मुलुकको समृद्धिको बाधक लागुऔषध: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताउनुभएको छ । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गर्नुभयो । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उहाँले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।”