनाभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ।

    त्यसैगरी नगरपालिकाले सरसफाइ क्षेत्रमा विगतभन्दा निकै महत्त्वपूर्ण कार्य सम्पादन गर्दै आएको छ। जनप्रतिनिधिहरू आएपछि प्रत्येक महिनाको १ र १५ गते सबै जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय क्लब, डाफा भजन, संघसंस्थालगायतको सहभागितामा सरसफाइ कार्य गर्छौं। कहिले मठमन्दिर, कहिले खोलानाला त कहिले घाट सरसफाइ गर्दै आएका छौँ। आफ्नो ठाउँ आफैँ सफा गरौँ भन्ने भावले नगरभित्रका ९२ वटा विद्यालयलाई उनीहरूले रोजेका सम्पदाहरूको सरसफाइ गर्ने जिम्मा दिइएको छ।

    नगरपालिकामा हाल १४९ जना सरसफाइ कर्मचारी खटाइएका छन्। नगरले एक किलो सफाइ गर्दा नौ रुपैयाँ खर्च गर्दै आएको छ। नगरवाससीसँग थोरै मात्र सफाई कर लिँदै आएको छ- महिनाको २५ रुपैयाँ। सरसफाइलाई व्यवस्थित गर्न बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर राख्न घरघरमा बाल्टी वितरण गरेका छौँ र फरक–फरक दिनमा संकलन गर्दै आएका छौँ। यसमा पनि कुहिनेलाई कम्पोष्ट मल बनाएर कृषकलाई सस्तोमा बिक्री गर्दै आएका छौँ। नकुहिने केही डम्पिङ हुन्छ भने केही बिक्री हुन्छ।

    त्यसैगरी भक्तपुर नगरले अहिले दुईवटा आवास योजना संचालन गरिरहेको छ। एउटा आवास योजनाको यस वर्षको मूल्यांकन एक अर्ब ९१ करोड रुपैयाँ छ। यस वर्ष हामी ३५ करोड रुपैयाँको काम गर्दैछौँ। अर्को आवास योजना अन्तिम चरणमा पुगेको छ। त्यसमा १३ करोड रुपैयाँ बराबरको काम भइरहेको छ। यसमा बाटो पिच हुने काम भइरहेको छ। बिजुली बत्ती, खानेपानीको व्यवस्थापनको कार्य नगरपालिकाकै अगुवाइमा भएको छ।

    हाम्रो मुख्य उद्देश्य सम्पदा संरक्षण हो। २०७२ बैशाखको भूकम्पले नगरपालिकाका १३० वटा सानाठूला सम्पदामा पूर्ण र आंशिक क्षति गरेको छ। ती सबैको पुनर्निर्माण गर्न नगरपालिका लागिपरेको छ। यो वर्षको २०/२५ लाख रुपैयाँ लागतको सम्पदा पुनर्निर्माणको कार्य पूरा हुँदैछ। ठूलाठूला सम्पदाहरूको पुनर्निर्माणका लागि नगरपालिका जुटिरहेको छ।

    भैरवनाथको मन्दिर पुनर्निर्माणका लागि एक करोड २७ लाख रुपैयाँको योजना पारित गरिसक्यौँ। उपभोक्ता समिति गठन गरिसक्यौँ, पूरा तयारी भइसकेको छ। तर विज्ञहरूसँग सल्लाह लिँदा पुर्खाले बनाएका सम्पदाहरू किन भत्किए भनी अध्ययन गर्नुपर्ने सुझाव आयो, सोहीअनुसार विज्ञहरूको टोलीद्वारा अध्ययन भइरहेको छ। त्यसको प्रतिवेदन आएपछि उनीहरूको रायअनुसार भैरवनाथको पुनर्निर्माण सुरु हुन्छ।

    राष्ट्रिय कला संग्रहालय कुन शैलीमा बनाउने भन्ने पनि विवाद छ। कला संग्रहालयको अहिलेको स्वरूप राणाकालीन हो। हामीसँग मल्लकालीन स्वरूपको नक्सा छ। सोहीअनुसार बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। यो दरबारलाई मल्लकालमा न्ह्य कँ झ्या (ऐना झ्याल) दरबार भनिन्थ्यो। सिंह ढोका दरबारले पनि परिचित छ। भूपतिन्द्र मल्लले नेपाल सम्बत् ८१८ मा बनाएको यो दरबार मल्लकालीन स्वरूपमा बनाउने योजना नगरपालिकाको छ। पुरातत्त्वले यसको मौलिक स्वरूपमा बनाउन सक्दैन भने हामी बनाउँछौँ, बजेट देऊ भनेका छौँ।

    भक्तपुर एउटा पर्यटकीय नगरी हो। यहाँका प्रत्येक इँटाइँटामा हाम्रो इतिहास जोडिएको छ। यसको मौलिक स्वरूप परिवर्तन गर्न नगरपालिकाको सहमति छैन। त्यसैले हामीले विदेशी दातृ निकायको सहयोगसमेत फिर्ता पठाएका छौँ। 

    साथै हामीले विभिन्न युवा लक्षित तालिमहरू संचालन गरिरहेका छौँ। किसानहरूका लागि निःशुल्क रूपमा बीउबीजन वितरण गर्‍यौँ। ऐतिहासिक जनज्योति पुस्तकालयलाई आधुनिकीकरण गर्‍यौँ। युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउन खेलकुद प्रतियोगिता आयोजनामा जोड दिएका छौँ। प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने योजना छ। सांस्कृतिक बाजागाजाको संरक्षणको कार्य पनि गरेका छौँ।

    अघि सरसफाइको कुरा गर्नुभयो तर हनुमन्ते सरसफाइमा तपाईंहरूको सहभागिता छैन नि?

    हामी फोटो खिचाउनका लागि मात्र सफाइ गर्दैनौँ। देखिने र साँच्चैको सफाइका लागि काम गर्छौं। हामी पनि हनुमन्ते सरसफाइमा छौँ। हामी देखिने गरेर सफाइ गर्छौं।

    आर्थिक वर्षको अन्त्यमा विकास बजेटको खर्चको आँकडा कस्तो ?

    यस वर्ष हाम्रो एक अर्ब पाँच करोड रुपैयाँको बजेट हो। नगरपालिकाको आम्दानी र खर्च त्यही अनुपातमा छ। हामीले एक वर्षे कार्यकालको प्रगति विवरण पेस गर्ने क्रममा जेठ ७ सम्ममा हाम्रो आम्दानी भनेको ९१ करोड रुपैयाँ भयो, खर्च ७८ करोड रुपैयाँ भयो। त्यसमा १० करोड रुपैयाँ आवास योजनाको ऋण पनि छ।

    यसअनुसार हाम्रो लक्ष्य पूरा हुन्छ। एक अर्ब पाँच करोड रुपैयाँ बजेटमा  त्योभन्दा बढी नै हुन्छ होला सम्भवतः। विकास बजेट फ्रिज हुने कुनै अवस्था छैन। मज्जाले काम भइरहेको छ। आम्दानी र खर्च बराबरी नै हुन्छ। नगरपालिकाले बैंकमा पैसा जम्मा गर्ने होइन भन्ने हिसाबमै काम गरिरहेका छौँ।

    भक्तपुर नपाको मुख्य आयस्रोत पर्यट हो तर पनि पर्यटक भक्तपुर आउँदा व्यवस्थित भएन भन्ने गुनासो छ। यसलाई व्यवस्थित गर्न केके योजना न्?

    केही गुनासोहरू थिए, त्यसलाई समाधान गर्ने दिशामा हामीले काम थालेका छौँ। चार-पाँचवटा शौचालय बनाउने तयारी गरिहेका छौँ। दुईवटाको निर्माण कार्य सुरु भइसकेको छ। बाँकी हामी प्रक्रियावद्ध रूपमा अगााडि बढाउँदै छौँ। पर्यटकका लागि भनी शौचालयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ।

    भक्तपुर पर्यटकीय नगरी भएकाले यहाँ अवलोकनका लागि आउने पर्यटकलाई सुरक्षाका लागि पर्यटक प्रहरीसँग छलफल भइरहेको छ। पर्यटकलाई व्यवस्थित रूपमा चलाउनुपर्छ भनेर नगरपालिकाले बजारका पेटीपेटीमा सामानहरू बेच्नेलाई नियन्त्रण गर्ने काम गरेको छ। यसमा बजार अनुगमन समिति र नगरपालिका आफैँ लागेर यो काम अगाडि बढाएको छ।

    अहिले दुई घण्टाका लागि यहाँ आउने पर्यटकलाई एक रात कसरी बसाउने भन्नेमा नगरपालिका लागिपरेको छ। यहाँका हरेक घरहरूमा एउटा विशेषता जोडिएको छ। यहाँ पर्यटकका लागि आकर्षित गर्ने कुं झ्या, सुकेको तरकारी माला, खुर्सानीको माला, कर्कलोको माला पाइन्छ, जुन संसारमा अन्त पाइँदैन। यहाँको माटोको भाँडा बनाउने, सुकुल बनाउने पेसा त विश्वमा प्रख्यात नै छ।

