धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस