नेपाली कांग्रेस १४औं महाधिवेशन मतगणना अपडेट : देउवाको अग्रता कायमै

 मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना  भइरहेको छ । राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाले मंगलवार विहान पौने ८ बजेसम्ममा अग्रता कायमै गरेका छन् । उनले १ हजार ४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले भने १ हजार १३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७७ मत गणना भएको छ,  नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत मत  आवश्यक हुन्छ । आइतवार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेकोले सभापतिका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३४० मत आवश्यक पर्दछ । उक्त मत आउन नसकेमा धेरै मत ल्याउने दुई उम्मेदवार बीच पुनः प्रतिस्पर्धा हुनेछ ।