    पर्यटक एक रात बास बस्ने बनाउन नियमित र दैनिक एउटा सांस्कृतिक कार्यक्रम गर्ने सोच अगाडि बढाएका छौँ। त्यसका लागि सबैलाई पायक पर्ने स्थानको छनोट गर्ने तयारी भइरहेको छ। साथै पर्यटकको सुरक्षादेखि सबै कुराको व्यवस्थापनका लागि छलफल गरिराखेका छौँ। आगामी वर्ष यसलाई अगाडि बढाउँछौँ।

    पुर्खाले सिर्जेको सम्पति  हाम्रो कला संस्कृति' भन्ने नारा नपाको , भूकम्पले क्षति गरेका सम्पदाहरूलाई तीन वर्षमा पनि पूरा गर्न सक्नुभएन, कारण के हो?

    ठूलाठूला सम्पदा पुनर्निर्माण गर्न ठूलाठूला तयारी गर्नुपर्छ। जस्तो कि पाँचतले मन्दिर पुनर्निर्माणको एउटा व्यवस्थित तयारीविना, नक्सा निर्माण नगरी र 'ड्यामेज एसेसमेन्ट'विना हामी एकैचोटि निर्माण गर्न सक्दैनौँ। नपाले त्यहीअनुसार कार्य अगाडि बढाइरहेको छ। नपाको पुरानो भवनका लागि नक्सा तयारी गरिसक्यौँ।

    सम्पदाको पुनर्निर्माण साधारण घर निर्माण गर्नु जस्तो होइन। यहाँका एउटाएउटा इँटाको एउटाएउटा बुट्टालाई समेत ध्यानमा राखेर काम गर्नुपर्छ। ढिलो होला तर प्राचीन शैलीमै हामी बनाउँछौँ। इतिहास जोगाउँछौँ। त्यस अर्थमा अरूले भन्दा हामीले राम्रै गर्छौं।

    नगर क्षेत्रमा भएको बढ्दो खानेपानीको समस्या न्यूनीकरणका लागि गरपालिकाको योजना के ?

    भक्तपुर नगरको आफ्नै पानीको स्रोत नभएका कारण खानेपानीका निम्ति दुःख छ। समस्या यस्तो भएकाले दुई महिनादेखि हामीले तीनवटा ट्यांकरबाट टोलटोलमा खानेपानी वितरण गर्दै आएका छौँ। नगरको खानेपानी समस्या न्यूनीकरणका लागि दुई-तीन ठाउँमा डिप बोरिङ गरिसक्यौँ। एउटा भक्तपुर क्याम्पस पछाडि थियो, त्यहाँको पानी खानयोग्य नभएपछि सल्लाघारीमा गर्‍यौँ। त्यहाँ फिल्टर गरेपछि खानयोग्य हुन्छ भन्ने रिपोर्ट आएपछि करिब एक करोड रुपैयाँ लागतमा ट्यांकीको निर्माण कार्य भइरहेको छ।

    त्यसैगरी टुमुचो आवास योजनामा ४१ लाख रुपैयाँको लागतमा डिप बोरिङ भइरहेको छ। पानी राम्रै आउँछ भन्ने रिपोर्ट छ। खानेपानीकै लागि चित्तपोलमा ५१ लाख रुपैयाँको जग्गा खरिद गरिसक्यौँ। त्यहाँ पनि ट्यांकी बनाउने कार्य भइरहेको छ। करिब साढे चार करोड रुपैयाँको लगानीमा लिवाली आवास योजनामा पनि डिप बोरिङ तयारीमा जुटिरहेका छौँ। सँगसँगै आकाशे पानी संकलनको प्रविधि पनि प्रयोग गर्दैछौँ। नगरपालिकाको एउटै भवनबाट तीन-चार लाख लिटर पानी संकलन हुने तीनवटा ट्यांकी बन्दै छन्। यसले कम्तीमा १० लाख लिटर पानी सञ्चित गर्न सकिन्छ।

    भक्तपुर नगरवासी अझै पनि टेकाको आडमा बसोबास गरिरहेको , त्यो हटाएर पुनर्निर्माण गराउन नपाले केके योजना अघि सारेको ?

