सौर्य मिनिग्रिडबाट १ सय ९१ घरमा विद्युत

ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन शुरू गरिएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल रु छ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि शुरू गरिएको थियो । आयोजनामा गाउँपालिकाले रु ६० लाख र हाउस वायरिङका लागि वडा नं–९ ले रु दुई लाख उपलब्ध गराएको थियो । मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ ।  विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको छ । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ । रासस