उल्टो बाटो समातेपछि ३६ % मा पुग्यो टर्कीको मुद्रास्फीति

पुस २०, आंकारा । टर्कीमा वार्षिक मुद्रास्फीति दर बढेर १९ वर्षकै उच्च विन्दुमा उक्लिएको छ । डिसेम्बरमा महँगी   ३६ प्रतिशतभन्दा धेरैले बढेको छ । यातायात, खाद्यान्न र अन्य दैनिक उपभोग्य सामानको भाउ बढ्दा मुद्रास्फीति बढेको हो । विश्वका अधिकांश केन्द्रीय बैकहरुले मुद्रास्फीति क मगर्न ब्याजदर बढाउँछन् । तर टर्कीले उल्टो बाटो समातेको छ ।  राष्ट्रपति तैयप इर्दोगनले मुद्रालाई स्थिर बनाउनुभन्दा निर्यातलाई प्राथमिकता दिंदा लिराको भाउ धराशयी भएको छ । गत वर्ष अमेरिकी डलरको तुलनामा लिराको भाउ ४४ प्रतिशत अवमूल्यन भएको थियो ।  सोमवार मात्रै यसमा अर्को ५ प्रतिशतको कमी आएको छ । लिराको भाउमा आएको कमीका कारण ऊर्जादेखि कच्चा सामानसम्म सबै आयातित सामान महँगो बनेको छ ।  मौद्रिक नीति उल्टिएन भने यो वर्षको बसन्ततिर मुद्रास्फीति बढेर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी अर्थशास्त्रीको छ । इर्दोगनले गत वर्ष केन्द्र बैंकको नेतृत्वमा व्यापक हेरफेर गरेका थिए । बैंकले सेप्टेम्बरयता मुद्रास्फीति १९ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा ल्याएको छ । एजेन्सी