सरकारले धान खरीद गर्ने मूल्य निर्धारण गरेसँगै बढ्यो धान बेच्नेको भीड

पुस २७, वीरगञ्ज । सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ ।  सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार ९०२ रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रू. दुई हजार ४००  छ  । यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरीद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान विक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिए ।  यसपाली सरकारले किसानबाट धान खरीद गर्ने मूल्यमा निजीस्तरका  उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी शाहले बताए ।  व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरीद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरीद गर्ने लक्ष्य छ ।  यद्यपि हालसम्म करीब नौ हजार सोना मन्सुली धान खरीद गरिसकिएको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए ।  कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।  कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच ओटा गोदाम रहेको छ । रासस

सम्बन्धित सामग्री

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरीद

खजुरा । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरीद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ९ हजार क्विन्टल मात्र खरीद गरेको छ । धान विक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि खरीद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार यस वर्ष जिल्लाका ८४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान ५ हजार क्विन्टल खरीद गर्ने लक्ष्य थियो । ३४० किसानको मध्यम धान ७ हजार क्विन्टल र मोटा धान २ हजार क्विन्टल मात्र खरीद गरिएको उनले जानकारी दिए । जिल्लाका आठओटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरीदको लक्ष्य राखेर खरीद शुरू गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरीद शुरू गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई विक्री गरेको डुडुवा–४ का रामगोपाल वर्माले बताए ।      ‘कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरीद गर्न थालेपछि किसानले आफ्नै हिसाबले विक्री गरेका हुन्,’ उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रू. २ हजार ९६७ र मध्यम धानको रू. ३ हजार १२८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान विक्री गरेको र अन्य पालिकाका केही किसानले धान विक्री गरेको कार्यालयले बताएको छ । रासस

सरकारको ढिलाइले भेटिएन धान खरीदको लक्ष्य

महेन्द्रनगर  । सरकारले धान खरीदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ढिलोगरी स्वीकृति दिँदा लक्ष्यअनुसार धान खरीद हुन सकेको छैन भने किसानले त्यसको लाभ लिन समेत सकेका छैनन् । १४ हजार क्विन्टल धान खरीदको लक्ष्य रहेको खाद्य कम्पनीको महेन्द्रनगरस्थित कार्यालयले हालसम्म २ हजार ९५० क्विन्टल मात्र खरीद गरेको छ । कम्पनीको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले लक्ष्यअनुसार धान खरीद नभएको बताए । उनका अनुसार अहिले कृषकहरू धान विक्रीका लागि आउने क्रम घटेको छ । कम्पनीले बिहीवारसम्ममा २९ सय ५० क्विन्टल मात्र धान खरीद गरेको छ । ४८ हजार ४६९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कञ्चनपुरमा यस वर्ष १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको छ । ‘धान विक्रीका लागि किसान न्यून संख्यामा आइरहेका छन्,’ निमित्त कार्यालय प्रमुख उपाध्यायले भने । कोटा पूरा नभएकाले धान खरीद अझै केही दिन चल्ने उनले बताए । ‘अहिलेसम्म १० हजार क्विन्टल धान खरीद भइसक्नुपर्ने हो,’ उनले भने, ‘तर हामीले खरीद शुरू गर्नुभन्दा अगावै धेरै कृषकले व्यापारीलाई बेचिसकेको पाइएको छ ।’ खाद्य कम्पनीले यस वर्ष ३५ सय क्विन्टलसम्म धान खरीद हुने अनुमान गरेको छ । कञ्चनपुरमा कम्पनीले पुस १ देखि महेन्द्रनगर डिपोमार्फत खरीद शुरू गरेको थियो । गतवर्ष पनि लक्ष्यअनुसार धान खरीद हुन सकेको थिएन । गतवर्ष ६ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्र खरीद भएको थियो । स्थानीय किसान मीना भण्डारीले सरकारले धान खरीद गर्ने बेलासम्ममा कृषकले धान बेचिसक्ने गरेको बताइन् । बाली लगाउँदाको ऋण तिर्न र अन्न भण्डारणको अभाव हुँदा किसानले धान काट्नेबित्तिकै विक्री गर्ने गरेको उनको भनाइ छ । खाद्य कम्पनीको धनगढी कार्यालयले पनि लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । कम्पनीको धनगढी कार्यालय प्रमुख एन्जिला बस्नेतका अनुसार यस वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिइएकोमा ३० हजार क्विन्टल मात्र खरीद भएको छ । ढिलोगरी धान खरीद हुँदा लक्ष्य प्राप्त नभएको उनले बताइन् । कैलालीमा मङ्सिर २७ गतेदेखि टीकापुर, सत्ती, जोशीपुर, असनरी र धनगढीको मोहनपुर केन्द्रबाट धान खरीद गरिएको हो । जिल्लामा ६९ हजार ४४८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा यस वर्ष ३ लाख २६ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ । सरकारले समयमै समर्थन मूल्य नतोक्दा किसानलाई मर्का पर्ने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । उनका अनुसार ढिलोगरी मूल्य निर्धारण हुँदा किसानले लाभ नपाउने र संस्थानले लिएको धान खरीदको लक्ष्य पनि चुनौतीपूर्ण हुने गरेको छ । सरकारले साउन–भदौसम्ममा बजेट विनियोजन गरी कोटा निर्धारण र मूल्य समायोजन गर्नुपर्ने उनको सुझाव छ । साथै खाद्य कम्पनीले बढी धान उत्पादन हुने सबैजसो क्षेत्रमा खरीद डिपो सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ बढाएर यस वर्ष मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ रुपैयाँ पुर्‍याएको थियो ।

