वीपी प्रतिष्ठानको कोभिड अस्पताल तोडफोड :  चिकित्सकलाई ज्यान जोगाउन त्रास

साउन ५, धरान । कोरोना संक्रमणको महामारीमा संक्रमितका आफन्तहरु बिरामी कसरी बचाउने भन्ने चिन्तामा हुन्छन् । चिकित्सकहरु पनि आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा पनि खटिरहेका छन् ।  तर केही अराजक अवस्था सिर्जना हुँदा कोभिड अस्पतालमा बिरामीका आफन्तसँगै चिकित्सकहरु पनि त्रसित हुनुपर्ने बाध्यता बन्दै आएको छ । अस्पतालमा बाहिरबाट ढुंगामुढा बर्साउदा बिरामीको अवस्था के हुने भन्ने चिन्तामा कुरुवाहरु हुन्छन्, अस्पताल भित्रका स्वास्थ्यकर्मीहरु कसरी ज्यान जोगाउने भन्ने चिन्तामै रहन्छन् । मंगलवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा संक्रमण पुष्टि भएकी एक मृतकको आफन्तले ढुंगामुढा गरेपछि प्रतिष्ठान केही बेर तनावग्रस्त बन्यो । अस्पतालभित्र काम गर्ने चिकित्सक तथा नर्सहरु त्रसित थिए, भने बाहिर रहेका कुरुवाहरु बिरामीको उपचारमा के होला भन्ने त्रासमा थिए । घटनाका प्रत्यक्षदर्शी एक कुरुवाले भनिन्, ‘हाम्रो बिरामी भित्र छ, बाहिरबाट ढुंगामुढा बर्सिन थाल्यो, डर हुँदैन ?’ धरान १७ की ५४ बर्षीय शान्ति तामाङको सोमवार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले बताए ।  तामाङलाई घरमै लडेर घाइते भएपछि प्रतिष्ठान ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भ पछि कोभिड अस्पताल लगिएको थियो । उनको उपचारमा लापरवाही भएको भन्दै उनका आफन्तहरु आक्रोशित बनेका थिए ।  उपचारकै क्रममा मृत्यु भए पनि आफन्तले फुटेज हेर्न माग गरेका थिए । आफन्त सँग वार्ता भएर सहज वातावरण बनेको थियो । फुटेज हेर्ने समय सिफ्ट चेञ्जको समयमा भएकाले ढिलाई हुँदा बाहिरबाट ढुंगामुढा गर्न थालेको सहप्रवक्ता डा. पोखरेल बताउँछन् । तामाङको पेटको समस्याबाट मृत्यु भएको पोखरेलको भनाइ छ । अस्पताल भित्र काम गरिरहेका चिकित्सक तथा नर्सहरु पनि डरमा काम गर्नु पर्ने अवस्था आएको कोभिड अस्पतालका इन्चार्ज प्रा.डा. ज्ञानेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘हामी पनि मान्छे हौं, बिरामीको उपचारमा ज्यान जोखिममा राखेर काम गरिरहेको छौं, अनि हामी माथिनै आक्रमण गर्न खोज्दा हाम्रो मानसीक अवस्था कस्तो हुन्छ ।’ प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार ९ जना नियन्त्रणमा छन् ।