घुम्नैपर्ने शैलुङका सय थुम्का, आन्तरिक पर्यटनसंगै फस्टाउँदै स्थानीय उत्पादनको बजार

दोलखा । दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ ।  यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् ।  शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे गणेश हिमाललगायतका हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग देखिन्छ । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रुपमा सय थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय सोभित उप्रेतीले बताए । धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको उप्रेतीको भनाइ छ ।  यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा छन् । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् । सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ । हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । उनीहरु हिउँमा खेल्ने र सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक स्वाद लिने गर्दछन् ।  शैलुङको कोसेली के ? शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन् । यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुङ हो । स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडौं लगेर बिक्री गरिन्छ ।  बारीबाटै अग्र्यानिक कोसेलीका रुपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुक कोसेलीका रुपमा लैजाने गर्छन् । ग्रेटवालाको झल्को शैलङडाँडा पुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको ग्रेटवालको झल्को दिने ढुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिंढीबाट शैलुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो ।  तर, अहिले त्यो बाध्यता छैन । कसरी पुग्ने शैलुङ सय थुम्का ? शैलुङ क्षेत्र पुग्न काठमाडौंबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुङ डाँडामा पुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटल प्रशस्त खुलेका छन् । यहाँ पाइने जडीबुटी शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ । तर हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन । यहाँ बहुमूल्य जङ्गली जडीबुटीका रुपमा पाइने पाँचऔँले, चिराइतो, मझिठो, च्यातुलगायत प्रशस्तमात्रामा पाइन्छ । पर्यटक सुरक्षा सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ । जिल्ला प्रशासन कार्यलय दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भईनसकेको जनाएको छ । यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न घुम्नका लागि सहजीकरण गर्ने गरेका छन् । रासस    

सम्बन्धित सामग्री