खाद्यले खरीद गर्‍यो २२ सय मेट्रिक टनभन्दा बढी धान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ हजार २०० मेट्रिक टनभन्दा बढी धान खरीद गरेको छ । चालू आवका लागि ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य लिएको कम्पनीले हालसम्म २ हजार २०० दशमलव ३८ मेट्रिक टन धान खरीद गरेको हो । धान उत्पादक किसानलाई बिचौलियाको मारमा पर्न नदिन र बजार मूल्य हस्तक्षेप गन सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले मङ्सिरदेखि नै धान खरीद शुरू गरिसकेको छ । कम्पनीले देशभरका विभिन्न १२ स्थानबाट धान खरीद गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ८ जिल्लामा मात्र मध्यम धान प्रतिक्वीन्टल २ हजार ९०२ र मोटा धान २ हजार ७५२ रुपैयाँमा खरीद गरिरहेको छ । हालसम्म बिर्तामोडमा ५५ मेट्रिक टन, विराटनगरमा २३९ मेट्रिक टन, लहानमा ५०७ मेट्रिक टन, वीरगञ्जमा ६९५ मेट्रिक टन, नेपालगञ्जमा १०७ मेट्रिक टन, राजापुरमा ५६०, धनगढीमा ५ र महेन्द्रनगरमा ५३ मेट्रिक टन धान खरीद गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उनका अनुसार कम्पनीले धानसँगै सानो परिमाणमा दाल र गेडागुडी पनि खरीद गर्न जिल्लास्थित डिपो तथा खरीद केन्द्रहरूलाई निर्देशन दिएको छ । गतवर्ष कम्पनीले ६० हजार मेट्रिक टन धान खरीदको लक्ष्य लिएकोमा अन्तिम समयसम्ममा २७ हजार ७०० मेट्रिक टन मात्रै खरीद गर्न सकेको थियो । यस वर्ष पनि लक्ष्य अनुरूप धान खरीद गर्न सकिने निश्चय नभएको बताइएको छ । कम्पनीमार्फत तोकिएको मापदण्ड अनुरूप धान खरीद गर्नुपर्ने अवस्था र लामो समयसम्म मौज्दात गर्नुपर्ने कारण ठूलो परिमाणमा खरीद गर्न कम्पनीका लागि चुनौती हुने कम्पनीको भनाइ छ । कम्पनीले बर्दियाको राजापुरबाट सरकारले समर्थन मूल्य तोकेको भन्दा बाहेकको मकवानपुर धान प्रतिक्वीन्टल २ हजार ८७५ रुपैयाँमा खरीद गरिरहेको बताइएको छ । राजापुर क्षेत्रका किसानले यो धान ठूलो परिमाणमा उत्पादन गर्ने भएकाले कम्पनी आफैले छुट्टै मूल्य निर्धारण गरी खरीद गरिरहेको हो । यस वर्ष कात्तिकमा भएको बेमौसमी वर्षात्का कारण धानबालीको गुणस्तर घटेकाले राम्रो धान बजारमा नआएको विभिन्न जिल्लास्थित खरीद केन्द्रहरूले बताएका छन् ।

खाद्य कम्पनीद्वारा धान खरिद शुरू

कञ्चनपुर । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न शुरू गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रू. २ हजार ७५२ का दरले खरिद गर्न शुरू गरेको छ । गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२, मध्यम धानको रु २ हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ । सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्र खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रवार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतवारदेखि बिहीवारसम्म धान खरिद हुने गरेको छ । ‘धान खरिदका लागि गत शुक्रवारदेखि टोकन वितरणको कार्य गरेका हौं,’ निमित्त शाखा प्रमुख उपाध्यायले भने, ‘४८ ओटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल हाराहारीमा नयाँ धान खरीद गरिएको छ ।’ केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए । ‘एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं,’ उनले भने, ‘तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौं ।’ व्यापारीले चलखेल गर्न सक्ने भएकाले सहज रूपमा किसानको धान खरीद गर्न कोटा निर्धारण गरिएको उनको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान विक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्न पुग्ने गरेका छन् । कम्पनीको कार्यालयमा धान विक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई ६ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । गतवर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि ९ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो । कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ । रासस

चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

जेठ २६, दमक । चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको किसानले बताएका हुन् । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरीदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । यहाँका किसानले गत फागुन र चैतमा चैते-२ , चैते-४ र विजी जातको चैते धान लगाएका थिए । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् ।  गौरीगञ्ज गाउँपालिका-१ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रू. ७५० विक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताए । उनले भने, ‘बजारमूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।’  यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज-१ महामाराका किसान धनपति पौडेलले बताए । प्रतिमन न्यूनतम रू. ८०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रू. ६०० मा पनि धान खरीद गर्न आनाकानी गर्ने गरेको उनको भनाइ छ । उनले भने, ‘चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।’ गल्ला व्यापारी र धान मिल सञ्चालक र विचौलियाको मिलोमतोमा चैते धानको आफूखशी बजार मूल्य निर्धारण गर्दै आएकाले किसान मार्कामा परेको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौलाले बताए ।  दुई विगहामा चैते धान लगाएका नेता सिटौलाले यो वर्ष पनि किसानले उत्पादन गरेका धान प्रतिक्वीन्टल रू. एक हजार ५०० सम्म पनि पाउन नसकेको अवस्था रहेको बताए । लागत अनुसार मूल्य नपाउँदा धान खेतीबाट किसान पलायन हुन थालेको उनको भनाइ छ ।  समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान विक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने कमल गाउँपालिका-७ बाह्घरेका किसान विदुुर गिरीले बताए ।  गौरीगञ्ज-१ का वडासचिव भोजकुमार अधिकारीले बजारमा सबै बस्तुको मूल्य आकासिएको तर किसानले दुःख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताए । उनले भने, ‘धानको उचित मूल्य नपाउनु किसानका लागि ठूलो चिन्ताको विषय हो, यसप्रति सरकार गम्भीर हुनैपर्दछ ।’ विचौलियाको भरमा धानको मूल्य निर्धारण हुने गरेकाले कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले बताए । मुलुकमा वर्षेनि करीब रू. ३३ अर्ब बराबरको कृषि उपज भारत तथा बंगलादेशबाट भित्रिने गरेको छ ।  यहाँको कृषि उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य अझै हुन नसकेको उनको भनाइ छ । रासस

