उपत्यकामा ७ दिन थपियो निषेधाज्ञा, के-के खुल्ने, के-के बन्द ?

साउन १९, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलवार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा बुधवार सकिँदैछ । यस अवधिमा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जस्थल, संग्रहालय तथा दर्शकसहित हुने खेलकुद र मानिसहरुको भीडभाडमा रोक लगाइएको छ । धार्मिकस्थलहरुमा नित्यपूजा बाहेक अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन। यस्तै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ । तर औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध सञ्चालन गर्न पाइने छ भने अन्य पसलहरु साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । रेष्टुरेन्टमा टेक अवे वा होम डेलिभरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।