तोरीखेतीमा चितवनका किसानको आकर्षण : उत्पादन तथा उत्पादकत्व बढ्ने प्रक्षेपण

चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् । दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला’को रूपमा परिचित थियो । त्यसपछि केही वर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षमा किसानले यसको खेती बढाएका छन् । माग बढेसँगै तोरीले राम्रो मूल्य पनि पाउन थालेको छ । खासगरी पूर्वी चितवनका अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका–७ का किसान छनुराम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले यसको खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । उनले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । तोरीखेतीमा खर्च कम लाग्ने, रोगकीराको प्रकोप कम देखिने र फाइदा पनि धेरै हुने भएकाले आफूले तोरीखेती गर्दै आएको उनको भनाइ छ । ‘अहिले तोरीको बजार राम्रो छ, कतिपय ग्राहक घरमै आएर तोरी खरीद गर्नुहुन्छ । तोरी मिलले पनि लैजान्छन्, बजार नपाउला भन्ने चिन्ता नै छैन,’ उनले भने । तोरीबालीका लागि समयमै मल उपलब्ध भए र मौसमले साथ दिएमा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । चितवनमा तोरी कात्तिकमा छरेर माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानले वर्षे धान थन्क्याएपछि खेतमा तोरी लगाउँछन् । जिल्लाको रत्ननगर नगरपालिका–७ मैनाहाका अर्का किसान विक्रमी महतोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती गर्दै आएको उनी बताउँछिन् । यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने उनको भनाइ छ । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ, गतवर्ष पानी धेरै परेकाले केही असर गरेको थियो,’ उनले भनिन्, ‘यस वर्ष अहिलेसम्मको मौसम तोरीखेतीलाई सुहाँउदो छ, अब बाली थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा बढी उत्पादन लिन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले पछिल्लो समय चितवनका कृषक तोरीखेतीमा आकर्षित हुन थालेको बताए । चितवनमा ३–४ वर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा १९ हजार ४०५ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा १ दशमलव ३१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा प्रतिहेक्टर १ दशमलव २ मेट्रिकटन उत्पादन भएको थियो । ‘यस वर्ष तोरी उत्पादनको तथ्यांक आउने बेला हुँदै छ । तर हामीले फिल्ड भिजिटमा जाँदा पोहोर र अघिल्लो वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं,’ उनले भने । तोरीबाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जंगली जनावरले कम असर गर्ने भएकाले किसानको आकर्षण बढ्दै गएको उनले बताए । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायत क्षेत्रमा तोरीखेती लगाउने किसान बढेको केन्द्रले बताएको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा चैते धान लगाउने घटे, किन घट्यो किसानको आकर्षण ?

कञ्चनपुर । जिल्लामा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय, कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताइन् ।  कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ । ‘कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति खेती पुगाउन सकस छ,’ उनले भने, ‘छाडा चौपाया र सिँचाइ अभावका कारण पनि खेती गर्नेको सङ्ख्या घटेको हो ।’ चैते धानलाई पानी बढी चाहिन्छ । तर, सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित हुन नसेका रिमालले बताइन् । ‘चैते धान लगाउँदा तीन बालीसम्म लगाउन मिल्छ, अन्य बालीभन्दा बढी फल्छ,’ उनले भनिन्, ‘चैते धानलाई पानी बढी चाहिन्छ, उत्पादकत्व पनि बढी छ ।’  दुई वर्षयता बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानका लाथि चैते धान खेती गर्न आवश्यक छ ।  ‘बेर्ना राख्ने समय भएको छ, केही किसान बीउ लिन आउन थालेका छन्,’ रिमालले भनिन्, ‘बेमौसमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउँदा फाइदा छ।’  कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागूअनुसार ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरिएको छ ।  बढी पानी जम्ने, नहर क्षेत्र, तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन बढी हुन्छ । बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ । किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन् ।  बेदकोट नगरपालिका–७ का खुसी राना चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले लगाउन नचाहेको बताउँछन् । ‘गहुँखेती पनि लगाउनै पर्छ, तरकारी लगाउँदा पनि ठाउँ अभाव हुन्छ,’ उनले भनिन्, ‘उत्पादन बढी हुने भए पनि पानीको असुविधा छ ।’  सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति आकर्षण नबढेको हिरुलाल डगौराले बताए । ‘पर्याप्त उत्पादन भएन भने मारमा परिन्छ, सरकारले बीमाको सुविधा दिँदा राम्रो हुन्थ्यो,’ उनले भने ।

अर्ग्यानिक तरकारीखेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । अर्ग्यानिक तरकारी खेतीमा भोजपुरका किसानको आकर्षण देखिएको छ । विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले यहाँका किसान अर्ग्यानिक तरकारी खेतीमा लागेका हुन् । बजारमा बाहिरी जिल्लाबाट विषादियुक्त तरकारी आउने क्रम बढेपछि  यहाँका किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिइएको बताएका हुन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी तरकारी लगाउन थालेको किसानको भनाइ छ । किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका अरुण गाउँपालिकाका किसान शान्तिकुमार कार्कीले बताए । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण  गाउँपालिकाका २१ परिवारले अर्ग्यानिक खेती गरिरहेका छन् । ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अर्ग्यानिक खेती थालेका छौं,’ कृषक कार्कीले भने, ‘हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्नेगरी खेती गरेका छौं ।’ किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गरेका छन् ।  कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार गरी तरकारी बारीमा हाल्ने गरेको कार्कीले बताए । मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायतका तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गरिरहेका छन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरू अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादीका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्रांगारिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्रांगारिक खेती प्रवर्द्धन अभियान कार्यक्रम अन्तर्गत खेती थालनी गरिएको स्थानीय किसानको भनाइ छ । १० लाख रुपैयाँ लागतमा दुईओटा क्लस्टर बनाएर प्याउली र सिमटारका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने लक्ष्य लिइएको कार्यालयले जानकारी दिएको छ । केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेको बताए । ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौं,’ उनले भने, ‘अर्ग्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौं ।’ यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्म पूरा गर्नेमा आफूहरू विश्वस्त रहेको उनी बताउँछन् । रासस

अदुवाखेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८०० मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ ।      चालू आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा ९ हजार ९५० मेट्रिक टन  मात्रै उत्पादन भएको छ । अदुवाखेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव ३७ मेट्रिक टनदेखि १० दशमलव ८९ मेट्रिक टन मात्र रहेको पौडेलको भनाइ छ । जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा विक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर विक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवाखेतीमा आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवाखेती राम्रो हुने गरेको छ । रासस

देवघाटमा बाख्रापालनतर्फ किसानको आकर्षण

तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय व्यावसायिक बाख्रपालन तर्फ किसानहरुको आकर्षण बढेको छ । गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाका परियोजनाहरुले पशुपालनमा राम्रो अनुदानसहित प्रोत्साहन गर्न थालेपछि कृषकहरुको आकर्षण बढेको हो । गत वर्षदेखी देवघाट गाउँपालिकाको समन्वयमा सञ्चालित हेफर इन्टरनेशनल नेपाल तथा समृद्धि नेपाल तनहुँको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा आबद्ध भएका छन् । देवघाटको पाँच वटै वडामा सञ्चालित उक्त परियोजनामा हाल १४ समूहमा ३ सय ५० घरधुरी कृषक आबद्ध छन् । सोही परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा संलग्न भएका हुन् । परियोजनाको लक्ष्य प्रत्यक्षरुपमा आबद्ध परिवारहरुको वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको परियोजना संयोजक डा. सम्राट अधिकारीले बताउनु भयो । परियोजनामा आबद्ध महिलाहरुलाई स्वावलम्बी समूहहरु तथा सहकारीमा आबद्ध गरी सामाजिक पुँजीको अभिवृद्धि गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुसरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्नु र संस्थागत संयन्त्र निर्माण गरी सकारात्मक वातावरण सृजना गर्नु रहेको अधिकारीले जानकारी दिनु भयो ।