काठमाडौं (अस) । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारले आधुनिक सरसुविधाका साधनमा ल्याण्डलाइन टेलिफोनको प्रयोगको अवस्था कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ४ दशमलव ५३ प्रतिशतले ल्याण्डलाइन टेलिफोन प्रयोग गर्ने गरेको पाइन्छ । उपयुक्त सुविधाको प्रयोग गर्नेमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा ल्याण्डलाइन टेलिफोन भएका घरपरिवारको हिस्सा ६ दशमलव १६ प्रतिशत छ भने यो हिस्सा गाउँपालिकामा १ दशमलव १९ प्रतिशत रहेको छ ।
हिमालमा ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको हिस्सा २ दशमलव १८ प्रतिशत रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमशः ६ दशमलव ८० प्रतिशत र २ दशमलव ७९ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको हिस्सा १ दशमलव ६४ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा बढी १० दशमलव १३ प्रतिशत छ ।