चालु आर्थिक वर्षको १० महिनामा उद्योगमा एक खर्ब ८१ अर्ब लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिना (साउन–वैशाख) सम्म ३२४ उद्योगमा एक खर्ब ८१ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योगबाट २२ हजार ६०६ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ । १० महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । वार्षिक दुई सय सङ्ख्यामा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा १० महिनामा २५० वटा उद्योग दर्ता भएका छन् । नीतिगत रूपमा साना उद्योगलाई सुविधाको व्यवस्थाले पनि साना उद्योग दर्तामा उल्लेख्य वृद्धि भएको हो ।