कैलालीमा धानको बीउको मूल्य निर्धारण

वैशाख ८, कैलाली । कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको हो । यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रू. ६० र मसिनो रू. ६५ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए ।  ‘किसानलाई खेती गर्दा मूल्यमा एकरूपता होस् र ठगिनबाट जोगिउन् भनी हामीले यस वर्ष मूल्य निर्धारण गरेका छौँ’, प्रबन्धक रावतले भने, ‘मूल्य समयमै तोकिएमा किसानले बजारमा गुणस्तरहीन धानको बीउ खरीद गर्नु पर्दैन । गुणस्तरीय धानको बीउ प्रयोग गरेमा उत्पादन पनि बढी लिन सकिन्छ ।’ राष्ट्रिय बीउ उत्पादक संघ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो । उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी संघले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो रू. ६८ र मसिनो रू. ७० निर्धारण गरेको छ ।  यस्तै मूल बीउ मोटा प्रतिकिलो रू. ७० र मसिनो रू. ७५ निर्धारण गरेको छ । यसरी निर्धारण गरिएको मूल्य सबैलाई मान्य हुने गरी निर्धारण गरिएको मूल्य कार्यान्वयन गरिरहेको धनसिंहपुर सहकारी संस्थाका प्रबन्धक मुना घर्तीमगरले बताए । ‘मूल्य निर्धारण हुँदा एकरूपता मात्र होइन, किसानलाई सजिलो पनि हुन्छ । किसानले सहकारी तथा सहकारीले वितरण गरेका स्थानबाट खरीद गर्न पाउँछन्’, प्रबन्धक घर्तीमगरले भने, ‘गुणस्तरीय तथा उन्नत बीउको प्रयोगले उत्पादन बढ्ने भएकाले किसान नयाँ उन्नत बीउको प्रयोग गर्न थालेका छन् ।’ किसानले प्रयोग गर्ने धानको बीउको जात एकै भए पनि कृषक सहकारी र कम्पनीअनुसार फरक रहने भएकाले किसान ठगीमा नपरुन् भनेर यसरी मूल्य निर्धारण गरिएको बताइन्छ । यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महँगो छ ।  गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो रू. पाँचका दरले बढेको छ । यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरीद गरेकाले केही महँगो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।  ‘हामीले धानको बीउ खरीद गर्दा नै महँगोमा खरीद गरेका थियौँ । हामीले सरकारले तोकेको मूल्यमा १५ प्रतिशत बढी रकममा किसानबाट खरीद गर्‍यौँ’, उनी भन्छन्, ‘त्यसलाई हेर्दा अहिले बीउको मूल्य खासै महँगो होइन ।’ कैलाली र कञ्चनपुरमा गरी अहिले ३५ ओटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । तीमध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाँउपालिकामा गरी ११ ओटा बीउ उत्पादक सहकारी र कम्पनी छन् । टीकापुरमा अहिले एक हजार २४७ मेट्रिक टन धानको बीउ मौज्दात रहेको र अहिले ग्रेडिङ कार्य भइरहेको छ । ‘यतिखेर धानको बीउ ग्रेडिङ कार्य चलिरहेको छ । अबको केही दिनमा बीउ विक्री शुरु हुन्छ’, चौधरीले भने, ‘यहाँको बीउ नेपालका धेरैजसो जिल्लामा जान्छ । हामीले बीउमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ ।’ रासस

खाद्य व्यवस्था कम्पनीद्वारा समर्थन मूल्यमा गहुँ खरीद प्रक्रिया शुरु

वैशाख ८, वीरगञ्ज । प्रत्येक वर्ष धान खरीद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मंगलवारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरीद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरीद गर्न शुरु गरेको हो ।   यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रू. तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ विक्री गर्न थालेको किसान विजय पण्डितले बताए । संघीय सरकारले यस वर्ष तीन हजार क्विन्टल गहुँ खरीद गर्ने लक्ष्य राखेको छ । पहिलो दिन मंगलवार ४० क्विन्टल गहुँ खरीद गरिएको कार्यालय प्रमुख विकास कटुवालले बताए । संस्थानले एक किसानसँग बढीमा ४० क्विन्टल गहुँ खरीद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल रू. तीन हजार रहेको छ । स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल रू. तीन हजार १०० का दरले किसानसँग खरीद गर्दै आएका छन् । पर्सामा यस वर्ष किसानहरुले २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।  चालू आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले सोना मन्सुली धान ३५ हजार क्विन्टल र जिरामसिनो धान ११६ क्विन्टल खरीद गरेको छ । रासस