काठमाडौं । बुद्ध एयरले पोखरालाई आधार बनाएर भदौ १६ गतेदेखि पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पोखरालाई बेस बनाएर उडान गर्ने उद्देश्यले उक्त कम्पनीले वीरगञ्जको सिमरामा साताको ३ दिन सीधा उडान गर्ने भएको हो ।
कम्पनीले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सेप्टेम्बर १ देखि पोखरा–सिमरा सीधा उडानको तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको ३ दिन (आइतवार, बुधवार र शुक्रवार) उडान गर्ने कम्पनीले जानकारी दिएको छ । केही समयपछि यात्रुको माग अनुसार दैनिक उडान समेत गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार पोखराबाट–सिमरा उडान अपराह्न १२ः२० र सिमरा–पोखरा उडान १ः१५ बजे हुनेछ । पछिल्लो समय कम्पनीले पोखरालाई बेस बनाउँदै विभिन्न प्रदेशसँग सीधा उडान शुरू गरेको छ ।
कम्पनीका बजार निर्देशक रूपेश जोशीले पोखरा–सिमरा सीधा उडानले सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढ्ने बताए । सिमरा÷वीरगञ्ज देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।
यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्याकेज सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँको हुनेछ । यसमा २ रात ३ दिनको प्याकेज र त्यसअनुसार दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको बताइएको छ ।