    स्थानीयहरूले घर बनाउन चाहनुभयो भने माटो ओसार्न निःशुल्क व्यवस्था गर्छौं। भूकम्पपीडितलाई नक्सा पास निःशुल्क छ। उहाँहरूले पुरानै शैलीमा घर बनाउने हो भने घरको मोहडा लाग्ने इँटामा र काठका लागि ३५ प्रतिशत अनुदान दिने व्यवस्था गरेका छौँ। यहाँ समस्या के छ भने सरकारले पर्याप्त मात्रामा अनुदान  दिएन। ५० हजार रुपैयाँ पहिलो किस्ता भन्यो, यसले जग खन्न र माटो निकाल्न पनि खर्च पुग्दैन। नपामा अहिले करिब १२ सय जनाले दोस्रो किस्ता लिएका छन्। करिब ७०० ले तेस्रो किस्ता लिइसकेका छन्।

    नगरभित्र घर पुनर्निर्माणमा धेरै समस्या देखिएका छन्। जस्तो कि बहुस्वामित्व भएको, गुठीको, दाजुभाइमा मुद्दा भएको, मोहियानी हक भएको। तर पनि नपाले सकेसम्म यसको समाधानका लागि प्रयास गरिरहेको छ।

    किसानहरूको शहर भनेर चिनिने भक्तपुर नगरका अधिकांश कृषियोग्य भूमिका जग्गा एकीकरण आयोजना लागू गरिएको यसले किसानको हित कसरी गर्छ कृषि उत्पादन वृद्धिमा कसरी टेवा पुग्छ?

    नपाले समयमै आवास योजना संचालन नगरेको भए जग्गा दलाली गर्नेहरूले पाँच-दश रोपनी जग्गा लिएर कृषकहरूलाई थोरै मूल्य दिएर प्रशस्त आम्दानी गरिसक्थे होला। त्यस कारण हामीले समयमै व्यवस्थित गर्नका लागि जसको जग्गा हो, उसैलाई फिर्ता दिने गरी आवास योजना संचालन गरेका हौँ। 

    जति लगानी बाटोमा खर्च भयो, त्यही लगानी मात्र कटौती गरेर फिर्ता दिँदा हिजो रोपनीको जति मूल्य आउँथ्यो, अहिले आनाको आउँछ। त्यो हिसाबले उसले जग्गा पनि नबेच्ने भयो। आफ्नो जग्गामा बाटो नभएपछि जग्गावालाले जग्गा दलालहरूलाई सस्तो मूल्यमा बेच्न बाध्य हुन्छन्। आवास योजनाले त्यो समस्या रहँदैन। किसानहरूलाई नै फाइदा हुन्छ।

    सँगसँगै नगरभित्र व्यवस्थित शहर विकास गर्ने उद्देश्यले आवास योजना संचालन गरेको हो। नगरभित्र एउटै घरमा धेरै परिवार बस्न बाध्य छन्। उनीहरूलाई व्यवस्थित गर्न पनि आवास योजना आवश्यक थियो।

    जहाँसम्म उत्पादनको कुरा छ, ती ठाउँहरूमा नपाले चाहेर वा नचाहेर क्रमशः घर निर्माण हुँदै जाने हो। आवास योजनाले अव्यस्थित बसोबासलाई नियन्त्रण गर्छ।

    निर्वाचित भएर आएपछि केही समय कानुनी अप्ठ्याराहरू थिए, अहिले त्यो हटिसकेको , जनताले सिंहदरबार गाउँगाउँ आएको अनुभूति गर्न सकेका न्?

    सिंहदरबारको अधिकार होइन, समस्या चाहिँ गाउँगाउँमा आएको छ। संविधानले दिएको अधिकारसमेत कटौती गर्ने नियतले ऐन आएका छन्। काम जति स्थानीय तहबाट हुन्छ भनेको छ तर कर्मचारी भने नराख भन्छ। अहिले त समस्या जति स्थानीय तहमा पठाइएको छ। काम गर्नै अप्ठ्यारो छ। हात-खुट्टा बाँधेर, घाँटी थिचेर दही चिउरा खुवाउने तरिका जस्तो छ।

    कर्मचारी राख्न नपाउने रे! काम भने सबै गर रे! अधिकार जति सबै शासकहरूमा केन्द्रित छ। नाम संघीयता रे, सोच एकात्मक छ। अधिकार तल दिनुपर्छ भन्ने सिद्धान्त हो। अधिकार दिने हो भने कार्यान्वयन गर्न सक्ने गरी दिनुपर्छ। नपाले आफ्नै तरिकाले कानुन बनाएर अगाडि बढेको छ। जनताको हितमा काम गर्दा केही समस्याहरू आउलान् तर हामी आफ्नो ढंगबाट समाधान गरिरहेका छौँ।

    अबको चार वर्षपछि भक्तपुरका बासिन्दाले यो नगरलाई कस्तो पाउँछन्?

