ब्रोडब्याण्ड परियोजनाको काम ९९ % सकियो, ६९५ स्थानिय तहमा पुग्यो इन्टरनेट

माघ २५, काठमाडौं।  नेपाल दूरसञ्चार प्राधिकरणको महत्वाकाँक्षी आयोजना ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको छ ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सञ्चालित परियोजनाहरुको पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ब्रोडब्याण्डको काम ९९ प्रतिशत सकिएको बताएको छ।  यो आयोजनाबाट ग्रामीण क्षेत्रका करीब १५ हजारभन्दा धेरै सरकारी/गैरसरकारी कार्यालयले इन्टरनेट सेवा पाएको  प्राधिकरणले बताएको छ  । ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत ७५ जिल्लाका ( हाल ७७)  १८ ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजका ६५ ओटा जिल्लामा परियोजना शतप्रतिशत सम्पन्न भइसकेको छ ।  त्यस्तै बाँकी दुई ओटा प्याकेजका ९ ओटा जिल्लाको काम ५०  प्रतिशत सम्मपन्न भएको छ ।  कुल ७०२  स्थानिय निकायमध्ये ६९५ स्थानिय निकायका १५ हजार ९९८ साईटमा इन्टरनेट जडान हुनुपर्नेमा १५ हजार ९०३ स्थानमा जडान गरिसकिएको छ। अब ७ स्थानिय निकायका ७९ स्थानमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको पनि प्राधिकरणले बताएको छ । त्यस्तै सोहि कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २५१ स्थानमा  कम्तिमा २० एमबीपीएस गतिको नन् डेडीकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ स्थानिय निकायमध्ये ७१ स्थानिय निकायसँग सम्झौता सम्पन्न भएको छ।   भूकम्पबाट अतिप्रभावित ८ जिल्ला  (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नवुाकोट, दोलखा, सिन्धुली,  रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।  ती जिल्लाका स्थानीय तह,  वडा कार्यालयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्थ्य संस्थाहरु र सम्पूर्ण आधारभुत विद्यालयहरु गरी ४ हजार २५१ स्थानहरुमा   ७१ ओटा स्थानिय तहमा सेवा उपलब्ध भएको छ । अतिप्रभावित  ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ ओटा जिल्लाका सामुदायिक  आधारभुत विद्यालयमा  कम्तिमा २० एमबिपीएस गतिको नन्डेडीकेटेड  ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ स्थानिय तहमध्ये २८० स्थानीय तहमा सम्झौता भएको छ ।  प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।