पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म रू. ४८ अर्ब ३२ करोड ८६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा व्यवसाय २३ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १९ जीवन बीमा कम्पनीले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन भने रू. १२ अर्ब ६९ करोड ५५ लाख रहेको छ । यसैगरी नवीकरण बीमाशुल्क रू. ३५ अर्ब ७ करोड ९२ लाख र वैदेशिक रोजगार बीमाशुल्क रू. ५५ करोड ३९ लाख संकलन भएको छ । बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा रू. १२ अर्ब ५५ करोड ३५ लाख बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसीले रू. ६ अर्ब ५८ करोड ८० लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रू. ४ अर्ब ७८ करोड ६५ लाख बीमाशुल्क संकलन गरेको छ । बीमा कम्पनीहरू पहिलो चौमासको व्यवसायबाट सन्तुष्ट छैनन् । कम्पनीहरू व्यवसाय वृद्धिदरमा सन्तोष नभएका हुन् । प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोज भट्टराईले पहिलो चौमासको व्यवसाय उत्साहजनक नभएको बताए । पछिल्लो समय बीमाप्रति आम मानिसको आकर्षण नै कम देखिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहरपछि बीमाप्रति आर्कषण घटेको छ । कोरोनाको दोस्रो लहरमा आम मानिसमा ठूलो त्रास थियो । फलस्वरूप उनीहरूले आर्थिक सुरक्षणकोे लागि बीमा गर्न थालेका थिए,’ उनले भने, ‘तर, दोस्रो लहरपछि आम मानिसहरूले कोरोनालाई सामान्य रूपमा लिन थाले । भ्याक्सिन पनि आइसकेकाले बाचिन्छ भन्ने आशा पनि भयो । त्यसपछि बीमाप्रति त्यति चासो देखाएका छैनन् ।’ कोरोना बीमाको दाबी भुक्तानी नहुँदा पनि बीमाप्रति सर्वसाधारणको आकर्षण घटेको उनको भनाइ छ । ‘कोरोना बीमामा ९/१० अर्ब भुक्तानी हुन सकेको छैन । त्यसको असरले आम मानिसमा बीमाप्रति नकारात्मक भाव पैदा भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि आम मानिसहरू बीमाप्रति त्यति आकर्षित छैनन् ।’

सम्बन्धित सामग्री

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं, मंसिर २० । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक […]