बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

वैशाख १२, बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन ।  अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याएपछि उनी मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।  आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनु पर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि सञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आएकी उनले गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताइन् ।  ‘अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ’, उनले भनिन्, ‘पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।’ गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् । दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहर पानी पिउनु परेको छैन । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् ।  घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइएको हो ।  जिल्लामा  हालसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँच पुर्‍याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताए । परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुंगल नगरपालिकामा दुईओटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताए ।  उनले भने, ‘बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्यांकीमा जम्मा हुन्छ । सोही ट्यांकीबाट घरघरमा वितरण गरिन्छ ।’ आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करीब सात हजार जनसंख्या लाभान्वित भएका छन् । रासस

सम्बन्धित सामग्री

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइँदै

बझाङ : बुङगल नगरपालिका-६, बड्डी ज्यावनकी धनमति धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन। अचेल उनलाई पानी लिनकै लागि सबेरै उठ्नुपरेको छैन। घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन। ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि बाट गाउँमा खानेपानी पुर्‍याएपछि गाउँलेकै दैनिकि फेरिएको छ। आयोजना निमार्ण हुनुअघि गाउँ तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षातको समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो। वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि धारा जडान भएपछि गाउँमा...