यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ८ निर्णय, गभर्नरलाई जोर्डन जान स्वीकृति

सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरियाको रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले भदौ २७ र २८ गते सिगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ भने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने, स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, वसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृत दिने निर्णय भएको उनले बताए ।मन्त्रीपरिषद्ले भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिने र सप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ब गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।