    पहिलो त उत्कृष्ट स्वास्थ्य क्षेत्रको गन्तव्यको रूपमा पाउनेछन्। यहाँ अहिले नै आँखा, क्यान्सर, अंग प्रत्यारोपण, प्रसूति, बाच्चाको अस्पतालहरू छन्। हामी पनि २५ शय्याको अस्पताल संचालन गर्दैछौँ। यस अर्थमा सबै खालका बिरामीको उपचार पाउने ठाउँको रूपमा नगरवासीले यस नगरलाई पाउनेछन्।

    सरकारले स्वीकृति दिएको खण्डमा ख्वप विश्वविद्यालय संचालन गरेर नर्सरीदेखि विश्वविद्यालयसम्म संचालन गर्ने नगरको रूपमा नगरवासीले भक्तपुरलाई पाउँछन्। त्यस्तै, सम्पदा संरक्षण भएको नगरको रूपमा पनि चिनिनेछ। सरसफाइ क्षेत्रमा एउटा नमुना नगरको रूपमा प्राप्त गर्नेछन् जनताले।

सम्बन्धित सामग्री

भक्तपुरका सबै विद्यालयहरू माघ १ सञ्चालन हुने

भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ। भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो।

नागरिक दैनिक

पुस १ गतेदेखि भक्तपुर नगरपालिकामा ८ देखि १० कक्षाको पढाइ सुरु हुने

भक्तपुर : भक्तपुर नगरपालिकाभित्र रहेका विद्यालयहरुमा पुस १ गतेदेखि ८, ९ र १० कक्षाहरू संचालन हुने भएका छन्। भक्तपुर नगरपालिका प्रमुख एवम् भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले कोभिड १९ महामारीको कारण लामो समयदेखि बन्द रहेको विद्यालय संचालन गर्ने निर्णय गरेको

पहिलो पोस्ट

दशैंमा भक्तपुरमा तलेजुभित्र बली नदिइने

भक्तपुर : भक्तपुरमा यो वर्ष दशैंमा तलेजुमा बली नदिइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा बसेको बैठकमा दशैंको अवसरमा तलेजु परिसरमा हुने जात्रा र पर्वहरूलाई औपचारिकतामा सीमित गरी मनाउने निर्णयमा सहमति

पहिलो पोस्ट

लकडाउनले प्रभावित बन्यो देवाली पूजा

भक्तपुर : अक्षय तृतीयाको दिनदेखि नेवार समुदायमा देवाली पूजा गर्ने प्रचलन रहेको छ। विभिन्न जातीका मानिसले एक महिनासम्म आफूलाई पायक पर्ने गरी पूजा गर्ने गर्छन्।  भक्तपुरमा अक्षय तृतियापछिको चौथो दिनमा देवाली गर्ने परम्परा रहेको छ। ब्रहमायणी, सिद्धपोखरी, रानीपोखरी, भाजु पुखु लगायतका स्थानमा भक्तपुरवासीले देवाली मनाउँदै आएका छन्। यहाँ अरु समयमा पनि पूजा

पहिलो पोस्ट

भक्तपुर नगरका सबै वडामा निःशुल्क जिमखाना, बदलियो दैनिकी

२९ कात्तिक, भक्तपुर । हिजोआज भक्तपुर सिद्धपोखरी आसपास बस्नेहरुको दैनिकी बदलिएको छ । झिसमिसे बिहानीमै सिद्धपोखरी परिक्रमा र सूर्यदेवको दर्शन गरेर घर फर्किने धेरैलाई आजकल पोखरीको द्वारमै रहेको जिमखानाले भुल्याउँछ । जिमखाना सानै छ । उपकरण …

अनलाइनखबर

इन्द्रदहमा दर्शनार्थीको भीड

सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ । इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो ।

गोरखापत्र

भक्तपुरको रानीपोखरी सर्वसाधरणका लागि खुलाइने

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो। भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक ...

थाहा खबर

भक्तपुरमा ८४ हजार नगदसहित १७ जुवाडे पक्राउ :: Pahilopost.com

भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाको खालबाटै पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल,

पहिलो पोस्ट

पर्यटकलाई लक्षित गरी पोखरासम्म शौचालयसहितको बस सञ्चालन

भक्तपुर - भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।  यसअघि ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो ।  व्यास ट्राभल्स एण्ड टुर्सका सञ्च...