हकप्रदमार्फत ९ अर्ब २६ करोड रुपैयाँ उठाउँदै ९ कम्पनी

काठमाडौं । नौओटा कम्पनीले पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रदमार्फत ९ अर्ब २६ करोड रुपैयाँ उठाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रूप पावर, आँखुखोला जलविद्युत् कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, लिबर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र जोशी हाइड्रोपावरले उक्त रकम बराबरको ९ करोड २६ लाख ५४ हजार ३७ दशमलव ४५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा गरेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले हकप्रद शेयर बेच्न विद्युत् नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्न हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ङादी ग्रूप पावरले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्न तयारी गरेको छ । त्यस्तै आँखुखोला जलविद्युत् कम्पनीले १ करोड २० लाख कित्ता निष्कासन गर्दै छ । हिमालय ऊर्जा विकास कम्पनी ९९ लाख, लिबर्टी इनर्जी ७५ लाख, बरुण हाइड्रोपावर ५३ लाख ५८ हजार १५०, छ्याङ्दी हाइड्रोपावर ३८ लाख ६९ हजार ७७५ र जोशी हाइड्रोपावर २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ ।