सकियो ‘अन्नपूर्ण हिमाल सफाइ अभियान’

काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो । सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।  संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् । 

सम्बन्धित सामग्री

सेनाको अगुवामा सकियो अन्नपूर्ण हिमाल सफाइ अभियान

हिमाली इलाकामा बढ्दो प्रदूषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा गत चैत १४ बाट सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सकिएको छ ।

हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीवार सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन शुरू गरिसकेको छ ।      बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।