अर्थतन्त्रमा हस्तक्षेप भएन भने मुलुक श्रीलङ्का बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल

चैत २७, काठमाडौं ।  पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले  मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औंल्याएका छन् । नेकपा (एमाले) प्रचार विभागद्वारा आइतवार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको आरोप लगाए । उनले सार्थक र प्रभावकारी हस्तक्षेप गर्न आवश्यक थियो भन्दै सरकारले अर्थतन्त्रका लागि अहिले नकारात्मक कदम चाल्ने काम भएको पनि बताए । उनले अब हस्तक्षेप गर्ने बेला आएको भन्दै यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने दावी पनि गरे ।  यसैगरी  अर्का पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री नै भाग्ने स्थिति आउन सक्ने बताएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानून विपरीत हुने बताए । उनले विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको पनि  बताए ।  उनले भने, ‘म त के देखिरहेको छु भने श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैछु, कतै त्यो दिन नआओस् नेपालमा ।’